सुवास योञ्जन/दोलखा
बालबालिकालाई सुरक्षाको प्रत्याभूति दिनका लागि जिल्लामा बालबालिकाकेन्द्रित विपद् जोखिम न्युनिकरण समुह क्रियाशील हुन थालेको छ । गत पौषको पहिलो साता सम्पन्न स्थानीय तहमा बालभेला सम्पन्न भएपछि बालबालिकाको आवाज र बिचारको कदर गर्दै जिल्लामा यस्तो अवधारणासुरु भएको हो ।
दोलखा जिल्लाको तत्कालीन बोच गाविसमा सम्पन्न भएको बालभेलामा अधिकांश बालबालिकाले विपद््बाट बिद्यालयका संरचनाहरू असुरक्षित भएको प्रसंग उठाएपछि सरोकारवालाहरूको ध्यान यसतर्फ केन्द्रीत भएको हो ।
स्थानीय तहको पुनर्संरचना गरिदा तत्कालीन बोच गाविस भीमेश्वर नगरपालिकामा गाभिएको छ । र तत्कालीन बोच गाविसलाई वडा नम्बर ८ कायम गरिएको छ । त्यस गाविसलाई बालमैत्री बनाउने उद्देश्यका साथ बालबालिकाको आवाजको सुनुवाईको क्रममा यस प्रकारको अभियान थालिएको हो ।
जिल्ला शिक्षा कार्यलयका प्रमुख नारायणकाजी काशीछवाकाअनुसार विपद्को अवस्थामा बालबालिकालाई कसरी सुरक्षित बनाउने प्रश्नको सेरोफेरोमा विद्यालय सुरक्षा अवधारणालाई संस्थागत गरिएको हो । यो अवधारणा कार्यन्वयन गर्न विद्यालय क्षेत्र विकास योजनामा विपद् जोखिम न्यूनिकरण र विद्यालय सुरक्षाका विषयहरू समावेश गरिएको छ । जिल्ला शिक्षा कार्यलय स्रोत केन्द्रका स्रोत व्यक्ति सोमनाथ तिवारीकाअनुसार विद्यालयहरूमा विद्यालय सुधार योजना निर्माण गर्दा विपद् जोखिम न्युनिकरण अवधारणालाई समेत समाहित गर्ने प्रयास गरिएको छ ।
जिल्ला तहबाट विद्यालय निरीक्षकले तथा संघीयतहमा शिक्षा विभागबाट यसको गुणस्तर तथा कार्यान्वयनका पक्षहरूको अनुगमन निरीक्षण गर्ने प्रबन्ध मिलाइएको छ । दोलखाको बिभिन्न स्थानीय तहमा यो अवधारणा बमोजिम बिद्यालयको योजना बन्ने र शिक्षण सिकाई पनि यसैतर्फ केन्द्रित हुने गरेको देवि उच्च माध्यमीक बिद्यालयका प्रधानाध्यापक करुणा बस्नेत बताउँछिन् । उनी भन्छिन्–‘विपद् जोखिम न्युनिकरणको अवधारणा केन्द्रिय पाठ्यक्रममा समाविष्ट भएपछि दीर्घकालीन योजनामा समेत समेटेका छौ ।’
गतबर्ष आएको महाभूकम्पबाट देश भर ३४ हजारभन्दा बढी कक्षा कोठाहरू नष्ट भएका थिए । विपद््मा परी देशभरमा ५८४ बालबालिकाले ज्यान गुमाएका थिए । यसमध्ये ५७२ जना आधारभूत तहमा अध्ययन गर्ने बालबालिका थिए । दोलखा जिल्लामा विपद््का कारण १ सय ७८ जनाले ज्यान गुमाएका थिए । बोच गाविसमा मात्र १ हजार १ सय ५० जना प्रभावित भएका थिए । देशभरमा १० लाख बिद्यार्थीले कुनै पनि भौतिक संरचना बिना पढाई गर्नुपर्ने र करीब ५ लाख बिद्यार्थी विपद््पछि बिद्यालय फर्कन सहायताको आवश्यकता परेको थियो ।
सुरक्षित बिद्यालयको अवधारणा अन्तर्गत भौतिक संरचनाको सुरक्षा उपाय मात्र नखोजेर अन्य प्राकृतिक प्रकोप बाढी, पहिरो, आगलागी जस्ता अन्य प्राकृतिक प्रकोपबाट सुरक्षाको उपाय खोजिन्छ भने बाल हिंसा, बाल दुराचार, बेचबिखन लगायतका जोखिम बिरुद्ध सचेतना र सुरक्षाका उपायको खोजी गरिन्छ ।
बोच गाविसस्तरीय बाल भेलाका क्रममा बालबालिकाले भौतिक संरचनाको सुरक्षासंगै बालअधिकारको संरक्षणको पनि माग गरेका थिए । बाल भेलाले गरेको निर्णय सम्बन्धित स्थानीय तहले सम्बोधन गर्ने कुरा भए तत्काल र अरु सरोकारवालासंग सम्बन्धित भए सम्बन्धित निकायमा प्रेषित गर्ने गरिन्छ ।
बोच गाविसका तत्कालीन गाविस सचिब तिर्थ घिमिरेले बाल भेलाका निर्णय आफूले जिल्लामा पठाएको र बाल अधिकारकर्मीहरूले सार्वजनिक रुपमा ध्यानाकर्षण गरेको बताउँछन् । तत्कालीन बोच गाविसमा बालबालिकासँग सम्बन्धित योजना तर्जुमा गर्नका लागि गाविसस्तरीय बाल भेला आयोजना गरिएको थियो । बाल भेलामा मूलतः स्थानीय तहका बालक्लबका प्रतिनिधिहरू एकै स्थानमा भेला भई बिभिन्न बिधिद्वारा योजना छनौट गर्ने गरिन्छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको बाल भेला सञ्चालन बिधिअनुसार बाल भेलामा उपस्थित भएका सबै बालबालिकाहरूलाई तीन समूहमा बिभाजन गरी मनपर्ने र मन नपर्ने कुराको चित्रद्वारा राय दिन आग्रह गरिन्छ । यसै गरी सुरक्षित र असुरक्षित स्थलबारे पनि बालबालिकाले चित्रांकनमार्फत अभिव्यक्ति दिन लगाइन्छ । अन्तिममा बालबालिकाले स्थानीय तहको परिकल्पनालाई चित्रमार्फत व्यक्त गर्छन् । यस्तो अभिव्यक्तिबाट आएका सवाल, समस्यालाई योजना र कार्यक्रममा रुपान्तरण गरी भावी योजना छनौट गर्ने अभ्यास छ ।
तत्कालीन बोच गाविस र हाल वडा नम्बर ८ मा बाल भेला गरिँदा ८ देखि १३ बर्ष उमेर समूहका बालक र बालिकालाई एक समूह, १३ देखि १८ बर्ष उमेर समूहका बालक र बालिकाको बेग्ला बेग्लै समूह बनाई आफ्नो आवाज र बिचार अभिव्यक्त गर्न आग्रह गरिएको थियो । यस बमोजिम दुबै समूहबाट बिपद् जोखिम न्युनिकरणमा सर्वाधिक चासो व्यक्त गरेका थिए ।
स्थानीय बालअधिकार अभियन्ता राजन बस्नेतकाअनुसार बालबालिकाहरूले आफूलाई मन नपर्ने विषयमा भूकम्प, बाढी, पैरो, आगलागी जस्ता प्राकृतिक प्रकोपलाई चित्रमा उल्लेख गरेका थिए भने असुरक्षित बिषयमा पनि भूकम्पबाट भत्केको संरचना, पुननिर्माणमा ढिलाईका कारण पाल मुनि बस्नु परेको व्यथालाई उजागर गरेका थिए । उनले भने ‘बोच गाविसमा मात्र होइन जिल्लाका धेरै गाविसका बालबालिकाको यस्तै आवाज हुन्छ । बालबालिकाले मात्र होइन वयस्क तथा प्रौढहरूको पनि यही आवाज हो । यस्को उपचार खोज्नैपर्छ ।’
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।