नेता–कार्यकर्ता निरास
काठमाडौं, ४ चैत ।
बिगठित राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै चुनावी तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीका यी दुवै एजेण्डा निर्वाचन आयोगले हटाइदिएपछि आपत परेको छ ।
निर्वाचन आयोगले प्रचलित संविधानसँग राप्रपाको ‘राजतन्त्र’ र हिन्दु राष्ट्र’ भन्ने वाक्यांश बाझिएको भन्दै विधानबाट हटाइदिएपछि राप्रपालाई आपत परेको हो ।
कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामा उल्लेखित ‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश प्रचलित संविधानको बर्खिलाफ भएको आयोगले निर्णय गरेर हटाइदिएको हो । त्यस्तै पार्टी विधानको धारा पाँचमा ‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश पनि आयोगले हटाएको हो ।
फागुन ६ गतेदेखि १० गतेसम्म राजधानीमा सम्पन्न राप्रपाको एकता महाधिवेशनले सो विधान पारित गरेको थियो ।
‘नेपालको संविधानको धारा ४ मा उल्लेखित धर्म निरपेक्ष तथा गणतन्त्रात्मक सम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा (१) को खण्ड (ग)मा दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई बिखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न इन्कार गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्था सहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी व्यहोरालाई प्रमाणित गर्ने ।’ भनी आयोगले लिखित निर्णय दिएको हो ।
आयोगको पछिल्लो निर्णयबाट पार्टीको मुख्य राजनीतिक एजेण्डा नै समाप्त हुने भएपछि केन्द्रीय तहदेखि स्थानीय तहसम्मका राप्रपा नेता कार्यकर्ता अन्योलमा परेका छन् । ‘हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापनाका लागि’ भन्दै राप्रपाले स्थानीय तहको निर्वाचनमा मत माग्ने तयारीमा जुटेका बेला आयोगको यो निर्णयले धेरैलाई साशंकित पारेको बताइएको छ ।
यसैबीच राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले भने निर्वाचन आयोगको निर्णयबारे पार्टीलाई आधिकारिक जानकारी अइनसकेको बताउनुभएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो –‘आयोगले राजसंस्था र हिन्दु राष्ट्रको वाक्यांश हटाए अदालत जान्छौं ।’ राजनीतिक दलले कुनै पनि मुद्दालाई जनतासम्म लैजान पाउने श्रेष्ठको तर्क रहेको छ ।
राप्रपाले चुनाव चिन्ह भने साविक राप्रपा नेपालको गाई नै पाउने पक्का भइसकेको छ । शनिबार विशेष कार्यक्रम गरेर नै चुनाव चिन्ह सार्वजनिक गर्ने योजनामा रहेको राप्रपाका लागि शुक्रबारको आयोगको निर्णयले गम्भीर धक्का लागेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।