कमन देवान
केही दिनअघि काठडमाडौंस्थित नयाँ पत्रिकामा आफ्नो प्रेम प्रसङ्ग बारे खुलेर अन्तरवार्ता दिएपछि पूर्वी नेपालमा साहित्यिक माहोलबीच उपस्थित साहित्यकार राजन मुकारुङले हालसालै प्रकाशित पुस्तक रेमिटल्याण्ड बारे बुधबार झापाको दमकमा खुलेर विचार पोखे । ‘रेमिटल्याण्ड नेपाली समाजको त्यो चित्रण हो, जसले वैदेशिक रोजगारीका कारण हाम्रो घर परिवारमा उप्जिएका समस्याहरु बारे खुलेर बोलेको छ ।’ नेपाल लिटिरेरी ग्रुपले आयोजना गरेको पुस्तक विमर्श कार्यक्रममा वक्ताका रूपमा उपस्थित यी मदन पुरस्कार विजेता आख्यानकार भनिरहेका थिए –‘यस वर्षभरि बजार भित्रिएका आख्यानहरुमै यो अब्बल लेखन हो ।’ प्रसङ्ग श्याम सिंघकले लेखेको र फिनिक्स बुक्सले भर्खरै बजारमा ल्याएको उपन्यास रेमिटल्याण्ड बारे बहसको हो ।
लेखक र प्रकाशन संस्थाबीच जोडाउने भूमिकामा पनि मुकारुङको योगदान रहेको कुरा चियागफका बीच मात्रै खोले अन्तरमुखी स्वभावका लेखक सिंघकले । तर, औपचारिक कार्यक्रमभर भने उनी शुभकामनाका शव्दबाहेक केही बोलेनन् । उनले एउटै जिकिर गरे –‘अब हाम्रालागि वैदेशिक रोजगारी बाध्यता हो । विदेश कसरी सुरक्षित जाने र कसरी धेरै भन्दा धेरै कमाउने ? यतातर्फ ध्यान दिन आवश्यक छ ।’
विमर्शमा वक्ताका रूपमा सहभागी नरेश काङ्माङ भनिरहेका थिए –‘७०/७१ मा नोपलमा ५ बिलियन रेमिट भित्रिएको तथ्यांक सार्वजनिक गर्ने राज्यले विकल्प नदिएसम्म वैदेशिक रोजगारीमा जानेको लर्को रोक्किने सम्भावना छैन । त्यसले नेपाली जनजीवनमा जे जस्ता समस्या हुर्काएको छ, अब ती हाम्रालागि लेखन र बहसको विषय बन्नु स्वाभाविक हो ।’ पुस्तक लेख्दैगर्दा एक पटक सिंघकसँग राजधानीमा भेट भएको तर सिंघकको लेखनीप्रति आफूलाई विश्वास नलागेको अनुभव सुनाउँदै कवि प्रकाश थाम्सुहाङले ठट्टा गरे –‘पुस्तक छाप्न कागज बन्नै पर्यो । कागज बन्न रुख काट्नै पर्यो । मैले लेखकलाई बन मुद्दा लाग्ला भन्ने डर थियो । तर, पुस्तक पढेपछि थाहा भयो, निक्कै गहकिलो विषय उठान गरिएको रहेछ ।’ थाम्सुहाङले थपे –‘नेपाली समाजका लागि रेमिटेन्सको सकारात्मक र नकारात्मक दुवै पक्षमा आख्यान बोलेको छ । यसले वर्तमानको समाज र समयलाई इंगित गर्छ ।’
आख्यानमा पात्रहरुको प्रेम प्रसङ्ग निक्कै चाखलाग्दो भेटिएको भए पनि पुस्तकको नाम प्रेमल्यान्ड राख्दा सन्दर्भ मिले पनि चर्चा कम हुने भएकाले रेमिटल्यान्ड नामाकरण भएको टिप्पणी गरिन् विमर्शमा सहभागी मिश्र बैजयन्तीले । उनले आख्यानभित्रको नारी चरित्रबारे सहजकर्ता मुनाराज शेर्माले सोधेको प्रश्नको उत्तर दिँदै भनिन् –‘विदेशिएका श्रीमानलाई पर्खिएर बस्ने र नबस्ने दुवै संस्कार नेपाली महिलाहरुको सामाजिक मनोदशा हो । रेमिटल्याण्डको कथाले एक थरी सामाजिक परिस्थितिलाई इमानदारपूर्वक पस्कने काम गरेको छ ।’नेपालका ४० लाख बढी युवा रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगारीले नेपाली समाजमा राम्रा र खराब दुवै किसिमका सामाजिक परिस्थितिलाई जन्म दिएको आजको वास्तविकता हो । रेमिटल्याण्डमार्फत आफूले वैदेशिक रोजगारीलाई ठीक र सुरक्षित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजेको तर्क गर्ने सिंघकले यसअघि गुप्त नाममा दलिता उपन्यास लेखेका थिए । उनी भन्दैथिए –‘त्यस बेला वास्तविक नाम राखेर आख्यानमा प्रवेश गर्ने आँट थिएन ।’
वर्षको अन्त्यतिर रेमिटल्याण्ड लिएर बजारमा आएका उनी पुस्तक बारेको सकारात्मक चर्चाले खुशी भएको सुनाइरहेका थिए । दमकमा भेला भएका सर्जक र स्रोताहरुमाझ उनी खासै खुलेनन् । तर, सञ्चारकर्मीहरुसँग भने उनले निक्कै समय खुलेर पुस्तक र विषयवस्तु बारे बोलेका थिए । उनी हामीसँग गफिँदै गर्दा मोबाइल बज्यो –‘अहिले फोन राखेँ, पत्रकारहरुसँग कुराकानी गर्दैछु ।’ इजरायलमा रोजगारीमा रहेकी श्रीमतीले फोन गर्दाको सिंघकको संक्षिप्त सम्वाद हो यो ।
कदम थिएटर र शव्द घरको सहकार्यमा लिटिरेरी ग्रुपले राखेको बहसमा दमक र आसपास क्षेत्रका साहित्यिक स्रष्टाहरुको बाक्लै उपस्थिति रहेको थियो । उपस्थितलाई गजलकार निहाङ किरातीले स्वागत गरे भने पत्रकार भुपेन्द्र तिम्सिनाले कार्यक्रमलाई शुभकामना दिएका थिए । लिटिरेरीका अध्यक्ष प्रकाश बुढाथोकीले सभाध्यक्षका हैसियतले पुस्तक र लेखकलाई बधाइ दिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।