दमक, १२ चैत ।
नेपाली चलचित्रमा मौलिकताको खोजीका लागि वहस गरिरहेका चलचित्र निर्देशक नवीन सुब्बा शनिबार झापाको दमकमा सरोकारवालाहरुबीच प्रस्तुत भए ।
नेपालमा चलचित्र निर्माणले गति लिएको र चलचित्र क्षेत्र उद्योगका रूपमै विकसित भइरहेको भए पनि नेपाली मौलिक ढाँचा भने निर्माण हुन नसकेको उनको गुनासो थियो । निर्देशक सुब्बाले दमकका सञ्चारकर्मी र कलाकर्मीहरुबीच भनिरहेका थिए –‘भरत नाट्यशाला र पश्चिमा नाट्यशालाबाट सिकेका कुरा हामीले अभ्यास गरिरहेका छौं । तर, हाम्रो आफ्नै मौलिक चिलचित्र निर्माणको आधार खोज्न जरुरी छ ।’दमकमा भर्खरै गतिविधि सुरु गरेको कदम थिएटरले आयोजना गरेको पहिलो औपचारिक कार्यक्रमका बीच बोलिरहेका नवीनले विभिन्न मुलुकमा निर्माण भएका उत्कृष्ट चलचित्रहरुको दृश्य प्रस्तुत गर्दै सिनेमाको ‘मेकिङ’ का लागि आवश्यक सैद्धान्तिक र प्रविधिक पक्षहरुबारे पनि चर्चा गरे ।
उनले नेपालको चलचित्र पुरानो रसवादबाट नयाँ अभिनय शैलीमा प्रवेश गरेको भए पनि नेपाली फिल्मको मौलिक आधार तय गर्न जरुरी रहेको जिकिर गरे । दमकमा चलिचित्र निर्माण बारे आफ्ना अनुभव र मौलिकताको वहसका विषयमा छलफल गर्न आएका नवीन लिम्बू संस्कृतिमा आधारित चर्चिन फिल्म नुमाफूङका निर्देशक हुन । त्यस्तै उनको नेपालमा मूलधार भनिएका राम्रा र सफल सिनेमा निर्देशन गरिसकेका छन् ।
‘आदिवासी जनजातिका संस्कृतिहरुमा आधारित फिल्महरु बन्न थालेको भए पनि तिनमा पनि मेकिङ र परिवेशका दृष्टिले मिहिनेत पु¥याउन नसकिएको देख्छु ।’, नवीनले भने । चलिचित्र निर्माण र निर्देशनका लागि नेपालमा मौलिक पक्षको खोजी गरेर त्यसमा आधारित शैलीको थालनी गर्नुपर्ने उनको जोड थियो । करिब डेढ घण्टा समय आफ्ना विषयवस्तुमा बोलेका उनले स्थानीय सञ्चारकर्मीहरुसँग यसै विषयलाई लिएर अन्तरक्रिया पनि गरे ।
नेपाली समाजमा हिन्दु, बौद्ध, किरात दर्शनको प्रभावलाई केलाएर तिनीहरुमध्येबाट चलचित्रको मौलिक पक्ष खोजेर निकाल्नुपर्नु नवीनले सुझाएका थिए । कदम थिएटरका अध्यक्ष चर्चिच सिनेमाकर्मी हेमन्त बुडाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार राज थापाले मन्तव्य राख्दै भने –‘४० सालतिर दमकले थिएटर निर्माणको सोच राखेको भए हामी राजधानी छिरेर आफ्नै गाउँमा बिरानो बन्नुपर्ने थिएन । थिएटर निर्माण हुने कुराले हर्षित भएको छु । स्थानीय र नयाँ पुस्तासँग मिलेर काम गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’
पत्रकार विष्णु सुब्बाले शुभकामना दिँदै भने –‘कदमले आफ्नो पहिलो औपचारिक कार्यक्रममै नेपाली मौलिकताको खोजी गर्दै कदम बढाएको छ, यसमा दमकका सञ्चारकर्मीहरुले पनि सघाउने छन् ।’ थिएटरका महासचिव मेचीपुत्रको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष एवम् कवि नवीन प्राचीनले स्वागत मन्तव्य राखे भने थिएटरका सचिव एवम् पत्रकार कमन देवानले दमकको कला, सहित्य र संगीतलाई संस्थागत गर्दै अघि बढ्न कदमले कदम बढाएको जिकिर गरे । ‘कदम थिएटर दमकको निर्विकल्प आवश्यकता हो, त्यसैले यो बन्छ,’ देवानले भने ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अध्यक्ष लीला गुरागाँई, पत्रकार महासंघ झापाका सदस्य अनिलदेव राई, दमक वहुमुखी क्याम्पसका सह–प्राध्यापक शिव रेग्मी प्रणत, लाईफलाईन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बा, कविहरु अभागी थेगुबा, विवश बलिभद्र कोइराला, विराट किराती लगायत उपस्थित थिए ।
कदम थिएटर स्थलको अवलोकन
यसैबीच शनिबार नै कदम थिएटरका पदाधिकारी र सञ्चारकर्मीहरुले साबिक दमक १४ स्थित कदम थिएटरका लागि दमक नगरपालिकाबाट उपलब्ध थिएटर निर्माणस्थलको अवलोकन गरेका छन् ।
दमक–१४, हाल दमक–९ स्थित कदम थिएटरलाई प्राप्त जग्गामा चाँडै थिएर निर्माण कार्य थालिने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभएको छ । दमक नगरपालिकाबाट यसअघि कदम थिएटरका नाउँमा प्राप्त तीन कठ्ठा जग्गामा थिएटर निर्माणसँगै नाटक, नृत्य, साहित्यिक र अन्य क्रियाकलाप सुरु गरिने उहाँले बताउनुभयो । बुढाथोकीले भन्नुभयो –‘राज्यका निकाय र अन्य कला, सहित्य र संगीतप्रेमीहरुबाट सहयोग जुटाएर थिएटर निर्माण गर्छौं ।’
सो अवसरमा चलचित्र निर्देशक नवीन सुब्बालगायतको कलाकारहरु र थिएटरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।