काठमाडौं, ११ कार्तिक ।
वर्तमान सरकार गठनमा सहयोगी भूमिका निर्वाह गरेको संघीय गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग बारे फरक मत सार्वजनिक गरेको छ । प्रमुख आयुक्त कार्कीलाई नियुक्त गर्ने दलहरू नै अहिले सत्तामा रहेको भन्दै गठबन्धनले नियुक्ति गर्नुपर्ने कारण र किन महाअभियोग लगाइयो ? भन्ने बारे सार्वजनिक नगरेसम्म केही प्रतिक्रिया नदिने जनाएको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै महाअभियोग लगाउने दलहरूसँग स्पष्ट धारणा माग गरेको हो ।
बिहीबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धन बैठकपछि जारी विज्ञप्तिमा संविधान संशोधन गरी प्रदेशको संरचना स्पष्ट नगरेसम्म स्थानीय तहको पुनर्संरचना नमान्नेसमेत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनले सीमाङ्कनको विषय टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिनेसमेत निर्णय गरेको हो ।
गठबन्धन बैठकले प्रधानमन्त्री निर्वाचनको बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीय गठबन्धनसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा समस्यालाई अझै अल्झाउने, आशंका उत्पन्न गर्ने, विश्वासको वातावरण बिगार्ने र गठबन्धनको मुद्दालाई ओझोलमा पार्ने भूमिका खेलेको आरोप लगाएको छ । तीन बुँदे सहमतिप्रति पूर्ण रुपले प्रतिबद्ध हुन पनि गठबन्धनले सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।