मधेस अपडेट :
कमन देवान
झापा, फागुन २४ ।
सप्तरीको राजविराज गोली काण्डमा मृत्यु हुनेहरुको संख्या सात पुगेको मधेसी मोर्चा आवद्ध रहेको संघीय गठबन्धनले दावी गरेको छ ।
सोमबार नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या सात पुगेको दावी गरेको हो ।
गठबन्धनले मंगलबार जारी गरेको विज्ञप्तिमा मृतक संख्या सात पुगेको उल्लेख छ । सरकारी पक्षले भने सोमबार तीन जनाको मृत्यु भएको जनाएको थियो । गृहमन्त्रालयले थप मृतकका बारेमा आधिकारिक जानकारी गराएको छैन । स्रोतका अनुसार सप्तरीमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगिसकेको समाचार प्राप्त भएको छ ।
आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएकाहरु सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर मण्डल, आनन्द साह, अजय साह, अवधेश ठाकुर र सञ्जय मेहता रहेका बताइएको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित एमाले सभामा अध्यक्ष केपी शर्मा ओलीले भाषण गरेलगत्तै एमाले कार्यकर्ताले प्रहरीको आड लिएर मोर्चाका प्रदर्शनकारीलाई लक्षित गर्दै ढुङ्गामुढा प्रहार गरेका थिए । मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीचको आमनेसामने रोक्न प्रहरीले प्रदर्शनकारीलाई धपाउने कोसिस गरेको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको र सो क्रममा तीन जनाको मृत्यु भएको भन्दै आएको छ । यसैबीच सप्तरीमा मंगलबार बिहानैदेखि मोर्चा कार्यकर्ताले विभिन्न सरकारी कार्यालयमा तोडफोडको प्रयास गरेपछि अपराह्न्नदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ ।
सप्तरीमा सिडिओ र एसपी परिवर्तन
पछिल्लो जानकारी अनुसार गृहमन्त्रालयले सप्तरीमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पठाएको छ ।
गृहले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा कृष्ण कटुवाललाई पठाएको हो भने प्रहरी कार्यालयको प्रमुखको रुपमा एसपी अनुराग द्धिवेदी र शसस्त्र प्रहरीको एसपी रामाधर यादवलाई सप्तरी पठाएको हो ।
यसअघि मंगलबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीका प्रजिअ उद्धवप्रसाद तिमल्सिना र प्रहरी प्रमुख एसपी दवेश लोहनीलाई जिल्लामा भएको गोली काण्डबारे जानकारी दिन भन्दै काठमाडौं बोलाउनुभएको थियो ।
तर, मोर्चा कार्यकर्ताले जिल्लास्थित सुरक्षा प्रमुखहरुलाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएपछि गृहमन्त्रालयले सुरक्षा प्रमुखहरुलाई फिर्ता बोलाउने र नयाँ पठाउन बाध्य भएको हो ।
अघिल्ला प्रजिअ तिमल्सिनाले राजविराज घटनाअघि नै जिल्लाको सुरक्षाबारे पत्रकारहरुलाई जानकारी दिँदै मोर्चाले एमाले अभियानमा दखल पुर्याए बल प्रयोग गरिने जानकारी दिनुभएको थियो । तिमल्सिनाको उक्त अभिव्यक्ति आएलगत्तै मोर्चाले सप्तरीमा आन्दोलनको घोषणा गरेको थियो । उहाँ सप्तरी गोली काण्ड हुनुभन्दा एक हप्ताअघि मात्रै सुरुवा भएर आउनुभएको थियो ।
मधेसभर तनाव बढ्ने आशंका
सप्तरीको गोली काण्डपछि सप्तरीलगायत तराई मधेसका विभिन्न जिल्लाहरुमा आन्दोलन चर्किएको छ । मधेसका आठ वटै जिल्लामा मधेसी मोर्चाले विरोध कार्यक्रमलाई जारी राखेको छ ।
मंगलबार मोर्चा कार्यकर्ताले सप्तरीलगायत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा बन्द आह्वानसहित विरोध र प्रदर्शन गरेका छन् । दिनभरको मार्चाको प्रदर्शनका कारण तराई मधेसको जनजीवन ठप्प भएको थियो ।
जनकपुरमा मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका कार्यकर्ताले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला जलाएर सप्तरी गोली काण्डको विरोध गरेका थिए । मोर्चाले बुधबार पनि मधेस बन्द गर्ने यसअघि नै जनाइसकोको छ ।
गृहले भने मधेसमा थप हिंसाका घटना हुन सक्ने भन्दै सुरक्षा प्रशासनलाई चनाखो रहन निर्देशन दिएको छ । बल प्रयोग नगरी शान्ति सुरक्षा कायम गर्न गृहले मधेसका जिल्लाहरुमा मातहतका सुरक्षा निकायहरुलाई निर्देशन दिएको हो ।
राजविराज गोली काण्डको जिम्मेवार मधेसी मोर्चा : एमाले
यसैबीच नेकपा एमालेले सप्तरीको राजविराजमा भएको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर गर्दै एमालेले राजविराजमा सोमबार भएको गोली काण्डको दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । एमाले घटनाको यथार्थ छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा घटना नियोजित रूपमा भएको दाबी गर्नुभएको छ । राजविराज घटनालाई नियोजितको संज्ञा दिँदै एमालेले घटना चुनाव हुन नदिने र एमालेलाई निषेध गर्ने अभिप्रायले गराइएको भन्दै सम्पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सिरहाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुलाई फिर्ता बोलाइएकोमा पनि आपत्ति प्रकट गरेको छ । एमालेले सप्तरी, सिराह र बारामा आफ्नो पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको भन्दै घटनाको भत्र्सना गरेको छ ।
फागुन २१ देखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान २४, २५ र २६ गतेलाई स्थगित भए पनि २७ गतेदेखि पुनः सञ्चालन हुने एमालेले स्पष्ट पारेको छ ।
संघीय गठबन्धन पनि आन्दोलित
यसैबीच सप्तरी गोली काण्डलाई लिएर मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले पनि आन्दोलनको घोषणा गरेको छ ।
गठबन्धन संयोजक उपेन्द्र यादवको अध्यक्षतामा मंगलबार संघीय समाजवादी फोरम, नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले फागुन २६ गते काठमाडौंसहित देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
गठबन्धन बैठकले संविधान संशोधन विधेयक पास गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । त्यस्तै गैरसंवैधानिक चुनाव घोषणा फिर्ता लिन माग गर्दै बैठकले सरकारलाई ७ दिने अल्टिमेटम दिने निर्णय भएको गठवन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिनुभयो ।
सप्तरी घटनाबारे मानवअधिकार आयोग र राष्ट्रसंघको ध्यानाकर्षण गराउने र अन्तराष्ट्रिय समुदायसँग छलफल गर्ने पनि गठबन्धनले निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।
राष्ट्रसंघको ध्यानाकर्षण
यसैबीच सोमबारको सप्तरी गोली काण्डलाई लिएर संयुक्त राष्ट्रसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसंघले मंगलबार विज्ञप्ती जारी गर्दै राष्ट्र संघले सप्तरी घटनाप्रति दुःख व्यक्त गरेको हो ।
राष्ट्र संघले आगामी वैशाखका लागि घोषणा गरिएको स्थानीय चुनावअघि देखिएको तनावलाई लिएर परिस्थिति बिथोलिन सक्ने भन्दै चिन्ता जनाएको हो ।
सुरक्षाकर्मीहरुलाई बल प्रयोग गर्दा विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारिपाटीको पालना गर्ने राष्ट्रसंघको नेपाल कार्यालयले आग्रह गरेको छ । त्यस्तै राजनीतिक दलहरुलाई शान्तिपूर्ण ढंगले आफ्ना क्रियाकलाप गर्न आग्रह गरेको छ । स्थानीय चुनाव सफल पार्न सार्थक सम्वादका लागि पनि राष्ट्रसंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।