काठमाडौं, ४ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्ती, सरकारका मन्त्रीहरु लगायतले त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए ।
राष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण हो । यसअघि गतवर्ष तय भएको भण्डारीको भारत भ्रमण अन्तिम अवस्थामा ओली सरकारले स्थगित गरेको थियो । राष्ट्रपति भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमारी उपाध्ययले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । भारतले भने भण्डारीलाई स्वागत गर्न राज्यमन्त्रीलाई पठाएको थियो ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र शान्तिमन्त्री सीतादेवी यादवसहित ३४ जना सहभागी छन् ।
भण्डारीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिज अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारत सरकारका मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भण्डारीको औपचारिक भारत भ्रमणको दिन सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषण गरेको थियो । त्यस्तै भण्डारी नेपाल फर्कने दिनका लागि पनि सार्वजनिक विदाको घोषणा गरेपछि प्रचण्ड सरकारको आलोचना भएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।