महासंघको नवौं महाधिवेशन उद्घाटन सम्पन्न
कमन देवान
२ पुष, चितवन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति समुदायका हक अधिकार खोस्न खोस्नेका विरुद्ध आफू दृढगरी उभिएको दावी गर्नुभएको छ ।
शनिबार चितवनको नारायणघाटस्थित वीरेन्द बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही बाहुन क्षेत्रीहरुले आदिवासी जनजातिका अधिकार खोस्न लागेको आरोप लगाउँदै त्यस्तो स्थिति आए आफूले बालुवाटारबाटै विद्रोह गर्ने चेतावनी दिनभयो ।

उद्घाटनसत्रमा केही बेर सहभागी भएर काठमाडौं फर्कनुभएका प्रचण्डले सरकार आदिवासी जनजाति समुदायको हक अधिकार स्थापित गर्नमै प्रयत्नशील रहेको जिकिर गर्दै संविधान संशोधनमार्फत बिगतमा भएका गल्ती सच्याउने प्रयास जारी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संशोधन प्रस्तावका पक्षमा आदिवासी जनजाति समुदायको समर्थन रहने भन्दै जसरी पनि संशोधन गराएरै छाड्ने दावी गनुभयो ।

उद्घाटनसत्रमा बोल्नै माआवादी केन्द्रका नेता वर्षमान पुनले अहिले प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेकोमा जाड दिनुभयो । अहिलेको अवस्थालाई नै सबै थोक भइसक्यो भन्ने र केही पनि भएकै छैन भन्ने दुवै अतिवादी सोचले नेपालका आदिवासी जनजाति समुदायको हित नहुने उहाँले दावी गर्नुभयो । पुनले अधिकार प्राप्तिको लडाँइमा सबैले मिलेर आन्दोलित हुनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।
संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङले संविधान जारी गर्ने नाउँमा नेपालका उत्पीडित आदिवासी जनजाति र मधेसी लगायत अल्पसंख्यक माथि धोका र द्वेषपूर्ण भावना राखेकाले नेपालमा जारी संविधानमा सबैले अपनत्व ग्रहण गर्न नसकेको बताउनुभयो । चेम्जोङले अबको आदिवासी जनजाति आन्दोलनलाई रबर स्टाम्प जस्तो नेतृत्वले हाँक्न नसक्ने भन्दै जुझारु र मुद्दा बुझेका नेतृत्व आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका नेता आइबी गुरुङले सत्तामा हालीमुहाली गरिरहेका जातिहरुको बेइमानी र भ्रष्ट मतिका कारण मुलुक बर्बाद भएको आरोप लगाउनुभयो । गुरुङले अब यो देशको सत्ता आदिवासी जनजाति समुदायलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । पार्टी छाडेर जाने ठाउँ नभएकाले आफू कांग्रेसमा रहेको भन्दै उहाँले पार्टीमा पनि निरन्तर आदिवासी जनजाति समुदायकै निम्ति आवाज उठाइरहेको दावी गर्नुभयो ।
एमाले सचिव पृथ्वी सुब्बा गुरुङले मधेसी जनताले अंगिकृत नागरिकता पाएकालाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्ने भन्दै गरेको आन्दोलनमा आदिवासी जनजाति समुदायले समर्थन गर्नु राष्ट्र घात भएको आरोप लगाउनुभयो । आदिवासी जनजातिलाई अहिलेकै सात प्रदेश नै उपयुक्त भएकाले यस भन्दा बढी अधिकार नखाज्न चेतावनी दिनुभयो । देशै नरहे आदिवासी जनजाति नरहने तर्क गर्दै गुरुङले आदिवासी जनजातिले पहिचानका नाउँमा गरिरहेको उग्र आन्दोलनले मुलुक बिखण्डनमा जाने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा महासंघका पूर्व महासचिवहरु सुरेश आले मगर, परशुराम तामाङ, ओम गुरुङ, पूर्व अध्यक्षहरु राजकुमार लेखी, पासाङ शेर्पा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ लगायतले बोल्नुभएको थियो । वक्ताहरुले अबको आदिवासी जनजाति आन्दोलन एकतावद्ध भएर पहिचान र अधिकार प्राप्तिका लागि केन्द्रित हुनुपर्ने जिकिर गरेका थिए ।

नवौं महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेबाट चितवनस्थित कला मन्दिरमा सुरु हुने महासंघका महासचिव पेम्बा भोटेले जानकारी दिनुभएको छ । बन्दसत्रका लागि आवश्यक सबै तयारी पूरा भएको बताइएको छ । त्यस्तै विभिन्न जातीय संस्था र सम्बन्धन प्राप्त संस्थाहरुका प्रतिनिधि र पर्यवेक्षकहरुका लागि खाना र आवासको प्रवन्धन राम्ररी मिलाइएको महासंघ नवौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सचिवालयले जनाएको छ ।

महासंघमा आबद्ध विभिन्न ५६ जातिका दुई महिला र दुई पुरुष गरी चार जना प्रतिनिधिका दरले बन्दसत्रमा सहभागी हुनेछन् । महासंघको संघीय परिषद् सदस्यहरु, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका जातीय प्रतिनिधि र फोनिज, युवा, महिला महासंघ, प्रवास लगायतका प्रतिनिधि र पर्यवेक्षक समेत महाधिवेशनको बन्दसत्रमा सहभागी हुनेछन् ।


फोटो / सुसन राई
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।