सप्तरी, २ चैत ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आउँदो चैत २३ गते राजविराज गोली काण्डमा सहादत प्राप्त गरेका पाँचै जनाको स्मृतिमा शोकसभा गर्ने निर्णय गरेको छ ।
शोकसभा फागुन २३ गते नेकपा एमालेले मेची–महाकाली अभियानका क्रममा सभा गरेको स्थान गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा नै हुने तय भएको मधेसी मोर्चा सप्तरीले जनाएको हो । उक्त सभालाई मोर्चामा आबद्ध सबै दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
औद्योगिक क्षेत्रमा यसअघि एमालेले पहिलो पटक सभा गरेपछि मोर्चाले पनि यसै स्थानमा सभा गर्ने तय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले मधेस विरोधी प्रचारका लागि अभियानका नाउँमा सप्तरीमा सुरक्षा प्रशासनको सहयोग लिएर मधेसी जनताको कत्लेआम गरेको मोर्चाको आरोप छ । मोर्चाले मृतकहरुको सम्मानमा बुधबारदेखि १२ गते सम्म जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साइनसहितका स्थानहरुमा पनि शोकसभा जनाएको छ । यस्तै मोर्चाले मधेश आन्दोलनको शहीद परिवार तथा घाइते कोष स्थापना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मृतकका परिवारलाई ५१ हजार किरिया खर्च
यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले फागुन २३ गते प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनाको परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ ।
मोर्चाका कार्यकर्ताहरु मृतकको घरमै गएर मंगलबार रकम हस्तान्तरण गरेका छन् । मोर्चा नेताहरुले सहादत्त प्राप्त गर्ने प्रति परिवारलाई ५१ हजारका दरले सहयोग उपलब्ध गराएको बताइएको छ ।
फागुन २३ गते प्रहरीको गोली लागेर सप्तरीको मलेठ २ का सञ्जन मेहता र बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविस–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।
मृतकका परिवारलाई यसअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले २५ हजारका दरले र अधिकारकर्मी दिपेन्द्र झाले १५ हजारका दरले सहयोग उपलब्ध गराएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।