काठमाडौं, २१ वैशाख । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सरकारले लगाएको महाअभियोगलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको चेतावनीपछि बिहीबारको व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
प्रतिपक्षी एमालेले महाअभियोग फिर्ता लिन वा संसद्को प्रक्रियामा लगेर ४/५ दिनमा नै टुंगो लगाउन माग गर्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमाले अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर, माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गर्नुभएको थियो ।
आफ्नो प्रस्ताव अस्वीकार गरेलगत्तै ओलीले कार्कीको कार्यावधि सकिन अगावै महाअभियोगबारे संसद्मा मतदान हुनुपर्ने माग गर्नुभएको थियो ।
सरकारले एमालेको दुवै शर्तमा चासो नदिएपछि बिहीबारको संसद् बैठक अवरुद्ध गर्ने तयारीमा एमाले जुटेको थियो । प्रतिपक्षीले संसद् अवरुद्ध गर्ने सूचना पाएपछि सभामुख ओनसरी घर्तीमगरले सूचना टाँस गरेर बिहीबारको बैठक स्थगन गरिएको जानकारी दिनुभएको थियो ।
बिहीबारको संसद् बैठक अवरुद्ध भएसँगै आन्दोलनरत मधेसी दलहरुको माग बमोजिम संसद्मा मतदानका लागि तयार रहेको संविधान संशोधन प्रस्ताव उपरको कारबाही प्रभापवत भएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।