काठमाडौं, ३ चैत ।
संघीय गठबन्धनले सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकार विरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ ।
बुधबारमात्रै संसद्मा समर्थन फिर्ताको पत्र बुझाएको संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्ष्तामा बिहीबार बसेको गठबन्धन बैठकले सरकार विरोधी आन्दोलनको खाका सार्वजनिक गरेको हो ।
संघीय गठबन्धनको संयोजक समेत रहनुभएका यादवको अध्यक्षतामा बसेको बिहीबारको बैठकले बिगतमा गठित केन्द्रीय आन्दोलन मूल परिचालन समितिलाई आन्दोलनका लागि अग्रसर गराउने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार बिहीबार नै गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका बताइएको छ । त्यस्तै गठबन्धनले शुक्रबारदेखि सरकारविरुद्ध जनअवज्ञा तथा असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।
चैत ११ गतेसम्म बिहीबारदेखि सुरु भएको माध्यमिक तहको परीक्षा चल्ने भएकाले चैत १२ गतेदेखि गठबन्धनले थप आन्दोलन गर्ने भएको छ । जसअन्तर्गत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई गर्ने तय भएको छ ।
चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा र काठमाडौंमा दीप प्रज्वलन गर्ने निर्णय गरेको गठबन्धनले १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने निर्णय गरेको प्रवक्ता डा. ओम गुरुङबाट हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
संघीय गठबन्धनले चैत १५ गते धनगढी र कैलालीमा जनप्रदर्शनको तयारी गरेको छ । जसको आयोजक थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति रहने छन् । त्यस्तै १६ गते कैलालीको अत्तरियामा हुने जनप्रदर्शनको आयोजक खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति रहने छन् ।
चैत १७ गते पोखरामा तमुवान संघर्ष समितिको आयोजनामा जनप्रदर्शन हुने तय गरेको गठबन्धनले १८ गते किरात संघर्ष समितिको आयोजनामा उदयपुरमा जनप्रदर्शन जर्ने, १९ गते संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समितिको आयोजनामा दमकमा जनप्रदर्शन गर्ने तय गरेको हो ।
चैत २० गते हेटौडामा तामाङसालिङ संघर्ष समिति र आदिवासी जनजाति पार्टी, नेपालको आयोजनामा जनप्रदर्शन गर्ने जनाएको गठबन्धनले २१ गते नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समितिको आयोजनामा काठमाडौंमा जनप्रदर्शन गर्ने तय गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।