कमन देवान
राजनीतिक निकासको खडेकीका बीच प्रतिपक्षी नेकपा एमाले कथित राष्ट्रवादको नारा उराल्दै सडकमा छ । संसद्मा टेबुल भएको संविधान संशोधनको प्रस्तावलाई रोक्ने एमालेले सदनमा सार्मथ्य प्रस्तुत गर्न नसक्ने दल होइन भन्ने पनि जनताले बुझेकै होलान् । तर, सदनमा गर्नुपर्ने प्रतिवादलाई सडकमा उराल्ने एमाले बौद्धिकतामा देखिएको खडेरीलाई जनताले समय आउँदा बुझ्ने बुझाउने पक्का छ । तर, संविधानलाई तारो बनाएर एमालेले स्थानीय चुनावको प्रचारमा आफू निकटका निजामती कर्मचारीदेखि सहकारीकर्मी, राजनीतिक कार्यकर्तादेखि स्वास्थ्यकर्मी, व्यापारीदेखि लठैतसम्म सबैलाई केन्द्रित गरेको तथ्य शनिबारको मेची–महाकाली अभियानबाट प्रष्टै छ । विश्व सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने हँसिया हतौडा अंकित लाल झण्डाको हुर्मत काढिसकेको एमालेले नेपालको राष्ट्र झण्डालाई समेत एमाले प्राइभेट कम्पनी लिमिटेडमा लिलामी गरेर राष्ट्रघातको सवुत पेश गर्न मेची–महाकाली दौडाहा गरेको बुझ्न नेपाली जनतालाई अरु भ्रम पर्ने छैन भन्ने विश्वास गर्न सकिन्छ । झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियान सफल पार्न झापामा एमाले निकटका कर्मचारी हाकिमहरुले मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्य अभियानमा सहभागी हुन उर्दी जारी गरेका घटना सामान्य बनेका छन् । निर्वाचन आचारसंहिताले सरकारमा जागिर खाइरहेका मन्त्री गणलाई समेत राजनीतिक कार्यक्रमहरुमा सहभागी नहुन आदेश दिइसकेको अवस्थामा एमालेको अभिायनलाई भने भोलि निर्वाचन सम्पन्न गर्न परिचालित हुनुपर्ने निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायत परिचालित हुनु वा हुन उर्दी जारी गरिनु आफैमा निर्वाचन ऐनको धज्जी उडाउने काम हो ।
राजनीतिक आस्था र विचारको एउटा पाटो हुन्छ । स्वतन्त्रताको पनि एउटा हद हुन्छ । तर, जनताको करले पालेपोसिएका राज्यका कर्मचारी नै दलीय सभा, सम्मलेन र लहडमा दौडिने हो भने यसले मुलुक अराजकताको भासमा फस्दै गरेको प्रष्ट हुन्छ । आम जनताको सेवा र सुविधाका लागि काम गर्नुपर्ने कर्मचारीहरुले ‘महान्’ उपमा जोडिएको एमाले अभियानमा सहभागी भए बापत लाभ हुने अड्डामा सरुवा, बढुवा र अन्य सुविधाको लोभ गर्नु हुन्छ कि हुँदैन ? यो त कर्मचारी नियमालवीमा पनि उल्लेख भएकै कुरो होला । तर, शनिबारको सार्वजनिक विदामा पनि झापाका कर्मचारीहरुले सरकारी कार्यालयका सवारी साधन दुरुपयोग गरेर निर्वाचन आचार संहिताको जसरी धज्जी उडाएका छन्, वास्तवमा यो लोकतन्त्रमाथिको भद्दा मजाक त हो नै । नेपाली जनताको स्वाभिमानमाथिको अपमान र मानमर्धन पनि हो ।
स्वास्थ्य संस्था जस्तो मानव स्वास्थ्य र संवेदनासँग जोडिएको अस्पताल, स्वास्थ्य चौकीमा कार्यरत सरकारी दरबन्दीका स्वास्थ्य कर्मचारीहरुलाई एमाले अभियानमा लाइनबद्ध भएर हिँड्न विवश पार्ने एमाले शक्ति रजानीतिक हो भने एमालेको राजनीतिले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीहरुको सपनालाई हत्या गरेको ठहर हुन अर्को आइतबार पर्खिरहनु नपर्ला सायद । विरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे र कृष्ण कुइकेलहरुको रगतको मूल्य त एमाले सत्ताले गत वर्ष मधेसमा आँप झारेर चुकाइसकेको रक्तरञ्जित इतिहास कोरिएकै छ ।
आउँदो चैत ५ गते महाकाली पुग्ने एमाले अभियान वास्तवमा नारामा भनिए जस्तो एकता गर्ने नभइ नेपालीबीच रहेको हार्दिकतामा हिलो छ्याप्दै त्यसलाई पूरापुर तोडेर सिके राउतहरुको बिखण्डनको मतियार बन्दै गरेको राजनीतिक परिदृश्य हाम्रालागि चुनौतीका विषय हुन् । हिमाल, पहाड र तराई मधेसको संविधानका रूपमा नेपालको संविधान २०७२ लागू र कार्यान्वयन होस् भन्ने आम नेपाली जनको चाहनालाई रोक्ने एकाले हुँकार आँधीको बेगलाई पर्लक्कै पल्टाएर मुर्दा शान्ति स्थापना गर्ने परिकल्पनाबाट खड्गप्रसाद ओली ग्रस्त हुनुलाई नेपाली राजनीतिको दुर्भाग्य बाहेक अरु भन्न सकिन्न । किनकि उनी मुलुकका प्रधानमन्त्री भइसकेका जिम्मेवार र सम्मानित व्यक्तित्व हुन् । अरुका कारण नभई उनकै मुलुकलाई बर्बादीको दलदलमा फसाउने उत्कट चाहना र ढिप्पीले देश कम्बोडिया वा रुवाण्डा वा उनैले धम्की दिने गरेको सुडान बन्ने सम्भावना बलियो बनेको छ । सच्चा नेपाली राष्ट्रताको सपना देख्नेहरुका लागि ओली अभियान र सोच बाधक बनेको जनताले बुझेकै छन् । नेपाली राष्ट्रताको मेरुदण्ड र भौगोलिक अण्डताको रक्षा गर्ने समुदाय मधेसी समुदाय नै हुन् । तर, बालुवाटार, बालकोट र धुमबाराहीमा बसेर मधेस र मधेसीमाथि उखान टुक्काको वचन र अधिकारका लागि सडकमा उत्रने मधेसीलाई गोलीको निशाना बनाउने ओली स्वयम्का लागि मधेसको यात्रा सकसता र त्रासदीले निद हराम भएको पुष्टि भइसकेको छ । मेची–महाकाली लहडवाजी दौड सुरु हुनु १२ घण्टा अघिमात्रै २१ जना मधेसी र थारुलाई एमालेले केन्द्रीय समितिमा मनोनयन गरेर मधेसी र थारु समुदायलाई दिगभ्रमित पार्ने खेल खेलेको छ । मधेसी र थारु समुदायका मानिसलाई पार्टीको केन्द्रीय समितिमा मनोनित गरेकै नाउँमा मधेसी र थारुले उठाएका संविधान संशोधन, मधेस र थरुहट प्रदेशको मुद्दा तुहाउन सकिन्छ भन्ने कच्चा राजनीतिक विश्लेषणका आधारमा ओलीले मधेस र थरुहटलाई सम्मान होइन, अरु अपमानित गरेको यसै घटनाबाट पनि प्रष्ट हुन्छ ।
मेचीदेखि महाकालीसम्म तराई मधेसका एमाले जनका लागि दुर्लभ भेलाका रूपमा १५ दिने एमाले अभियानले राहतको काम गर्ने पक्का छ । लामो समयसम्म विविध कारणले भेटघाट गर्न नपाएका हालखबर सुन्न र सोध्न नपाएका पार्टी नेता, कार्यकर्ताबीच एमाले अभियानले पुनतार्जकीको काम गर्ने छ । यस मानेमा एमाले जनले यो अभियानलाई सास्ती होइन, ठूलो अवसरका रूपमा लिन आवश्यक छ । तर, यो अभियानलाई नै पुनः कथित राष्ट्रवादको ढोंगमा मुछेर फलाक्ने र अनर्गल प्रचार गर्ने हो भने त्यो फेरि पनि ओलीकै भाषामा भन्दा ‘केटाकेलीले गुलेली खेलाउने रहर गरे, मट्याङ्राको नाश’ कै शैलीमा पुग्ने छ । एमालेले जति जोड गरे पनि मधेसी जनताले बिगतका एमाले हर्कतलाई माफ नगर्ने निश्चित छ । त्यसो हुँदा पुनः एमाले यसै अभियानमार्फत अरु उक दुई वटा आँप झारेर चटनी खाने मानसिकताबाट लालयित हुन सक्छन् । खडेरीको मौसम सुरु भएको छ । स्वास्थ्यमा सामान्य तलमाथि भएको वा जाँगर हराएको हुन सक्छ । त्यसो हुनाले पिरो अमिलो खाने बानी परिरहेकालाई मधेसमा अबको १५ दिन यो अवसर पनि मिल्ने सम्भवाना छ । समग्रमा, एमालेले दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन नेकपा एकीकृत माओवादीलाई मेची–महाकालीको जुन भूत चढेको थियो, जसका कारण माओवादी पहिलोबाट तेस्रो शक्तिमा थच्किएको थियो, त्यही भूल र कमजोरीको बुई चढेर एमाले यतिबेला प्वाँख पालाएको कमिलाको रूपधारण गर्न लालयित छ । मधेसमा पुगेर अभियानका नाउँमा मधेसीविरुद्ध गालीका फोहरा उराल्ने, लडनभीडन र आमनेसामनेको स्थिति सृजना गर्ने, सुरक्षाका नाउँमा पुनः अरु एकाध दर्जन मधेसी जनताको ज्यान लिने अभिप्रय अन्तर्यमा लुकेका हुनसक्छन् । गुप्त षड्यन्त्रहरुमा माहिर ओली मतिले यतिबेलाको मेची–महाकाली यात्रा निक्कै संदिग्द बनेको पक्का छ । यसबाट पनि एमालेको राष्ट्रवाद र उसको एकताको नारा सबै भन्दा प्रखर मजाक र चक्रव्युह हो भन्ने बुझ्न अरु आइतबार पर्खिरहनु पर्दैन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।