कमन देवान
दमक, २८ असोज ।
अन प्लग कविता साँझको शुक्रबारको बसाइमा थिए, पूर्वका चर्चित कविहरू अभागी थेगुवा, सुमित्रा वाङदेल चेली र एकु घिमिरे । शक्तिशाली कविहरूलाई झापाको दमकमा उतार्दैआएको लिटिररी ग्रुप दमकले पाँचौ शृंखलाका लागि यी हस्तीहरूलाई निम्त्याएको थियो । गजलकार विवश बलिभद्र कोइरालाले उनीहरूको परिचय गराएसँगै कविताको पन्तेरो खोले, थेगुबाले । मोफसलको मान्यता भत्कँदै गए पनि थेगुबाको कविताको उठान नै ‘काठमन्डुलाई खबर सुनाइ दिनुहोला’बाट सुरु भयो । ५० को अन्त्यतिर पहिलो कविता संग्रह पस्केका अभागीले प्रयोगका लागि लेखेका दुई वटा गणितीय कवितामामार्फत समाजमा विद्यमान वर्गीय विभेदमाथि प्रहार केन्द्रित गरे भने नयाँ नेपाल शीर्षकको कविताबाट उनले भने –नेपाली जस्तो हुन्छौं, नेपाल त्यस्तैहुन्छ । लिम्बू प्रचलनलाई कवितामा उनेर ‘सुदुर सम्झनाकी तरेमा’ कवितामार्फत बिगततिर फर्कन खोजेका उनी भन्दै थिए, तिम्रो नाम जब्दाजब्दै आफ्नो नाम लेख्न पो बिर्सिएछु । उनका गहकिला शव्दमा कविता सुन्न उपस्थितमाझ थेगुबा भन्दै थिए –‘कवितामा प्रयोग गर्न मन पर्छ, कविता भए पनि नभए पनि ।’
अभागीलाई पालो दिँदै कविता वाचन थालेकी सुमित्रा वाङदेल चेलीले भानुभक्त बालाई चिठीमार्फत प्रश्न गरिन् – बा तपाइले बधु शिक्षा नलेखेकेहुन्थ्यो ? आधा दर्जन बढी कविता सुनाएकी उनले थपिन्, हामी नारीहरु मान्छे भएरबाँच्नपाउँ । यस्तै नारी आग्रह, चेतना र विद्रोहका शव्दशिल्प उनेर सुमित्रा वाङ्देल चेलीले करिब आधा घण्टासम्म उपस्थित माहोललाई स्तव्ध पारिन् । र, आफ्नो पालोको अन्त्य गर्दै उनले ‘सम्झना’ कवितामार्फत टुङ्ग्याइन् –
तिमी नजिकिँदा पनि मुटु दुख्छ
तिमी टाढिँदा पनि मुटु दुख्छ
थेगुवा र चेलीलाई पालो दिएर पाँचौं शृंखलाको अन्तिम सेलिब्रेटीका रूपमा उभिएका पूर्वेली कवि एकु घिमीरेले दमकको कवि माहोलमा उभिन पाउँदा आफू सम्मानित भएको जिकिर गर्दै सुरु गरे, ‘सम्मानित म’ कवितामार्फत । भूटानी स्रस्टा याम थुलुङतर्फ इंगित गर्दै उनले वाचन गरेको मातृभूमि कवितामा उनी भन्दै थिए, सिङ्गो विश्व सबैको लागि मातृभूमि हो । प्रेमिल कुरा दोहोर्याउँदै एकु भन्दै थिए –मैले नदी भनँे, तिमीले खहरे सम्झियौ । नारी अस्मितामाथिको खतरा बारे उनको कविताले बोल्यो –कुकुरको बथानमा मासु जोगाएर हिँडे जस्तै डर छ उसलाई । कुर्कुरे वैंशमा भेटिएर हराएकी आफ्नी पूर्व प्रेमिकालाई कवितामा भेट्दै उनले दर्शक स्रोतामाझ सुनाए –मेरी लालीगुराँसलाई धेरै वर्षपछि आज मैले निरस देखेँ । २५ मिनेट वाचन समय पाएका उनी आधा दर्शन सशक्त कवितामा जमे ।
पूर्वेली कविहरूको शुक्रबारे साँझ निक्कै तालीमय बन्यो । खँचाखँच हलमा उपस्थितमाझ कवि कृष्ण बरालले कविताको गहनता असामान्य भएको सुझाइरहेका थिए भने नियमित जसो अन पल्ग साँझमा उपस्थित भइरहने स्वास्थ्य सेवी बालचन्द्र सुब्बाले पाँचौं शृंखलालाई पनि बिगतका कार्यक्रम झैं सफल पार्न आग्रह गरेका थिए । लिम्बू विद्यार्थी मञ्चको विशेष कार्यक्रममा हुने फेशन शोका लागि लिडिङ गरिरहेकी पूर्व मिस नेपाल सुविन लिम्बू अन प्लगको माहोलमा मिसिएकी छन् भन्ने बारे धेरैलाई थाहा थिएन । कार्यक्रम चलाइरहेका सुन्दर कुरूपले अचानक उनको नाम लिँदा धेरैले अनौठो पनि माने । सुविनले आफू साहित्यको साङ्गोपाङ्गो खुट्याउन नजान्ने भन्दै सतर्कताका साथ कुरा राखिन् । उनले भनिन् –‘तर, म पुस्तकहरू पढ्न भने निक्कै रुची राख्छु ।’
पूर्वका दिग्गज साहित्यकार केशव आचार्यदेखि अघिल्लो शृंखलाका सेलिब्रेटी देवान किराती, सशक्त कवि जितेन मुस्कानसहित तीन दर्जन बढी स्रस्टाहरू दशैं बिदा गरिनसक्दै दमकको कविता माहोलमा झुमिएका थिए । कविता सुन्नैका लागि उपस्थित हुनेका लागि दशैंले छेकेको थिएन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।