जनकपुर, ९ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्ममा संविधान संशोधन विधेयक नआए देशमा विद्रोह सुरु हुने बताउनुभएको छ ।
मंगलवार संघीय प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफ्नो मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए नयाँ जनक्रान्तिसहित जनआन्दोलनमा जाने चेतावनी दिनुभएको हो । यादवले भन्नुभयो –‘संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिला लगायत उत्पीडनमा परेकाहरुका लागि विद्रोह नै एकमात्र बाटो हुने छ ।’
फरक प्रसङ्गमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे आफूहरुलाई थाहा नभएको बताउनुभयो । कार्कीमाथि लगाइएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको भन्दै यादवले भन्नुभयो –‘दर्ता गराउने दलले त्यस विषयमा हामीसँग कुनै छलफल गरेकै छैनन् । त्यसैले अहिले यो हाम्रो विषय रहेन ।’ महाअभियोग लगाउनेहरु नै बिगतमा कार्कीलाई नियुक्त गरेको भन्दै उहाँले थप भन्नुभयो –‘तर महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो आफूहरु मान्य हुँदैन ।’
यादवले स्वायत शासन, प्रादेशिक संरचना सहितको स्रोत साधनमा समानुपातिक समावेशी ढंगबाट सहभागिता र वितरण हुने लगायतका अधिकार संविधानमा नसमेटिएसम्म आफूहरुलाई यो संविधान मान्य नहुने जिकिर समेत गर्नुभयो ।
संघीय प्रेस फोरम धनुषाका अध्यक्ष रामनारायण कापडीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेश प्रदेश समितिका अध्यक्ष रेणु यादव, मुख्य सचिव शम्भु झा, सचिव शेषनारायण यादव र सांसद उर्मिला साह लगायतका उपस्थिति रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।