२८३ तहमा १३ हजार ५५६ पदका लागि भयो मनोनयन
- ४९ लाख ५६ हजार छन् मतदाता
काठमाडौं, १९ वैशाख । वैशाख ३१ गतेका लागि तोकिएको पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न २ सय ८३ स्थानीय तहमा मंगलबार विहान १० बजेबाट साँझ ५ बजेसम्म मनोनयन दर्ता भएको छ ।
प्रमुख राजनीति दलसहि अन्य दल र स्वतन्त्र उम्मेद्वारहरुले तीनवटा प्रदेशका ३४ जिल्लामा रहेका २ सय ८३ वटा स्थानीय तहमा उम्मेद्वारी मनोनयन गराएका हुन् ।
विभिन्न ६ हजार ६ सय ४२ निर्वाचन केन्द्रहरुमा २ सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि उम्मेद्वारी दर्ता भएको हो । निर्वाचन आयोगले दिएको जानकारी अनुसार तीन प्रदेशमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।
काठमाडौ महानगरपालिकामा १९ जना भिड्ने
देशको राजधानी, काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । उपप्रमुख पदमा मात्रै ९ जनाले मनोनयन दर्ता गराएका छन् ।
महानगरको मेयर पदका लागि नेपाली कांग्रेसले राजुराज श्रेष्ठ र एमालेले विद्यासुन्दर शाक्यलाई उठाएका छन् भने माओवादी केन्द्रले सर्वाेत्तम डङ्गोल, राष्ट्रिय जनमोर्चाले निर्मल कुमार थापा, नेपाल मजदुर किसान पार्टीले कुल नारायण डंगोललाई मेयरमा चुनाव लडाएका हुन् । त्यस्तै नयाँ शक्ति र संघीय समाजवादी फोरमले पवित्र बज्राचार्यलाई मेयरमा चुनाव उठाएका हुन् । हिमालयन टाइगरले भरत बिसुराल, माओवादी क्रान्तिकारीले गोर्कीप्रसाद श्रेष्ठलाई मेयरमा उठाएको हो । विवेकशील नेपाली दलले रञ्जु न्यौपाने र देशभक्त पर्यावरणीय दलले सुरेन्द्र प्रसाद ढकाललाई मेयरको टिकट दिएर उम्मेद्वार बनाएका हुन् ।
मेयर पदका लागि स्वतन्त्रतर्फबाट किशोर थापा, लक्ष्मी प्रसाद भण्डारी, नेत्र बहादुर लिम्बू, पुरुषोत्तम दङ्गाल, किशाोर थापा, अमोट महर्जन, विनोद कुमार क्षेत्रीको उम्मेद्वारी दर्ता भएको हो ।
काठमाडौं महानगरको उपमेयरमा ९ जनाको उम्मेद्वारी परेको छ ।
मनाङमा काँग्रेस र मुलुमा माओवादी केन्द्रलाई एक–एक अध्यक्ष
हिमालपारिको जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित हुनुभएको छ । ३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेद्वारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध हुनुभएको हो।
त्यस्तै, मुगुको छायाँनाथ नगरपालिकाबाट माओवादी केन्द्रका मणिचन्द रोकाया निर्विरोध हुनुभएको छ । वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित जनप्रतिनिधि बन्नुभएको छ । जिल्ला स्थित निर्वाचन कार्यालयले भने निर्विरोध घोषणा गरिसकेको छैन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।