दमक, ६ कार्तिक ।
वरिष्ठ साहित्यकार राजन मुकारुङले नेपाली साहित्यमा मौलिकतालाई प्रथमिकता दिनुपर्ने बताउनुभएको छ ।
शनिबार झापाको दमकमा रुबाइ मञ्च नेपालबाट आयोजित पुस्तक विमर्श कार्यक्रममा बोल्दै मुकारुङले नेपाली मौलिकताले मात्रै नेपाली साहित्यको उचाइ निर्माण गर्ने बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएको मुकाङले भन्नुभयो –‘नेपाली मौलिकताअनुसार साहित्यलाई लेखिन जरुरी छ । हाम्रा बालन, देउडा, पालाम, ख्याली आदि ओझेलमा परेका छन् । यिनको उठान नगरे नेपाली मौलिकताको साहित्य मर्छ ।’
झापाको दमकस्थित होटल एसजेमा आयोजित कार्यक्रमका बीच मोरङको शनिश्चरे शरणार्थी शिविरबाट तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अष्ट्रेलिया पुनर्वास भएका स्रष्टाद्वय रिमेन आलोक र दूर्गा रिमालको देश हराएको रात र भूगोलको नाशो गजल संग्रह बारे विमर्श गरिएको थियो ।
कार्यक्रममा बोल्दै साहित्यकार केशव आचार्यले सात समुद्र पारीका स्रष्टाहरूले गरेको सृजनालाई दमकमा ल्याएर चर्चा गरिनु सितिमिति कुरो नभएको चर्चा गर्नुभयो । दुई कृतिमाथि साहित्यकारहरू शिव रेग्मी प्रणत, सुमित्रा बाङ्देल चेली, सुन्दर कुरूप र भूपेन्द्र तिम्सिनाले बोल्नुभएको थियो । स्रष्टाद्वयले संग्रहमा देश प्रेमको वकालत गरेको तर कता कता संरचनालाई ध्यान दिँदा भाव पक्षलाई बिर्सेको चर्चा गरेका थिए ।
स्रष्टा जितेन मुस्कानले भूटानी सहित्यको लेखनमा त्यहाँको वास्तविक इतिहास लेखन कार्य नभएको टिप्पणी गर्नुभयो भने याम थुलुङले अभाव र रहरका बीच भुटानी शरणार्थी शिविरबाट सिर्जनाको यात्रा सुरु गरेका स्रस्टाद्वयले पुस्तक प्रकाशन गरेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरू विवश वलिभद्र कोइराला, कृष्ण घिमिरे, विराट किराती, चन्द्रा चाम्लिङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष कान्छाबाजेले स्वागत गर्नुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।