सुसन राई
दमक, ५ चैत ।
जेष्ठ १९ गते नेपाल भर रिलिजको समय पर्खेर बसिरहेकोे चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो गरिएको छ ।
मध्यम वर्गीय परिवारका दुई युवतीले गरेको संघर्षमा आधारित रहेर बनेको चलचित्र तारेभीरमा अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएर अपराधीहरूसित गर्ने संघर्ष नै फिल्मको मूल कथावस्तु हो ।
निर्देशक प्रेम सुब्बाले समाजमा दादागिरी गर्ने खराब प्रवृत्तिविरुद्ध प्रहरी संगठनको नारी पात्रलाई लिएर चलचित्रमा उतारिएको बताउनुभयो । यस चलचित्रमार्फत नै डेब्यु गरेकी नायिका रेखा फागोले चलचित्रमा आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाएकी छिन् ।
प्रहरी निरीक्षकको भूमिकामा देखिएकी विष्णु चेम्जोङको पनि प्रशंसा लायक अभिनय रहेको छ । डीएसपीको भूमिकामा निर्देशक सुब्बा आफंै छन् । शनिबार दमकको पाथिभरा चलचित्र हलमा तारेभीर प्रदर्शनपछि पत्रकारसँग कुरा गर्दै निर्देशक सुब्बाले भन्नुभयो –‘यो नारीप्रधान चलचित्र हो । यहाँ पारिवारिक, प्रेमालाप, राष्ट्रभक्त र एक्सन सबैको विषय समावेश छन् ।’
‘नुमाफुङ’, ‘बलिदान’ जस्ता निक्कै वटा सफल चलचित्रहरुमा अभिनय गरेका सुब्बालाई धेरैले अलग धारको पक्षपाती ठान्छन् । तर उहाँले ‘तारेभीर’ लाई फर्मुला फिल्मकै ढाँचामा बनाएको जिकिर गर्नुभयो । 
पाथिभरा चलचित्र हलका प्रबन्धक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालले धेरैजसो फिल्महरु प्रेम कथामा आधारित हुने गरे पनि यो फिल्म राष्ट्रप्रेम र प्रेरणादायी बनेका कारण च्यारिटी शो गर्न आफू मञ्जुर भएको दावी गर्नुभयो । फिल्म हेर्न दर्शकले उत्साह जनाएको भन्दै बरालले आभार प्रकट गर्नुभयो ।
चलचित्रमा नवीन कार्की, रमेश सिंह, देउकृष्ण देवान, दिपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रमेश अधिकारी लगायतको अभिनय छ । देउकृष्ण देवानले निर्माण गरेको चलचित्रमा प्रकाश गुरुङ, सनुप पौडेल र बब्रिम शेर्माको संगीत रहेको छ । चलचित्रमा रिना गुरुङ्ग, ब्रबिन शेर्मा र नायिका विष्णु चेम्जोङ्गको स्वर रहेको छ भने जनक गुरुङको द्वन्द्व निर्देशन रहेको छ ।
नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा निर्माण गरिएको चलचित्र तारेभीर शनिबार पाथिभरा चलचित्र हल दमकमा प्रस्तुत शोको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले व्यानर अनावरण गरि उद्घाटन गर्नुभएको थियो ।
क्यान्सर पीडितहरु सेसेहाङ शेर्मा (वर्ष ६, धरमपुर, झापा), कुमारी लावती खजुम (वर्ष ४२, पाँचथर, फाक्तेप–३), सुन्दर नेम्बाङ (वर्ष ४०, इम्बुङ–पाँचथर) को उपचारको सहयोगार्थ च्यारिटी शो गरिएको र लगतै इलामको सिटी हलमा पनि चैत्र १९ गते च्यारिटी शो गरिने आयोजक समितिका संयोजक विक्रम फागो वानेमले बताउनु भयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।


