– कमन देवान
यतिबेला तिहारले छोपिरहेको कालो रातमा झिलिमिली उज्यालोको उक्ति निक्कै सान्दर्भिक कथन बनिरहेको समय छ । रातो माटो, चिप्लो बाटो, लड्दैपड्दै होस् वा छानामाथि घिरौंला, के के दिन्छौ हेरौंला आदि श्रुतिप्रिय लय सुन्न पर्खिरहेको नेपाली कान ‘लोकमान’ सुनेर आजित छन् । देशका लोक लोकतन्त्रको जोक हेरेर, देखेर, सुनेर, भोगेर र यसबाट पिल्सिएर मर्माहत छन् । लोकमानतन्त्रको अट्टाहस मजाक बोकेर शाहीतन्त्रका अन्तिम मुख्तियार लोकमानसिंह कार्कीको कथन देश दुनियाले हजमोला खाँदै पचाइरहन विवश छन् । समग्रमा, यो पल्टको तिहारलाई लोकमानको लोकमानतन्त्रले निक्कै बेस्कन गाँजेको प्रतीत भइरहेछ । सर्वत्र लोकमान नाइकेका रूपमा उदाएका छन् ।
असली लोकमानहरू उनका विरुद्ध उभिएको नाटक गरिरहँदा लोकमान भने आफूलाई थप शक्तिशाली भएको भ्रम छरिरहेका छन् । त्यसैले एकै वाक्यमा भन्नुपर्दा लोकमानतन्त्रले मुलुकको लोकतन्त्र र लोकतन्त्रका मसिहा भनिएकाहरूको सातोपुत्लो उडाएर मसानघाट पुर्याएको छ । लोकले हेरिरहेको रमितामा तिहारको झिलिमिली र मखमली, रौनक र रमझम, त्रिपासा र मदिरा भन्दा लोकमानतन्त्रकै बोलवाला रोमाञ्चक बन्दो छ । बेहिसाब, बेलगाम, बेपर्वाह र बेफिकर यो देशमा लोकमानतन्त्र बडेमानको त्रासदी बन्नुलाई कसरी जनताले चाहेका र अँगालेका सपनाहरूसँग तुलना गर्न सकिएला र कठै !
कानुन, नियम, नीति र निर्देशिकालाई तकिया बनाएर मस्तराम मनोमानीतन्त्रको बाँसुरी बजाउने ‘नुरो’ बनेका लोकमानको छत्रछायाँमा अरु झ्याउँकिरी बाजाहरू बजाउनेहरू हामी भन्दा टाढाका जन्तु होइनन् । महाशय ! कतै झुक्किनु भयो भने स्मरण होस् ती हामीले नै बनाएका शासक हुन् । ती तिनै हुन् जसले आफ्ना देशद्रोही अनुहारमा देशभक्त र कथित राष्ट्रवादको मुकुण्डो भिरेका छन् । तपाई हाम्रै खुन र पसिनाबाट जम्मा भएको राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाएर आलिसान महल बनाएका छन् । भन्दा अप्ठ्यारो र सुन्दा अपत्यारिलो लाग्ने सत्य देख्दा सजहै स्वीकार्नुपर्ने बेथितिको चलन चलाउने अरु कोही होइनन् । हामीले संसद् र मन्त्रिमण्डलमा पठाएका माननीय र सम्माननीयहरू नै हुन् । गाउँ विकास समिति, जिल्ला विकास समिति, विभिन्न विभाग, मन्त्रालय आदिको मुख्तियारी लिएका सरकारका मान्छेहरूमध्ये कति जनाले काठमाडौंमा तलौंतला महल ठड्याएका नहोलान् ? सोच्दा मात्रै पनि अपराध हुने समय आएको छ । हो, त्यसै कारण त लोकमानहरूलाई चाबी बुझाइयो, संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ।
स्पष्टै छ, लोकमान शाहीतन्त्रका तन्नाम मुख्यसचिव थिए । लोकमान शहीतन्त्रका भरोसायोग्य पात्र थिए । किनकि उनको उन्मत्त हुकुम चलेको शाहीतन्त्र नेपाली जनताका निम्ति राणा कालारात्री समान संकट र अप्रिय शासन थियो । अपवादमा कमल हिलोमा फुले पनि लोकमान कचेडा नै थिए, जो दुर्गन्धको नाइके थिए । जनताले जितेको युगपछि जनताकै बलमा ल्याएको लोकतन्त्र र गणतन्त्रमा लोकमानलाई लोकतन्त्रको धज्जी उडाउने सर्वाधिकार दिएर टंगाल छिराउने महापाखण्डहरूले तिनै कचेडाको सहारा किन लिए ? जनतालाई यसको पनि उत्तर थाहा छ । तर, यी ती जनता हुन््, जो भ्रष्टहरूकै कीर्तन गाएर यगौंदेखि अफिमको नशामा लठ्ठिएका बेसुरे बनेका छन् । जनता भनेकै लोक हो । तब न लोकको लोकाचारको हुर्मत झार्न पुष्पकमल दाहाल (पकुदा), खड्कप्रसाद ओली (खपओ), शेरबहादुर देउवा(शेबदे)लगायतले लोकमानलाई बैसाखी बनाएर टेके । तर, दूध पिलाएर हुर्काएको सर्पले नै डसेर मर्नुपर्ने मुर्खताको दृष्टान्तलाई लोकमानले किन बाँकी राख्थे र ! असफलताको शृंखलामा लोकमान दूधले नुहाएरै चोख्याइए । उनको कुकर्म चोखिन सक्दैनथ्यो । न त लोकमानलाई दूध खन्याउने र आभूषणले बेर्नेहरू नै दूधले नुहाएका थिए । गधा नुहाएर गाई नहुने सत्यको पक्षमा समयले कहिल्यै झेल गरेन । समयले त्यहि बक्यो, जो सत्य बक्नुपथ्र्यो । तर, सबै भन्दा झुर काण्ड भन्नु भ्रष्टले नै अरु भ्रष्टहरूकै जरो उखेल्ने धृष्टता गर्यो । अमिल्दो र अपत्यारिलो यो सत्यले आज नेपाली राजनीतिको पटांगिनीमा रामलीला मच्चाइरहेको छ । लोकमानका भोकमानहरू त्यसैले उनलाई महाअभियोगको लिसोपासोमा पारेर आफ्ना कर्तुत छोप्त ताम्सिएका छन् । यो तमास देशका लागि नयाँ प्रहसन बनेको छ ।
दोस्रो जनआन्दोलनमा जनतामाथि बर्बर दमन गरेर लोकमानले आफ्नो असली रूप देखाइसकेका थिए । तर, जनताले जितेर ज–जसलाई सत्ताको बागडोर सम्हाल्ने अवसर दिए, तिनै युगका पाखण्डहरूले कुम र घाँटी जोडे लोकमानसँग । त्यसै दिनदेखि वास्तवमा लोकतन्त्रको मर्ममाथि निर्लज्ज र दिनदहाडै खुल्लमखुल्ला बलात्कार भएको थियो । तथापि, लोकमानको लोकमानतन्त्रले भ्रष्टाचारको सानामसिना जालो सफा गर्ने नाउँमा उही भ्रष्टाचारकै खेतीलाई युरिया लगाउने काम गरेकै हो । इमान नगुमाइ लेख्दा लोकमानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबैतिर आफ्नो विषधारी फँडा फिजाएकै हो । ठूलालाई छानेर कम्जोर र पहुँचहीन केही भ्रष्ट कर्मचारीमाथि डसेकै हो । देशका जनार्दनले देखाएको मूर्ख समर्थनमा लोकमान फेरि जयजयकारको पात्र पनि बने । तर, सत्यको खोलो फर्कियो ।
लोकमानले पोखरीका साना माछा निल्दै बडेमानको आकार बनाएपछि ठूला माछा निल्ने हुँकार गरे । दुई दिनअघि देशमा अप्रत्यासित हल्ला फिँजाइयो । भ्रष्ट पोखरीका ठूला माछाहरूले अप्रकृतिक एकता गरेका छन्, अब लोकमानविरुद्ध एक भएर लड्ने । लोकलाई यो पनि पचेकै छ । पुकदा, खपओ र शेबदेहरू लोकमानका संरक्षकहरू नै हुन् । तथापि, आफ्ना पनि पोल खुल्ने त्रासले उनकै किरियाका लागि सौदापात खरिदमा लागेका छन् । दुर्भाग्य, तिहार र छठसम्मलाई कर्मकाण्ड नै रोकेर संसद्की माउ भैलेनीको रिहर्सर गर्न कता पुगिन् ठेगान छैन । अब छठपछिसम्मलाई बाँकी रमिता रोक्किएको छ । लोकाचारले देख्दा कुरीकुरी भने पनि हामी नलजाउने नेपाली । हामीलाई के को टनटन ! लोकको अपमान गर्ने हाम्रो लोकतन्त्रमा लोकमानहरूको उदय र पुनरोदय विभिन्न रूप, स्वरूप र भेषमा हुने नै छ । बाँकी नाटकका लागि केही समय कुरौं । पर्दा खुल्नै लागेको छ । आखिर यो नाटक हेर्न पैसा तिरिरहनु पर्दैन त ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।