लेख्न नभ्याएको एउटा समीक्षा: समयस्ट्रोक्सको - Naya Online

लेख्न नभ्याएको एउटा समीक्षा: समयस्ट्रोक्सको

– पञ्च विस्मृत


मैले बुझेका रवि रोदन
कवितालाई बुझेर लेख्ने, बिचार र शिल्पको सुन्दर संयोजनमा विश्वास राख्ने, शब्दहरूको प्रयोगमा कञ्जुस्याइ गर्दै कालजयी कविता कोर्ने कविको नाम नै रवि रोदन हो ।

‘समयस्ट्रोक्स’ हात पार्नअघि नै मैले कवि रवि रोदनको बारेमा बनाएको धारणा थियो त्यो । एउटा कविलाई बुझ्न उनका धेरै कविताहरू पढिराख्न आवश्यक छैन, लाग्छ । रोदनको समयस्ट्रोक्स पूरै पढेँ त्यसमा सङ्ग्रिहित जम्मै पैँतालीस कविता पढेँ तर मैले आफ्नो ‘रेडिमेड’ धारणालाई परिवर्तन गर्न चाहिनँ ।
नेपाली साहित्यानुरागीहरूले त्यस्ता धेरै नामहरू पढेका छन् जो नेपालको सिमानाबाहिरबाट आएका हुन् । जस्तो प्रकाश कोवित, युधिर थापा, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, मनप्रसाद सुब्बा, विन्ध्या सुब्बा, मनोज बोगटी, राज पुनियानी आदि । यीमध्ये केहीले नेपाली भूमिमा रहेका नेपाली पाठकहरूलाई सिक्किम, कालेबुङ्, दार्जिलिङ्ग सबैतिर मज्जाले घुमाउन सफल भएका छन् । नेपालबाहिरका भएर पनि विदेशी नलाग्ने यी कलमजीवीहरू आफूले बाँचेको समाजका कुरा शब्दमा उनेर हामीलाई बाँढ्छन् । यदि हामीबीच साँस्कृतिक नाता वास्तवमै प्रगाढ छ भन्न सकिन्छ भने त्यसको श्रेय प्रथमतः लेखनलाई नै जान्छ ।
यता, लिम्बू इतिहासकार इमानसिंह चेम्जोङ्ग सिक्किममै जन्मेका हुन् । वैरागी काइँला, ईश्वर वल्लभ र इन्द्रबहादुर राईले ल्याएको तेस्रो आयामको इतिहास पनि दार्जिलिङबाटै सुरु हुन्छ । अहिलेको सन्दर्भमा, इण्डियाका विभिन्न भूभागमा नेपाली भाषी र नेपाली साहित्यमा कलम चलाउने नेपालीहरू बसोबास गर्छन् भन्ने कुरा सुन्नमा आइरहन्छ । नेपाली साहित्यको समालोचना–लेखन, जुन नेपालमा लेखिन्छ, मा नेपालबाहिरका त्यस्ता धेरै उल्लेखनीय नामहरू छुट्ने गरेको भए पनि हामीले तिनको नाम मुक्तकण्ठले लिनै पर्छ । तिनको नेपाली साहित्यमा विशिष्ट योगदान स्वीकार्नै पर्छ । नेपालबाहिरको त्यही मलिलो माटोमा जन्मेका एक कलाप्रेमी, कविताकर्ममा साधनारत कविको नाम नै रवि रोदन हो ।
उपल्लो भूगोलमा नेपाली नश्ल र मन लिएर जन्मिएका कविका कविता हामी आम नेपालीका लागि रुचिका विषय हुनै पर्छ । त्यसैले कवि रोदनका कविताको पठन हैन, अध्ययन गर्न जरुरी देखिन्छ । हामी सबैले लेख्ने भाषा एउटै भए पनि हाम्रो चिन्तन, सिद्धान्त र विषयवस्तुहरू फरक हुन सक्छन् । फरक परिवेशमा बसेर लेखिएका कविताहरूको अध्ययन गर्न पाउनु हाम्रो लागि अहोभाग्यको कुरा हो । त्यसैले उनका कविताहरूलाई विश्वकविताको स्थानमा राखेर समेत पठन आवश्यक छ । अङ्ग्रेजी या अन्य भाषाको साहित्यलाई मात्रै विश्वसाहित्यको स्थानमा राखेर अध्ययन गर्नु कति पनि तर्कसङ्गत देखिँदैन ।

समयस्ट्रोक्स:

“…. मान्छेले मान्छेकै अनुहार
खोसेर
मान्छेलाई निर्वासित पारेको
नाङ्गो कथा
घर–घरमा झुण्डिएको छ
जसका सिरानमा
बुद्ध हाँसिरहेको हुन्छ ।

हरिमाया दर्जीकै सियोले सिएको
सुकिलो लुगा लगाउँछ हर्कमान बाहुन
झिल्केले अर्जापेको खुकुरी
कम्मरमा भिर्छन् हर्कमान अधिकारी
सन्तवीरले सिलाएको जुत्ता लाएर
भूइँ टेक्छन् हर्कमान तामाङ ।

हर्कमानहरू
मालिक भएर हिँडेपछि
बाटो मुन्तिर
हरिमायाहरू÷हर्केहरूले
जदौ जदौ भन्नु पर्ने हुन्छ … ।”

– (निर्वासित मान्छे)

नेपालबाहिर बसेर लेख्ने लेखक, कविहरूको कृति पढ्दा मुख्यतः तिनले उठाउने विषयवस्तु, तिनको लेखन शैली, तिनका सृजनामा पाइँने कालजयीता, समसामयिकता हामी सबैको चासोको विषय हुन सक्दछ । भनेँ, यतिखेर मेरो हातमा छ नेपाली मूलका भारतीय कवि रवि रोदनको ‘समयस्ट्रोक्स’ । र, म छु समयमा लेख्न नभ्याएका शब्दहरूसित ।
समयस्ट्रोक्सभित्रको उपर्युक्त कवितांशबाट के बुझ्न सकिन्छ भने नेपालमा बस्ने नेपालीहरूको सृजना र भारतमा बस्ने नेपाली मूलका सर्जकहरूको सृजनामा खासै अन्तर छैन । उनीहरू पनि हामीले जस्तै जातीय विभेद, छुवाछूतविरुद्धको आवाज उठाउँदा रहेछन् भन्ने कुरा ‘निर्वासित मान्छे’ले प्रष्ट पारिसकेको छ । यो विषयलाई नेपालमा जतिकै प्रखर रुपमा उठाउनु पर्ने वाध्यता रहेछ त्यहाँ पनि । समयस्ट्रोक्सभित्र हाम्रै सृजनामा पाइने खालका अभाव र पीडाका स्वरहरू छन्् । मक्किएको चप्पल, फुटेको कुर्कुचामै अल्झिएको रहेछ त्यहाँको लेखन पनि— भन्ने कुरा समयस्ट्रोक्सले देखाउँछ । कहिलेसम्म टिप्ने गरिबीका विम्वहरू ? मालिक र खेतबारीको कुरा, श्रमको बखानमै सीमित रहेछ अहिलेसम्म हाम्रो लेखन । कलम चलाउने आम कविहरूले गरिब, निरीहहरूकै पक्षमा वकालत गरेको सुन्छौँ, पढ्छौँ । रवि रोदनका कवितामा त्यस्ता स्वरहरू चर्काचर्का लाग्छन् । गरिब किसानको पक्षमा लेखिँदोरहेछ कविता त्यहाँ । आर्थिक, सामाजिक, सांस्कृतिक विषमताहरूबीच समानता खोज्नु नेपाली र नेपाली मूलका भारतीय कविहरूको साझा मुद्दा रहेछ । देशमा विकाशले गति लिन नसकेकोप्रति असन्तुष्टि प्रकट गर्ने बानी रहेछ त्यहाँ पनि । अँश्रु ग्याँस र लाठीचार्जकै कुराहरू हुँदा रहेछन् कविताहरूमा । यहाँ जस्तै त्यहाँ पनि पहिचानका मुद्दाहरू उठाइँदो रहेछ । भारतभूमिमा नेपाली पहिचान माँगिदोरहेछ । आदिवासी सपनाहरूकै खात ओढेर दिदाउँदारहेछन् त्यहाँका मान्छे पनि । समयस्ट्रोक्सभित्रका कविताहरूले त्यही भन्छ । अझ, त्यहाँ उल्लिखित हर्कमान, हरिमाया, सन्तवीरहरू नेपालका बासिन्दा हुन् कि उत्तैका छुट्याउन निक्कै मुस्किल हुन्छ । ती सबै पात्रहरू आत्मीय लाग्छन्, छिमेकी लाग्छन् । जेभएपनि हामी सबैको एउटै मूल विषय भनेको जीवनको लयमा कविता लेख्नु रहेछ ।
वस्तुतः कवि रवि रोदनका कविताहरू त्यति सजिला छैनन् । जति सरल देखिन्छन् त्यति नै गहिरा छन् । उनका कविताहरू वस्तुतः अमूर्त चित्रकलाझैँ लाग्छन् । शायद उनी स्वयम् चित्रकार भएर हुनसक्छ त्यो । हुन पनि यस्तै कविताहरूको खाँचो छ सहरमा, लाग्छ । किनभने यो सहरमा धेरै कवि कवितै लेख्दैनन् । रोदनका कविता सरल लाग्छन् तर दोहो¥याएर पढ्नु पर्छ । उनी कवितामार्पmत के भन्न चाहन्छन् त्यो पत्ता लगाउन एकछिन अडिएर सोच्नै पर्छ । त्यसरी अडिएर सोच्दा कविताले भन्न खोजेको कुरा पाठकको मनमा बोध भएर आउनुचाहिँ पर्छ । रोदनका कतिपय कविता पढ्दा झनै अमूर्त लाग्छन् । यसतर्फ भने कविले सचेत हुन आवश्यक देखिन्छ । कतिपय कविताहरू बिनानिचोर अन्त भएका हुन् कि ? ‘कोहेजन’मा अझै ध्यान दिनसकेको भए समयस्ट्रोक्सले झनै पाठकको मन जित्न सफल हुन्थ्यो ।
आरोहण प्रकाशनबाट सन् २०१५ मा प्रकाशित कवि रवि रोदनको कविताकृति ‘समयस्ट्रोक्स’भित्र पैतालीस कविताहरू समेटिएका छन् । कवि स्वयम्को आवरण चित्रमा सज्जिएको आकर्षक कृति समय स्ट्रोक्समा कवि मनोज बोगटीले सङ्ग्रहित कविताहरूलाई जिम्मेवार कविताको संज्ञा दिँदै सारगर्भित भूमिका लेखेका छन् । यसमा समाविष्ट कविताहरूकोे स्केच समेत कोरिएकोले सुनमा सुगन्ध थपेको महसुस हुन्छ ।
समग्रमा समयस्ट्रोक्स एक सङ्ग्रहणीय कृति हो ।

१६ फेब्रुअरी, २०१७, केएसए

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

ताप्लेजुङका थापासहित तीनजनालाई साहित्यिक पुरस्कार

चन्द्र मादेन आन्छन काठमाण्डौं । पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लानिङस्थित ग्लोबल पब्लिक स्कुलको...

‘स्कुलमा कविता’को दोस्रो संस्करण माघदेखि हुने

स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३, सुनसरीले आयोजना गर्दैआएको ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको दोस्रो संस्करण यही...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...

लुङाको रजत वर्ष विशेषाङ्क विमोचनमा पत्रकार पुरस्कृत हुने

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...