बिर्तामोड, ७ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते हुने निर्वाचन रोक्नेलाई जनताले प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । बिहीबार झापाको विर्तामोडमा अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) झापाको संयुक्त जिल्ला अधिवेशन उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –‘निर्वाचन रोक्न धेरै शक्ति लागिरहेका छन्, त्यसलाई जनताले प्रतिवाद गर्नु पर्छ ।’ निर्वाचनको माहोल बनिसकेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले अब निर्वाचनबाट पछि हट्न नसकिने जिकिर गर्नुभयो ।
निर्वाचन रोक्ने प्रयत्न धेरैतिरबाट भने भईरहेको भन्दै उहाँले जनतालाई स्थानीय तहको निर्वाचन चाहिएकाले अब कसैले रोक्न नसक्ने दावी गर्नुभयो । प्रचण्डले मधेसी मोर्चा निर्वाचनमा नआए त्यो उसका लागि ऐतिहासिक भूल हुने स्पष्ट पार्नुभयो । ‘मधेसी मोर्चासँग समझदारी गरेरै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो, यदि मोर्चा निर्वाचनबाट भागे दाल मे कुछ काला है भन्नु पर्ने स्थिति आउँछ,’ प्रचण्डको आरोप थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।