मृत्यु, होली र राजनीति - Naya Online

मृत्यु, होली र राजनीति

कमन देवान
सप्तरीमा पाँच जना निहत्थाको मृत्यु हुनेगरी भएको हिंसात्मक गोली काण्डबाट आफूलाई अछुतो राख्न लाखौं प्रयत्न गरे पनि प्रतिपक्षी दल नेकपा एमाले यो दोषको भागेदार नै हो भन्ने तथ्य नेपाली जनताका लागि भ्रामक हुने छैन । तर, नेपालको गृहप्रशासन, मधेसी मोर्चाको आन्दोलन गर्ने शैली र त्यसपछि विकसित विभक्त पहाड–मधेस मनोविज्ञान यो देशलाई असफल पार्ने कडीहरु हुन् ।
कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा नेपाली स्थानीय वासन्दिा र भारतीय सीमा सुक्षा बल एसएसबीका बीचमा कल्भर्ट निर्माणको विषयलाई दिएर उत्पन्न विवादमा भारतीय पक्षबाट गोली चल्यो र एक जनाको मृत्यु भयो । स्थानीय युवा गोविन्द गौतमको मृत्यु प्रसङ्ग क्याबिनेटबाट संसद् हुँदै ११ तोपको सालामीमा थन्कियो ।
माथिका दुई फरक–फरक सन्दर्भमा तर नेपाली नागरिकले मृत्युवरण गर्नुपरेका घटनाको निचोड भने हाम्रो मानसिकताले बोकेको एकाङ्की राष्ट्रवादको प्रदर्शनीमै आएर विसर्जन हुन्छन् । जाजरकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ बढी मानिसको मृत्यु हुनु अर्को दुखद् प्रसङ्ग रह्यो । र, यी सबै अर्थात माथि वर्णित तीन वटा अलग–अलग घटनाहरुको समीकरणलाई तोड्दै नेपाली समाज होलीमा रमायो दुई दिन । र, नेपाल र नेपाली जनजीवनको सन्दर्भमा पछिल्ला एक साताका यी घटनाहरु र यी बीचका परिस्थितिहरुलाई केलाएर हेर्दा, आयामहरुको विश्लेषण गर्ने हो भने नेपाली समाजको दरिद्रता प्रष्ट झल्किन्छ । नेपाली राजनीतिको कमजोरीले समाजमा पारेको वैचारिक खडेरीको पनि दृश्य यी केही परिघटनाहरुले पुस्तक वा चलचित्र पढेर वा हेरेर भन्दा पनि सहजै बुझ्न सकिन्छ ।
एक सातामा ३० भन्दा बढी मानिस बिना कारण मारिएका छन् । राज्य र सरकार यी मानिसहरुको मृत्युको नैतिक जिम्मेवार त हो नै । यस्ता दुखद्, नृशंस हत्या र मृत्युको कारक पनि हो । यो आरोपलाई उसले मौनता साँधेर स्वीकार गरिरहेको छ । तर, ऊ कहिल्यै जिम्मेवार बन्न सकेको छैन । जब राज्य नै जिम्मेवार बन्न सक्दैन वा चाहँदैन, समाज यी शोकहरुबाट मुक्त रहन्छ भनेर अनुमानसम्म लाउन मुस्किल छ । यसर्थ, नेपाली जनताले गर्वका साथ भन्ने समय आएको छ, हामी जल्लादहरुको जमातमा मुर्दा शान्तिको खोजी गरिरहेका छौं । यो शुन्यतातर्फको गन्तव्य बाहेक के हुन सक्ला र ? समाज मानिसको मृत्यु र सहादत दिनेहरुको त्यागलाई आफूअनुकूल परिभाषित गर्न लालयित बन्दैगएको छ । तराई मधेसको सप्तरी गोली काण्डमा राजनीतिक कारणले मारिएका पाँच जना नागरिक बारे नेपालका ठूला भनिएका मिडियादेखि बुद्धिजीवि वर्ग, सरकारी संयन्त्र, शिक्षितदेखि आधारभूत तहसम्मका मानिसहरुलाई खासै जानकारी रहेन । कतिपयले मधेसी मूलका नागरिकहरु मारिएको दुखद् घटनालाई नेपाली समाजको संस्थापन दावी गर्ने पहाडीया समाजले ‘ठीक्क पर्यो’ को संज्ञा दिए, सामाजिक सञ्जालहरुमा । विभिन्न अभिष्ठ र उद्देश्यका लागि लागेका राजनीतिक दल र तिनको नेताहरुको भ्रष्ट मतिको त कुरै नगरौं । मधेसी र पहाडी समाजबीचको मनोवैज्ञानिक दरार बुझ्न पनि सप्तरी गोली काण्ड एउटा खुला किताब हो ।
कञ्चनपुरमा मािरएका गोविन्द गौतमको सहादत बारे राज्य किन बेखबर ? संसद्लाई सरकारले सत्यतथ्य जानकारी गराउनु पर्छ कि पर्दैन ? भन्ने जस्ता प्रसङ्गलाई केलाएर संसद्मा माननीय अशोककुमार राईले बोलेको भाषणलाई अपब्याख्या गरेर नेपालका ठूला–साना मिडिया, विशेषतः अनलाइन पोर्टलहरुले जसरी भारतीय पक्षपोषणको हवला दिए र उहाँको राजनीतिक  छवि र व्यक्तित्व तेजवोध गर्ने दुष्प्रयास गरियो यस्ता घटनाहरु प्रायोजित नै हुन् भन्नेमा पनि शंका रहेन । तर, समाजलाई जुन किसिमले कथित खोक्रो र पहाडीया त्यसमा पनि कुनै जात विशेष, नश्लीय विशेषताका आधारमा डोहोर्याउने काम गरिँदैआइएको छ, यी भद्दा र भँडुवा प्रवृत्ति कायमै रहनु लोकतन्त्रका लागि सबै भन्दा ठूलो चुनौती हो ।
सप्तरी वा कञ्चनपुर । जहाँ पनि जुनसुकै कारणले निहत्था नेपाली मारिँदा देश दुख्नुपर्छ । दुखाई समान हुनुपर्दछ । कुनै पनि दुर्घटनाको जोखिम बढ्न नदिन, समस्या उत्पन्न हुन नदिन र सीमा र सुरक्षा जस्ता संवेदनशील सवाललाई राज्यले मजाकका रूपमा मात्रै लिइरहेसम्म मुलक यस्तै घाउहरु दुखेर विक्षिप्त रहिरहने पक्का छ । उत्तेजना र आक्रोश पीडालाई मोड्ने औजार हुन सक्छन्, समस्याका स्थायी समाधान हुन सक्दैनन् । सप्तरी घटनालाई राजनीतिक सुझबुझ  र कञ्चनपुर घटनालाई कुटनीतिक तवरले नियन्त्रण गर्न सकेको भए छ जना नेपाली नागरिकलाई लास भएको देख्न र रुन पर्ने थिएन । यो अरु कसैको होइन, राज्यको कमजोरी हो ।
नेपालीबीच नै कुनै मूलका नागरिक मर्दा रमाउने र कुनै मूलका नागरिक मर्दा दुःखी हुने राज्य र समाजको चरित्रकै कारण मुलुकमा सामाजिक द्वन्द्व अरु झाँगिएर जाने पक्का छ । शासन, नीति निर्माण, सेवा र सुविधाको अवसरका सन्दर्भमा समाजका सबै जाति, लिङ्ग, वर्ग र समुदायलाई सहभागितामूलक विधिबाट समेट्नुपर्ने दायित्व आज हामीले उपभोग गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा समुदायगत अधिकारहरुको गुञ्जयाससम्म हुँदैन । संघीय शासनको आधारभूत तत्व स्वायत्तताको हकलाई जातीय वा विखण्डन वा अरु यस्तै निन्दनीय आरोपसँग फलाकेर बन्देज गर्ने कदम अघि बढाइन्छ । मुलुकको कुटनीतिलाई सत्ता बार्गेनिङको फर्मुलाका रूपमा मात्रै प्रयोग गर्ने मानसिकताबाट माथि उठ्न सकिँदैन । त्यसैले देश दिनानुदिन समसानमा परिणत भइरहेको छ ।
मानौं देश भनेको काठमाडौं खाल्डोको चार भञ्जाङभित्र मात्रै हो, शासकहरुको व्यवहार त्यस्तै छ । देशको शासन प्रणालीमा हावी बनेका प्रशासकहरुको सोच, उनीहरुले अख्तियार गरेको नीति र उनीहरुको कार्यशैली देशलाई अधोगतितर्फ द्रुतगतिमा हुत्याउन जिम्मेवार छैन भनेर जनताले कसरी मान्न सक्छन् ? राजधानीभित्र प्रतिबन्धित भएका थोत्रा यातायातका साधन दुरदराजमा सञ्चालन भएको तथ्य र सत्यालई नदेखेको र नभोगेको कसले होला ? २० वर्ष कुदेर कबाडीको भाउमा बिक्ने यातायातका साधन उपयुक्त ट्रयाकसमेत नखुलेका बाटोमा भेडाँबाख्रा झैं मान्छे कोचेर कुदाएपछि दुर्घटना नभएर के हुन्छ ? राज्यले यति कुरा बुझेको छैन भन्ने लाग्दैन । यस्ता जोखिम निम्त्याउने राज्यको लालचाका कारण जाजरकोट जस्ता घटना दिनानुदिन बढिरहेका छन्, बढिरहने छन् । अनाहकमा नागरिकले मृत्युवरण गर्नुपर्ने अवस्था कायमै छ । यसको मुख्य दोष गाडी सञ्चालक र चालक भन्दा पनि राज्यका निकाय र त्यहाँ बसेर जागिर पड्काउने कर्मचारीहरु हुन् । समग्रमा, होलीको रौनकका कारण दुई दिन देशले राहत महसुस गरेको होला । राष्ट्रताका नाउँमा नश्लवाद फलाक्ने जमात र त्यसलाई रोक्न राजनीतिक आवरणमा युद्धमैदान उत्रने जमात पनि शान्त भएका होलान् । तर, सप्तरीका मृतक, कञ्चनपुरका मृतक, जाजरकोटका मृतकहरुको आत्माले शान्ति पाउने अवस्था रहेन । किनकि उनीहरुको मृत्यु अन्यायविरुद्धको विद्रोह नै हो । बेथिति र भ्रष्टतन्त्रविरुद्धको विद्रोह नै हो । कहिलेसम्म निहत्था र सोझा जनताले यसरी अन्यायका विरुद्ध गैरन्यायीक मृत्यु मरिरहनु पर्ने ? यो देशका जिम्मेवार राजनीतिक दलहरुले जवाफ दिनुपर्छ कि पर्दैन ? वैदिक व्याख्याअनुसार अग्निले भष्म पार्न नसक्ने वरदान पाएकी होलिकाले विष्ण्ुभक्त प्रह्लादलाई षड्यन्त्रपूर्वक जलाउने कोसिस गरिन् । तर, असत्यविरुद्ध सत्यको जित भयो । होलिका जलेर भष्म भइन् । प्रह्लादलाई आगोले खान सकेन । यतिबेला सत्य झैं लाग्ने भ्रान्तीमा परेर झुटका विरुद्ध लड्ने र मृत्युवरण गर्नेहरुको संख्या टिप्न पनि राज्य संयन्त्रलाई भ्याइनभ्याइ छ । राजनीतिक दलहरु जनता अलमलाउनमै मस्त छन्, कुनै चोक र गल्लीमा वंैशको उन्माद झल्काउन उफ्रिरहेका तरुण र तरुणीहरु झैं उन्मत्त । होली आपसी सद्भावको पर्व हो कि सोमत भूलेर नाङ्गिने र बाङ्गिने परिपाटीमा पुगिसकेको यो समय दलीय राजनीतिको प्रतिष्ठा यो भन्दा माथि उठ्न नसकेको उल्लेख गर्न कसैको मुख हरिरहन परेन । सत्य तितो हुन्छ भने तितो नै लेखिनुपर्दछ । होलीको उन्माद झैं साँढिएका दलहरुकै बेइमानीले मुलुक सिरिया, कोंगो वा सुडानतर्फ उन्मुख भइरहेको छ । यसलाई रोक्न जरुरी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...