काठमाडौं, १५ वैशाख ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण कार्य अन्तिम चरणमा पुग्दैगर्दा शुक्रबार स्थानीय तहको पहिलो चरणमा चुनावी तालमेलका लागि संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन भएको छ । शुक्रबार राजधानीमा बसको संयूक्त केन्द्रीय संयोजन समितिको बैठकले आसन्न निर्वाचनमा परिचालन र संयोजन गर्न भन्दै १२ सदस्यीय संयुक्त संयन्त्र गठन गरेको हो ।
गठित संयन्त्रमा संघीय समाजवादीका तर्फबाट नेताहरु हेमराज राई, दानबहादुर विक, अजम्बर राई काङबाङ, धीरेन्द्र श्रेष्ठ, गणेश योञ्जन र लालध्वज तामाङ हुनुहन्छ भने नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गा सेव, देवेन्द्र पौडेल, परशुराम तामाङ, परशुराम खापुङ र खिमलाल देवकोटा हुनुहुन्छ ।
शुक्रबारको बैठकले केन्द्रको भावना अनुरूप नै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र गठन गरी काम थाल्न निर्देशन दिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।दुवै दलबीच यसअघि नै एक हातले समातेको मसाल चिन्ह लिई स्थानीय तहको निर्वाचनमा सहभागी हुने सहमति बनिसकेको थियो । संयुक्त संयन्त्रले आफ्ना साझा उम्मेद्वारहरुलाई विजयी बनाउन हर सम्भव प्रयास गर्न मातहतका पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
निर्वाचनका दौरान उत्पन्न हुने आपसी विवादहरु आएमा स्थानीय तहमै समाधान गर्न प्रयास गर्ने र समाधान हुन नसके विवाद समाधानका लागि केन्द्रीय संयन्त्रमा पठाउन पनि बैठकले मातहतका तहलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।