राजकुमार खायाखिम
काठमाडौँ, २४ वैशाख । नेपाली निर्देशन क्षेत्रमा महिलाहरुको उपस्थिति कम छ । कमैमात्रा महिलाहरुले नेपाली चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा हात हालेका छन् । त्यही लाइनमा लिसरा राई (क्रिष्टी) ले आफूलाई उभ्याएकी छिन् ।
लिसराले हालै दुई म्युजिक भिडियो निर्देशन गरेकी छिन् । राजेश पायल राईको स्वरमा ‘कोशिष नगर भुल्न मलाई’ र मेलिना राईको ‘गयौ तिमी मेरो मन झस्काएर गयौं’ गीतलाई म्युजिक भिडियोमा ढालेकी हुन् ।
दार्जिलिङमा जन्मिएकी लिसराको पुख्यौली भोजपुरको कुदाककाउले –४ हो । दार्जिलिङकै सनफिलोमिना स्कुलबाट प्रारम्भिक शिक्षा लिएकी उनले सानैदेखि कलाकारितातर्फ चासो राखेकी थिइन् । वि.सं. २०६१ सालमा भोजपुर फर्केर सावित्रा उच्च माविबाट उच्चमावि तह पार गर्दै गर्दा सञ्चार क्षेत्रमा लाग्ने मन भयो । साहित्यलाई पनि नजिकबाट बुझ्न खोजेकी उनले गजल÷गीतहरु पनि कोरिन् । लेखिएका साहित्यलाई विभिन्न सञ्चारमाध्यममा पु¥याउने क्रममा उनको सम्पर्क केही एफएमसँग भयो । संखुवासभाको खाँदबारी एफएमले भोजपुर सम्बाददाताकै रुपमा लियो । करिब दुई वर्षसम्म खाँदबारी एफएममा उनको समाचार बजेको थियो ।
लिसरामा केही बढि नै गर्ने इच्छा भयो । त्यसैले उनी वि.सं. २०६८ सालमा काठमाडौँ हान्निइन् । काठमाडौँमा उद्घोषण कला सिक्न थालिन् । त्यही क्रममै उनको विभिन्न व्यक्तिसँग चिनजान हुन थाल्यो र नेपाल प्रहरी र नेपाल सरकारको सहयोगमा ‘क्राइम सर्ट मूभि’ मा काम गर्न थालिन् । एनटीभी प्लसमा आउने ‘ल्याप्चे’ मा घ्यूकुमारीको भूमिकामा पनि उनी छाइरहेकी छिन् ।
करिब १ दर्जनजति म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छिन् । मनिषा राईको ‘सँगै जिउने बाचा गरी’ र शिला राईको थुन्चेको भारी बिसाउँदै’ बोलका गीतहरु उनले अभिनय गरेको राम्रा म्युजिक भिडियो हुन् । वान्तवा भाषाको ‘युङ् छाम’ कार्यक्रमको प्रस्तोता पनि हुन् । यो होङकु सिनेमा प्रा.लि.मार्फत युट्युवमा आउने गर्दछ ।
लामो अनुभवपछि नै उनले म्युजिक भिडियोको निर्देशनमा हात हालेकी हुन् । अहिले बनाएको दुई म्युजिक भिडियोबाट लिसराले धेरै आशा पनि राखेकी छिन् । युट्युवमा राखेको हप्तादिनमै तीनहजार भन्दा बढिले हेरिदिएपछि उनलाई आशा बढेको हो ।
लिसराले निर्देशन गरेको भिडियो हेर्नुस् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।