काठमाडौं, ३० असोज ।
वैदेशिक रोजगारीका लागि अफगानिस्तान जान सरकारले लगाएको प्रतिवन्ध फुकुवा भएको छ ।
पछिल्लो सरकारी निर्णयले अफगानिस्तानमा सेक्युरेटी गार्डमा जान र ग्रिन जोनका कामदारका लागि श्रम स्वीकृति दिने बाटो खुलेको छ ।
दशैंअघि नै बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा नेपाली कामदार लैजान लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले सञ्चार माध्यमहरूलाई जानकारी दिनुभएको हो ।
गत असार ६ गते काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि नेपाल सरकारले अफगानिस्तानमा नेपाली कामदार लैजान रोक लगाएको थियो । सरकारले मृतक नेपालीहरुको शवसहित स्वदेश फिर्न चाहने केही नेपाली घर फर्किएका थिए ।
घटनाबारे छानविन गर्न बनेको सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए मात्र फेरि नेपाली पठाउन सकिने प्रतिवेदन दिएको थियो । श्रम मन्त्री गुरुङका अनुसार अफगानिस्तानमा नेपाली सेक्युरेटी गार्डलाई आँकलन गरिएजस्तो सुरक्षा चुनौति नभएको देखिएले प्रतिवन्ध हटाइएको जानकारी दिनुभयो । रोजगारदाता कम्पनीसँग कामदारलाई कार्यस्थानमै आवासको व्यवस्था गर्नुपर्ने शर्त राखिने सरकारी तयारी छ । त्यसो हुन नसके कामदार कार्यालय जाँदा र कार्यस्थलबाट आवास फर्किँदा उच्च स्तरको सुरक्षा दिने ग्यारेन्टी माग गरिने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।
वैदेशिक रोजगार विभागले भने सरकारी निर्णयबारे औपचारिक जानकारी नआएको जनाएको छ । निर्देशन पाउनासाथ अफगानिस्तानका लागि श्रम स्वीकृतिको प्रक्रिया सुरु गर्ने विभागका प्रमुख कृष्ण दुवाडीले जानकारी दिनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।