काठमाडौँ, २५ मङ्सिर । ‘खनाइदेऊ रित्तेको गिलास अलिकति
हेरूँ तिम्रो हँसिलो गन्धले छेक्न सक्छ कति
पिउने नै भएपछि मस्तसँग तिमीसँगै
सुम्पिदिन्छु आफैँ तिमीले अँगाल्न सके जति ।’ (पुष्कर लोहनी)
नुवाकोट साहित्य प्रतिष्ठान नेपालले ‘नेपाली मुक्तक’(फिजराल्डको शैली अनुसार) पत्रिका प्रकाशनमा ल्याएको छ ।
बेलायतका कवि तथा लेखक एडवार्ड फिजराल्ड(१८०९–१८८३)ले ‘ओमर खैय्यामका रुवाइयात’को सन् १८५९मा पर्सियाली भाषाबाट अङ्ग्रेजीमा अनुवाद थालेका थिए । खैय्याम पर्सियाका कवि, गणितज्ञ र खगोलशास्त्री थिए । भनिन्छ, उनको रुवाइ (नेपालीमा हाल मुक्तक भनिन्छ)लाई उनको मृत्युपछि फिजराल्डले पसलेले जिरामरिच पोको पारेर दिएको कागजमा भेटेका थिए ।
चार हरफमा लेखिएको रुवाइलाई नेपालीमा वासु शशी, आनन्ददेव भट्ट, नारायणप्रसाद बाँस्कोटा लगायतले अनुवाद गर्नुभएको थियो । पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास मिलाइने तर तेस्रो हरफ भने अनुप्रासरहित हुने मुक्तक, कविता विधामा चोटिलो मानिन्छ ।
‘नेपाली मुक्तक’मा भने चारै हरफ रहे पनि हरेक पङ्क्ति आठ आठ शब्दमा विश्राम दिई सोह्र अक्षरमा लेखिएको छ जसमा तेस्रो हरफ लेख्दा रुवाइमा जस्तै अलिकति ठाउँ छाडिन्छ । “हाम्रा गीता, भजनकीर्तन र अरु श्लोकमा सोह्र अक्षर नै छन्, हामीले त्यसैलाई अनुकरण गरेका छौँ” पहिलो अङ्कमा समाविष्ट मुक्तककार पुष्कर लोहनीले भन्नुभयो ।
राजकुमार बानियाँ सम्पादक रहेको सो पत्रिकाको पहिलो अङ्कमा विष्णुबहादुर सिंह र श्रीराम श्रेष्ठका पनि सोही ढाँचामा मुक्तक प्रकाशित छन् । नेपाली मुक्तककारहरुले तेस्रो हरफ बिगारेर चार पङ्क्तिमा जति अक्षरमा लेखेको कवितालाई पनि मुक्तक भन्ने गरेकामा लोहनीले आपत्ति जनाउँदै ‘नेपाली मुक्तक’ नयाँ आन्दोलनका रुपमा निस्केको जिकिर गर्नुभयो । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।