राजविराज गोली काण्डका प्रमुख पाँच कारण - Naya Online

राजविराज गोली काण्डका प्रमुख पाँच कारण

नयाँअनलाइन विश्लेषण

कमन देवान ।
पहिलो कारण : इमानदारिता नगुमाई लेख्ने हो भने नेपालका ठूला/राष्ट्रिय मिडियाको रवैया मुलुकका उत्पीडित समुदायका आवाजलाई मुखरित गर्ने भन्दा पनि त्यसलाई जुनसुकै माध्यमबाट बोल्ती बन्द गर्न उद्धत छ । मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक समुदायका साम्प्रदायिक दंगा निम्त्याउन सदैव अग्रसर देखिन्छ । नेपालका मिडिया टाइकुनहरु मधेस र मधेसीलाई पेलेरै ठीक पार्न सकेमात्रै नेपालको राष्ट्रता बलियो हुन्छ भन्ने तर्क राख्छन् । मिडिया मालिकहरुको जात, धर्म, वर्ण र राजनीतिक आस्था जे पनि हुन सक्ला तर उनीहरुमा जुन प्रवृत्ति छ, त्यो भनेको जुनसुकै उपाय लगाएर पनि मधेस र मधेसका जनतालाई खुइलाउने, विखण्डनकारीको बिल्ला भिराउने, अराष्ट्रवादी करार गर्ने । त्यस्तै आदिवासी जनजाति समुदायलाई पहिचान र संघीयताको मुद्दा बोकेकै कारण साम्प्रदायिक बनाइदिने । त्यसका निम्ति उनीहरुले बलियो हतियारका रूपमा कहिले सिके राउत त कहिले केपी ओलीको अभियानलाई मलजल गरिरहन्छन्  ।
नेपालका मिडियाको मधेस विरोधी रवैयाका कारण ग्राउन्ड रियालिटीको सत्य न्युजरुमसम्म पुग्दा करिब ४० प्रतिशतसम्म अपभ्रंश भइसकेको हुन्छ भने समाचारका रूपमा प्रसारित वा प्रकाशित हुँदा मधेसका जनतालाई कनपरो तात्ने बनिसकेको हुन्छ । यसो किन हुन्छ ? राज्य वा जिम्मेवार निकाय कसैले यस बारेमा आवश्यक अध्ययन गर्न चासो देखाएको छैन । तर, जब मधेसी जनताको आवेगले सीमा नाघ्छ, उनीहरुले सबै भन्दा पहिलो शिकार मिडियाकर्मीलाई बनाउँछन् । त्यसपछि देशका एकथरी राष्ट्रवादीहरु मिडिया स्वतन्त्रताको वकालत गर्दै मधेस र मधेसी विरुद्ध नारा उराल्छन् । सही मौका पारेर मिडियाले मधेस विरोधी आफ्नो इन्टेन्सनलाई उपयोग गर्न सफल हुन्छन् ।
दोस्रो कारण : नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत मधेस आन्दोलनका हिंसा कम गर्ने नाउँमा प्रयोगमा ल्याउन थालिएको छ । जसका कारण हिंसा अरु बढ्दै गएको छ । पछिल्लो समय सिके राउतको अभियानलाई लक्षित गरेर प्रधानसेनापतिले जुन अभिव्यक्ति दिए, त्यसबाट एक थरी राष्ट्रवादीहरुलाई ठूलो आत्मबल मिल्यो । लगत्तै एमाले अभियानका नाउँमा मधेसमा मधेसीहरुले प्रतिवाद गर्ने जान्दाजान्दै जबरजस्ती घुस्ने र मधेसी दल, तिनले उठाएका माग र मुद्दालाई सकेसम्म खुइलाउने योजना बनाए लगत्तै अर्काथरी राष्ट्रवादीहरुलाई हुटहुटी लाग्यो । जसको परिणाम फागुन २३ गते सप्तरीको राजविराज गोली काण्ड मच्चियो ।
नेपालका सुरक्षाकर्मीहरुको हुर्मत काढ्नलाई यहाँ चर्चा गर्नुभन्दा पनि उनीहरुकै रवैयाका कारण मुलुकमा क्रमशः विभाजनको रेखा कारिँदै गएको प्रष्ट छ । सप्तरीको मठैयामा भएको गोली काण्डपछि सुरक्षा निकायभित्रै प्रहरीको ‘फायरिङ पोलिसी’ बारे सांगठनिक कमजोरीको विषयवस्तु सञ्चारमाध्यमबाट उजागर भइसकेको छ । राजधानीमा राप्रपा नेपालले गरेको आन्दोलनमा पानीको फोहरा हान्ने र मधेसमा मधेसी दलहरुले आन्दोलन गर्दा ताकेर टाउका, छाती र कम्मर माथिका भागमा गोली हान्ने राज्यको सुरक्षा निकायको रवैयामाथि शंका नहुने पनि कुरो भएन । यस कारण नेपालमा सुरक्षा निकायकै कारण पनि समस्या अरु जटील बन्दै गएको स्पष्ट छ ।
तेस्रो कारण : मधेस र मधेसीलाई युपी बिहारको संज्ञा दिनेदेखि दुई चार वटा आँप झरेको संज्ञा दिने एमाले अध्यक्ष खड्गप्रसाद ओलीको अभिव्यक्तिले पनि मुलुकको तराई मधेस र पहाडीया समाजका बीचमा दरार उत्पन्न हुँदै गएको छ । एमालेले मेची–महाकाली अभियान सञ्चालन गरेर मधेसमा आफूविरुद्धका भ्रम चिर्ने प्रयत्न गर्नु आफैमा राजनीतिक कदम थियो । तर, यसअघि एमालेले मधेसप्रति जुन रवैया अपनाएको थियो त्यस कारण मधेसमा एमालेका विरुद्ध प्रवेश निषेधसम्मको कदम उठ्नु स्वाभाविक थियो । मधेसविरोधी एमाले रवैयाका कारण पनि मधेस असुरक्षित थलो बन्दै गएको स्पष्ट छ ।
मधेसलाई एमालेले सम्हाल्ने प्रयास गरेको अर्थमा अभियानलाई व्याख्या गर्नेहरुको पनि छन् । उनीहरुको व्याख्या एक हदसम्म ठीकै हो । राजनीतिक गतिविधिका लागि राजनीतिक दलहरु देशको कुनै पनि कुनामा जान पाउनु उनीहरुको अधिकारको कुरा हो सँगैसँगै कुनै पनि दलले गर्ने अभियानले आम जनताको भावनालाई जोड्ने अभिप्राय राख्न आवश्यक हुन्छ । तर, मधेसमा एमालेविरुद्ध ऊ आफैले जस्तो आक्रोशको मानसिकता तयार गरेको थियो, राजविराज गोली काण्ड त्यसको पनि उपज हो ।
चौंथो कारण : एमाले अभियान मधेस प्रवेश गर्ने सन्दर्भअघि नै गृहमन्त्री विमलेन्द्र निधि र एमाले अध्यक्ष ओलीबीच मिडियामा जुहारी चलेको जनताले बुझेकै कुरा हुन् । त्यसका अतिरिक्त तत्कालीय सप्तरी जिल्ला प्रशासन कार्यालयको भूमिकाले पनि आगोमा घ्यु थप्ने काम गरेकै हो । तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनाले एमालेको अभियानलाई कुनै पनि हालतमा सफल पारिने र मोर्चालाई जस्तोसुकै परिस्थितिमा रोक्नलाई बल प्रयोग गरिने अभिव्यक्ति दिएका थिए । प्रशासनको अडानलाई मोर्चाले धम्कीका रूपमा लियो र एमाले अभियानलक्षित बन्दको कार्यक्रम तय गर्यो ।
फलतः राजनीतिक कारणले पनि एमाले अभियानलाई खुइल्याउने र मधेसी मोर्चालाई अनावश्यक क्षति तुल्याउने किसिमले राजविराज गोली काण्ड मच्चिएको बुझ्न सकिन्छ । ‘राजनीतिक आवरणमा एमाले शीर्ष नेताहरुको कत्लेआज गर्नेसम्मको योजना थियो’ भन्ने जस्ता आरोप एमालेले काठमाडौं पुगेर जुन हुँकार गर्यो, त्यो आफैमा गैरराजनीतिक अभिव्यक्ति हो । यद्यपि, एमालेले मधेसमा जसरी लखेटिनुपर्यो, त्यो राजनीतिक पराजयलाई ढाकछोप गर्न पनि अर्को राजनीतिक आरोपको खेती गर्नु एमालेको वाध्यता हो ।
पाँचौ कारण : एकातिर मधेसमा गएर मधेसी दलका नेताहरुको राजनीतिक विरासत भत्काउने एमालेको उग्रयोजना र अर्कातिर एमालेलाई मधेसमा छिर्नै दिनुहुन्न भन्ने मधेसी मोर्चाका केही नेताहरुको उग्रनिषेधवादले पनि राजविराज गोली काण्डलाई प्रश्रय दिएको स्पष्ट छ । दुवै पक्षले एक–अर्काका व्यवहार र कार्यशैलीहरुलाई संयमित पार्दै अघि बढेका भए मुलुकले यस्तो दुखद् परिणाम भोग्नुपर्ने थिएन । मधेसप्रति नकारात्मक धारणा पालेका धेरैलाई लाग्दो हो, मधेसीमाथि जुन दमन र हत्या काण्ड भयो त्यो जायज हो । अर्कोतिर, मधेसका जनता र मधेसी मोर्चा पक्षधरहरुलाई लाग्दो हो, यो हत्याकाण्डको दोषी सरकार र एमाले पनि हो । यसको कडाइका साथ प्रतिवाद गर्न फेरि आन्दोलन र विधंश्वलाई बढाउनुपर्छ । तर, वास्तवमा यी दुवै चिन्तन गलत छन् ।
इमानदारपूर्वक फेरि भन्नैपर्दछ । एमालेले मधेस प्रदेशभर आफ्ना अभियानलाई राजमार्ग केन्द्रित मात्रै गरेर अघि बढेको भए एकाध कालो झण्डा देखाएर विरोध गरे पनि मधेसी मोर्चाबाट जस्तो प्रतिक्रिया आयो, त्यो दुरावस्था हाम्रालागि टर्न सक्थ्यो । देशका प्रधानमन्त्री र गृहमन्त्रीले दिँदै नदिएको गोली हान्ने आदेशका भरमा सर्वसाधारण जनता मारिने थिएनन् । राज्य पक्षले प्रमाणित गरेका चार जना र मधेसी मोर्चाले दावी गरेको ७ जनाको अकालमै मृत्यु हुने थिएन । एमाले वा कुनै पनि दलको अभियान नेपाली जनताका लागि हो भने जनता मारेर सफल हुन्छ भन्ने दम्भ पनि नपालौं, मोर्चा वा कसैले कुनै दललाई घुँडा टेकाइयो भन्ने भ्रम पनि नपालौं । नुहुनु भोगिसकेको अवस्थामा अब बिग्रिएको परिस्थितिलाई सम्हालेर मुलुक र मधेस अघि बढ्नुपर्छ । सदन र सडकबाट विरोध र प्रतिरोध गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर, यसलाई विधिसम्मत ढंगले अघि बढाउन सकिएन भने मुलुकले राजविराजमा जस्तै दुखद् नियतीहरु भोग्नुपर्ने अवस्था दोहोरिरहन सक्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...