काठमाडौं, ८ वैशाख ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरणका लागि उच्चस्तरीय समिति गठन भएको छ ।
पार्टी एकीकरणका लागि विभिन्न चरणहरुमा छलफल भएपछि शुक्रबार त्यसलाई अन्तिम रूप दिन तीन सदस्यीय संयोजन समिति गठन गरिएको हो ।
पार्टी एकीकरणका सैद्धान्तिक र प्राविधिक काम सम्पन्न गर्न ससफो नेपालका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र ससफो नेपालका वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिइएको दुवै पार्टीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि’ पार्टी एकता संयोजन समिति गठन गर्ने निष्कर्षमा पुगिएको उल्लेख छ ।
समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने बताइएको छ ।
यसैबीच ससफो नेपालको बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा पार्टी एकीकरण लगायत विषयमा छलफल जारी रहेको छ । शुक्रबार सम्पन्न हुने बैठकले पार्टीका अन्य आन्तरिक जिम्मेवारी र आन्दोलन परिचालन लगायतका विषयमा छलफल र सुझाव लिने काम गरिरहेको ससफो केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।