काठमाडौं, २८ वैशाख ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पहिलो चरणमा हुने मतदानका लागि बिहीबार मध्यरातदेखि चुनाव प्रचार प्रसारमा पूर्ण प्रतिबन्ध गरिने चेतावनी दिएको छ ।
बिहीबार मध्यरातपछि शुरु हुने मौनअवधिमा चुनाव प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेद्वारी रद्धसम्म गर्न सकिने भन्दै निर्वाचन आयोगले चेतावनी दिएको हो ।
प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ३४ जिल्लाका २८३ स्थानीय तहमा बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनलई लक्षित गर्दै आयोग कडाईका साथ प्रस्तुत हुन लागेको हो ।
मौन अवधिमा आयोगले सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार उपरसमेत कडाईका साथ निगरानी गर्ने जनाएको हो । फेसबुक, ट्वीटर र अन्य कुनै पनि सामाजिक सञ्जालबाट मतदातालाई प्रभावित पार्न नपाइने निर्वाचन आयोगकी आयुक्त इला शर्माले जानकारी दिनुभएको छ ।
मौन अवधिमा कुनै पनि माध्यमबाट कुनै उम्मेदवार वा राजनीतिक दलले भोट माग्ने काम गरेको फेला परेमा उनीहरुलाई निर्वाचन आयोग ऐन र निर्वाचन कसुर ऐन अनुसार कारबाही हुने आयुक्त शर्माले जानकारी दिनुभएको हो ।
शर्माले भन्नुभयो –‘निर्वाचन कसुर सजाय ऐन अनुसार निर्वाचन अधिकृत वा अनुगमनकर्ताहरुले चुनाव प्रचारप्रसार गरेको देखे तुरुन्तै २५ हजार जरिवाना गर्न सक्छन् । त्यस्तै निर्वाचन आयोग ऐन अनुसार एक लाखसम्म जरिवाना तथा उम्मेदवारी समेत खारेज हुनसक्छ ।’
आयोगका अनुसार मौन अवधि लागू भएपछि मदतान केन्द्रको ३०० मिटर वरपर प्रचारप्रसारका लागि राखिएका सामग्री उम्मेदवारहरुले हटाइसक्नु पर्नेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।