हाङयुग अज्ञात
मैले रोपेको रूख
काङ्ग्रेसको चुनाव चिन्ह थिएन
ओ, सपनाको ठेकेदार !
किन उखेलेर मार्यौ, किन ?
हुर्किन दिएको भए
घरमा फलेक हालेर जीवनलाई ओत दिन सक्थ्यौ
फ्वाँ ! फ्वाँ ! आगो फुकेर
नानीहरूलाई तातो भात खुवाउन सक्थ्यौ
सारङ्गी खिपेर
झलकमान गन्धर्व जन्माउन सक्थ्यौ
च्याब्रुङ र मादल बनाएर मयुर झैं नाच्न सक्थ्यौ
भरेङ हालेर
घरको सिरान तला उक्लिन सक्थ्यौ
साँघु तानेर अर्को गाउँ पुग्न सक्थ्यौ
खाँबो गाडेर घरहरू उभ्याउन सक्थ्यौ
मैले रोपेको रूख विषवृक्ष थिएन
तेसले निर्बाध हुर्किन पाउनु पर्थ्यो
तेसले निर्बाध अग्लिन पाउनु पर्थ्यो
रूखले धेरै थोक बनाउन सक्थ्यौ
टेबुलमा योजनाहरू बुन्न सक्थ्यौ
बेन्चमा विद्यार्थीहरू पढाउन सक्थ्यौ
कुर्सीमा असल नेता बसाउन सक्थ्यौ
हलो ताछेर बाँझो खेतहरू जोत्न सक्थ्यौ
डुङ्गा खोपेर माझी दाई बन्न सक्थ्यौ
कागज बनाएर देशको इतिहास लेख्न सक्थ्यौ
मैले रोपेको रूख
हुर्किन दिएको भए
बन्दुकको दबास बनाएर
आफ्नै युद्ध पनि लड्न सक्थ्यौ
मैले रोपेको रूख
काङ्ग्रेसको चुनाव चिन्ह थिएन
ओ, विपनाको दलाल !
किन उखेलेर मार्यौ, किन ?
[काव्य शिविर २०७३]
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।