आदिवाशी, जनजाती र थारु लगायतको कहाँ छ आवाज र पहिचान ? - Naya Online

आदिवाशी, जनजाती र थारु लगायतको कहाँ छ आवाज र पहिचान ?

डा युवराज लिम्बू

महिनौ भयो शायद अब बर्षौ भयो पनि भन्न मिल्छ होला, नेपालको दैनिक जस्तो सुनिने र देखिने संचार माध्यमहरु सुनेको र देखेको अनि हरेक राजनैतिक घटना क्रमहरु नियालिरहेको । दिनहु जस्तो दौनिक अखवारहरुमा राष्ट्रवादको बारेमा लामो लामो लेखहरु प्रकाशित हुन्छन् । कतै जमिन र भुगोलको विवाद सुनिन्छ । कतै हिमाल, पहाड र तराई सँगै राख्नु पर्ने बडो दमदार तर्क भनेर संचार माध्यमहरुमा प्रचार प्रसार गरिन्छ मानौंकी हिमाल, पहाड र तराई सँगै नरहे शायद नेपालको  राष्ट्रियता नै रहँदैन । हामी राष्ट्रवादी हुनु पर्छ, हामीमा बलियो राष्ट्रवादको भावना हुनु पर्दछ, हाम्रो राष्ट्रवाद नरहे हामी रहँदैनौ आदि आदि । तर कहाँ छ राष्ट्रवादको सचाई परिभाषा ? राष्ट्रवाद भनेको के हो ? यो राष्ट्रवादमा पहाडे ढाका टोपी मात्र छ कि मधेशको गर्मीमा नलाइने टोपी पनि छ ? यो राष्ट्रवाद र दैनिक अखवारका पाना भर्ने राष्ट्रियतामा पहाडे दौरा सुरुवाल मात्र छ कि चिसो हिमालमा लाइने बक्खु र मधेशको गर्मीमा लाइने धोति पनि छ ? यो राष्ट्रवाद र राष्ट्रियता भित्र दशैं र तिहार मात्र पर्दछन कि इद, छट, ल्होसार, चासोक तंग्नाम आदि आदि पनि पर्दछन ? खोइ चुमुलांगमा हिमाल ? कहाँ हराए सेसेलुंग र फक्तांगलुंग ? लुभु आज किन बिस्थापित हुँदैछ ? राष्ट्रवाद र राष्ट्रियताको कुनै पनि ठोस परिभाषा बिना र राष्ट्रिय रुपमा आफ्नो पहिचान स्थापित र प्रतिबिम्बित नभईकन पनि कतै आदिवाशी, जनजाती र थारु लगायत आफ्नो कानै नछामी संचार जगतमा प्रचार प्रशार गरिएको राष्ट्रवाद र राष्ट्रियताको पछि पछि दौडी रहेका त छैनन् ?

सर्वविदितै छ, बलिदानी पूर्ण मधेश आन्दोलनले नेपालमा संघियताको अवधारणा संबैधानिक रुपमा स्थापित हुन पुग्यो । हुनत फेरि पनि संचार माध्यम मार्फत संघियताको बिपक्ष्यमा लेख र बिचारहरु ब्यक्त हुन सुरु भैसकेको छ । नेपाल जस्तो जाती, भाषा र सस्कृतिले बिबिधता युक्त देशमा केवल एक जाती, एक भाषा र एक संस्कृतीको मात्र बर्चस्व र पकडको कारण, यहाँका सबै जाती, भाषा र संस्कृतीले अपनत्व र सह अस्तित्वको अनुभुती गर्न सक्ने पहिचान र सामर्थ्य सहितको संघीय प्रदेशहरु मार्फत समग्र नेपालको बिकाश र असली पहिचानको निमित्त सबै भन्दा बढी सयौं बर्ष सम्म उत्पीडन र बहिष्करणमा परेका आदिवाशी, जनजाती, मधेशी र थारु लगायत लाई नै संघिय राज्य प्रणालीको आवश्यकता भएको हो । तर बिडम्बना नै भन्नु पर्दछ, संघिय राज्यहरुको निर्माणमा आदिवाशी, जनजाती र थारु लगायतको कुनै पनि भूमिका छैन । मधेशीहरुको स्वाभिमानी अडान बाहेक पहिचान र सामर्थ्य सहितको संघिय गणतन्त्र नेपाल निर्माणमा कहाँ हरायो आदिवाशी, जनजाती र थारु लगायतको अवाज ? संघिय संरचनाहरुको निर्माणमा कहाँ छ आदिवाशी, जनजाती र थारु लगायतको भूमिका ?

सयौं  बर्ष सम्म यस भूमिमा जति सुकै राज्य प्रणालीहरु परिवर्तन भए पनि निरन्तर उत्पीडन, विभेद र बहिष्करणमा परेका तमाम आदिवाशी, जनजाती, थारु र मधेशी लगायतको समश्या कुनै अर्को ग्रहबाट अलौकिक शक्ति आएर समाधान गरिदिने होइन । आफ्नो समश्या आफैं समाधान गर्ने हो । तर बडो अचम्म नै भैरहेको छ, संघीय गणतन्त्र नेपालको यो रुपान्तरित इतिहास क्रममा दिनहुँ जस्तो चर्चामा आई रहने राजनिती, धर्म निरपेक्ष्यता, शंघीयता, समावेशिता, स्थानीय निकाय, निर्वाचन आदि आदिमा मधेशी हरुको अडान बाहेक यस देशका आदिवाशी, जनजाती र थारु लगायतको आवाज सुन्य छ । आदिवाशी, जनजाती र थारु लगायतको चेतना अभावको कारण हो वा आवाज बिहीनताको कारण राज्य निर्माणको यस ऐतिहासिक घडीमा कहाँ  छ उनीहरुको भूमिका ? कुनै पनि राजनैतिक निर्णय लिंदा किन आदिवाशी, जनजाती र थारु लगायतको कुरा आउँदैन ? किन आदिवाशी, जनजाती र थारु लगायतलाई केहि पनि सोधिंदैन ? निकै टाठा बाठा हुन् भन्दै विभिन्न राजनैतिक पार्टीहरु र विभिन्न पेशागत संजालहरुमा लाग्ने आदिवाशी, जनजाती र थारु लगायतका अगुवाहरु हौं भन्नेहरुले आफ्नो पहिचान, आत्म सम्मान र स्वाभिमानका लागि किन आवाज उठाउन सकीरहेका छैनन्  ? चेतनाको अभाव हो वा ललिपप उन्मुख व्यक्तिवादी चिन्तनको कारण, तमाम आदिवाशी, जनजाती र थारु लगायतको आवाज र भूमिका किन आज ” हुन्छ हजूर ” मा सिमित भैरहेको छ ?

चेतनाको अभाव हो वा ललिपप उन्मुख व्यक्तिवादी चिन्तनको कारण, तमाम आदिवाशी, जनजाती र थारु लगायतको आवाज र भूमिका किन आज ” हुन्छ हजूर ” मा सिमित भैरहेको छ ?

वर्तमान राज्य संयन्त्रको तथ्यांकलाई नै मान्ने हो भने पनि नेपाल जस्तो सबै अल्प संख्यक जाति, भाषा र संस्कृतीको सम्मिश्रण बाट बनेको बहुलता युक्त राष्ट्रमा आदिवाशी, जनजाती र थारु लगायत मात्रको संख्या पनि एक तिहाई भन्दा बढी र झन्डै पाँच भागमा दुइ भाग  पर्न आउँछ । जनसंख्याको यत्रो ठुलो हिस्सा ओगटेको आदिवाशी, जनजाती र थारु लगायतको आवाज र पहिचान आज कहाँ बिलिन हुन पुग्यो ? सबै अल्प संख्यक जाति, भाषा र संस्कृतिले  बनेको विभिधता युक्त नेपालमा प्राय जसो सबै राजनैतिक पार्टीहरुमा, राज्य संयन्त्रको सबै निकायहरुमा, कर्मचारी तन्त्रमा, संचार जगतमा, पेशागत र सामाजिक संजालहरुमा केवल खस-आर्यको मात्र मजबुत पकड हुनु र यत्रो ठुलो जनसंख्याको हिस्सा ओगट्ने आदिवाशी, जनजाती र थारु लगायतको कुनै पनि प्रभावकारी र निर्णायक उपस्थिति हुन नसक्नु राजनैतिक, सामाजिक र अर्थिक हरेक दृष्टिकोणबाट हेर्दा बडो विचित्रता/अस्चर्यता अनुभव हुन्छ । के अब यस देशमा आदिवाशी, जनजाती र थारु लगायतलाई कुनै पनि पहिचान चाहिन्दैना ? आफ्नो पुर्खाले सुम्पेको भाषा र संस्कृती के अब राष्ट्रवादको नाममा जे जसो गरे पनि हुन्छ ? के अब आदिवाशी, जनजाती र थारु लगायतलाई यस देशमा राष्ट्रवाद भन्ने शब्द भए पुग्छ ? पहिचान सहित कुनै पनि अपनत्व र सह अस्तित्व अनुभूति हुनु पर्दैन ?

मधेशको मजबुत, संगठित र स्वाभिमानी आवाजको कारण आज केहि हदसम्म जबर्जस्त रुपमा भए पनि राज्य पुनर्संरचनामा मधेशको पहिचानलाई स्वीकारिएको छ । तर कहाँ छ आदिवाशी, जनजाती र थारु लगायतको पहिचानलाई स्वीकारिएको ? स्वाभिमानी अडानको कारण, राज्य पुनर्संरचनाको सवालमा साथै अन्य राज्य संयन्त्रका महत्वपुर्ण सवालहरुमा वर्तमान राज्य संयन्त्र मातहतका संचार माध्यमहरु पनि मधेश र मधेशीको आवाजहरु लेख्न बाध्य छन् । तर कहाँ छ संचार मध्यमहरुमा यत्रो ठुलो जनसंख्याको हिस्सा ओगट्ने आदिवाशी, जनजाती र थारु लगायतको आवाजहरु ? स्वाभाविकरुपमा नेपाली जनसंख्याको यत्रो ठुलो हिस्सा ओगट्ने आदिवाशी, जनजाती र थारु लगायतका विभिन्न राजनैतिक पार्टीहरुमा लाग्ने टाठा बाठा हुँ भन्ने हरुको संख्या उल्लेख्य रुपमा छ तर खोइ राज्य पुनर्संरचनाको सवालमा आफ्नो र आफ्नो सन्ततिको पहिचान र स्वाभिमानको लागि आवाज उठाउन सकेको ? किन हुन्छ हजुरको भूमिका भन्दा माथि उठ्न नसकेको ? स्वभाविकरुपमा देशी बिदेशी विश्वबिद्यालयहरुबाट डिग्री प्राप्त गरेका र कार्यरत कर्मचारी साथै विभिन्न पेशागत संजालहरुमा लागेका आदिवाशी, जनजाती र थारु लगायतको संख्या पनि राम्रै छ तर खोइ आफ्नो सामुहिक पहिचान, स्वाभिमान र आत्मा सम्मानको लागि आवाज उठाउन सकेको ? विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाहरुमा  संलग्न साथै आरामदायी आर्थिक हैसियत भएका र विभिन्न पेशागत र सामाजिक संजालहरुमा आबद्ध आदिवाशी, जनजाती र थारु लगायतको संख्या पनि उल्लेख्य छ तर खोइ आफ्नो जाती, भाषा र संस्कृतिको पहिचान र स्वाभिमानको लागि प्रभावकारी आवाज उठाउन सकेको ? जाती, भाषा, धर्म र संस्कृतिले विभिधता  युक्त सबै अल्पसंख्यकहरुको राष्ट्र नेपालमा समग्र देशको असली पहिचान, स्थिरता, सम्वृद्धि र समुन्नतिका निमित्त जनसंख्याको यत्रो ठुलो हिस्सा ओगट्ने आदिवाशी, जनजाती र थारु लगायतको पहिचान सहित सशक्त आवाजको जरुरि छ भनेर कसले आवाज उठाउने ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

कुलुङ लोक–कथाः छेन्दीपत र बीरमुख

निनाम लोवात्ती विश्वकै प्राचीन महाजातिमा गनिने किरातीभित्रका कुलुङ जातिमा दन्त्य–कथा, लोक–कथा, लोक–मान्यता, लोकवार्ता, एवम्...

एकात्मक राज्यसत्तालाई लिम्बुवानको माग राख्नु कायरता हो

मौसम आङ्देम्बे पापोहाङ वि.सं. १८३१ साउन २२ गते गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धि...

किताबभित्रका कुरा: खास नेपाली कविताहरू ‘इतर कविता’

प्रकाश दिप्साली राई हामी राज्यको बेवास्ता र हेलचेक्राईका कारण आफ्नो परिवार रुखोपाखो छाडेर हामीे...

पुस्तक अंश: ‘बुढाको तरुनीलाई पाहुना मान्नैपर्यो’

कल्पना आङ्बुहाङ “पाहुना आउनु त आउनु, तेरो बाउको तरुनी पनि कसोरी आएर बस्नु ?”...

त्यो सम्झना : कप्तानको रिसले एकराते ‘माओवादी’ भइयो !

निनाम लोवात्ती कुरो विसं २०५८ साल कात्तिक–मंसिर महिनाको हो । त्यो बेला म पर्यटन...

मातृशोकको घडीमा “सम्झनाका छालहरू” बाट सम्पादित केही अंश

उदय पूर्वेली चोङ्बाङक्याक मेरी आमा हरतरहले आफ्नो एक्लो छोरोले मदिरा सेवन नगरिदिए हुन्थ्यो भन्ने...

सामाजिक सङ्घर्ष र पहिचानको आवाज आमाको तासफोटो

मातृहाङ नेम्बाङ प्रसँग सन् २०१६ को हो । विश्व नेपाली साहित्य समाज दक्षिण कोरियाले...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

पर्यटन: बराहक्षेत्रमा पर्यटनका सम्भावना र चुनौति

लक्ष्मण कटुवाल बराहक्षेत्र नेपालको सुनसरी जिल्लामा अवस्थित ऐतिहासिक तीर्थस्थल हो । सप्तकोशी र कोकाहा...