कमन देवान
पुनर्वास अन्तिम चरणमा आइपुग्दाको शरणार्थी शिविर बेलडाँगी २
कुनै समय थियो । झापा दमक–५ को बेलडाँगी बजारमा साँझ पर्नलागेपछि मान्छेले खुट्टा टेक्न हम्मे पथ्र्यो । स्थानीय एवम् दमकस्थित युनिक कलेजमा पत्रकारिता विषय अध्यापन गरारहेका शिक्षक डिकेश लामाले भने –‘अहिले त यो बजार मसानघाट जस्तै सुनसान भएको छ ।’ हुन त पहिले पिरपिरे चौक नामले पनि चिनिएको बेलडाँगी २ (भूटानी शरणार्थी व्यवस्थापनका क्रममा राखिएको नाम) को यो बजारलाई शिविर र बाहिरकाले जुराएको अर्को जनबोलीको नाम थियो बाङ्गे बजार । सन् २००७ मा भूटानी शरणार्थीहरूलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भयो र २००८ देखि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले अमेरिका र अन्यत्र मुलुकहरूमा स्थान्तरण सुरु गर्यो । त्यसपति त यो बजारको नामै फेरियो । शिविरमा रहने र तेस्रो मुलुकका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को सेतो गाडी चढेर विदेशिनेहरूका बीच यो बजार चौक नै अन्तिम पटक बिदाइको हात हल्लाउने स्थान बन्यो । छिमेकी–छिमेकी छुट्टिनै, आफन्त–आफन्त छुट्टिने र कतिपय अवस्थामा त एकै परिवारका बीच पनि कागजपत्र नमिल्दा र स्वइच्छाले विदेश जान नचाहने जस्ता कारणले बेलडाँगी २ बजारलाई बाङ्गेबाट नयाँ नामाकरण गर्न थालियो –रुन्चे चोक । बिछोड र बिदाइमा अन्तिम पटक यहि चोकबाट गला लगाएर छुट्टिने, भक्कानिदै रोएर बिदाइ गर्ने र फेरि भेट्ने झिनो आशासहित संकल्प साँच्ने चोक पनि बन्यो रुन्चे चोक ।
रुन्चे चौकबाट बेलसिटी
तर, यतिबेला पिरपिरे चौक उर्फ रुन्चे चौकमा रुनेहरूको ताँती देख्न कमैमात्र पाइन्छ । कारण झापाका विभिन्न शिविर र मोरङको पथरीस्थित शिविरमा रहेका भूटानी शरणार्थीमध्ये एक लाख चार हजार जना (युएनएचसिआरको पछिल्लो जानकारी अनुसार) तेस्रो मुलुक पुगिसकेका छन् । जसमा ८८ हजार दुई सय ९९ जना अमेरिका पुगेका हुन् भने छ हजार सात सय १२ जना क्यानडा पुगेका युनएचसिआरको तथ्यांकमा उल्लेख छ । अष्ट्रेलियाले पाँच हजार आठ सय ६१ शरणार्थीलाई नाना, माना र छाना उपलब्ध गराएको छ भने न्यूजल्याण्डले एक हजार नौ जनालाई आफ्नो मुलुकमा प्रवेश दिएको छ । हजार भन्दा मुनिको संख्यामा डेनमार्कले आठ सय ७५, नर्वेले पाँच सय ६६ र सबै भन्दा थोरै बेलायतले तीन सय २९ भूटानी शरणार्थीलाई स्थान्तरणको मौका दिएर उनीहरूको निजी जीवन सुधार्न मद्दत गरेकै मानौ । हाल भने शिविरमा स्वदेश फिर्ति (भूटान नै जान चाहने) र पुनर्वासका लागि फारम भरेर उड्ने समय कुरिरहेका १४ हजार सात सय ५० जना शरणार्थी बेलडाँगी र पथरीको शनिश्चरे शिविरमा छन् । शरणार्थी प्रमाणीकरणमा नपरेका अन्य केही संख्यामा मानिस बाँकी छन् ।
पुनर्वास कार्यक्रम सुरु भएयता शिविरभित्र केही हिंसात्मक गतिविधि पनि भए । शिविरभित्र अर्धभूमिगत र खुला रूपमा राजनीतिक गतिविधि चलेकै थिए, त्यसपछि झन चम्किए । शिक्षक लामाले थपे –‘पसल बढ्दै गए, बजार तलतल बस्तीसम्म फैलियो । आसपासमा प्लटिङको त कुरै नगरौं । मानौं दमक बजार नै यतै सरे झैं लाग्थ्यो ।’ तर, पनि रुन्चे चोकमा रुनेको र दिउँसै खुट्टा बटार्दै ‘खाए त खाँए, तेरो बाउको खाँए?’ भन्दै च्यालेन्ज दिनेहरूको पनि कमी थिएन । तर, दशैंको मुखमा बेलडाँगी शरणार्थी शिविर पुग्दा यो बजार र शिविरको जनजीवन डरलाग्दो हुरी चलेर रोक्किएपछिको चकमन्नता झैं शान्त लाग्थ्यो । भयवित भने थिएन ।
आधा परिवार विदेशमा र आधा शिविरमा रहँदा धेरैका घरमा दशैंले रौनक नल्याएको देखिन्थ्यो । अर्कातिर बलियो बाङ्गा सबै विदेशिएपछि रोगी, असाह्य र असक्तहरूको संख्या शिविरमा धेरै छ । दातृ निकायहरूले रासनमा गर्दै लगेको कटौतीले चाडबाड भनेजसरी मनाउन पनि उनीहरूको ल्याकत नपुग्ने देखिन्छ ।
बेल सिटी र भूटानी शरणार्थीको योगदान
बेलडाँगीलाई अमेरिका स्थान्तरण भएपछि यतैको रैथाने बन्न लागेका भूटानी शरणार्थीहरूले नै नयाँ उपमा पनि थपे । विश्वकै भीडभाडयुक्त शहर भनेर चिनिने न्यूयोर्क सिटीलाई तुलना गरेर यसको नयाँ नामाकरण भो – बेलसिटी । जहाँबाट झापामा रहेका र अमेरिका, क्यानडा, न्यूजील्याण्ड, अष्ट्रेलिया, नर्वे, डेनमार्क र अन्यत्र मुलुक पुगेका शरणार्थी आफन्त र परिवारका बीचमा हाइस्पिडको इन्टरनेटमार्फत मल्टिमिडिया भलाकुसारी हुन सुरु भयो । यो पनि बेलडाँगी उर्फ बेलसिटीका लागि इतिहास बन्नै लाग्यो ।
शरणार्थी पुनर्वासपछि नेपाल टेलिकमको दमकस्थित कार्यालयले बेलडाँगीलाई केन्द्रित गरेर रिपिटर क्षमता बढायो भने तत् समयको मेरो मोबाइल हालको एनसेलले त टावर नै गाढेर आफूले दिँदै आएको सेवा गुणस्तरमा उल्लेखनीय वृद्धि गर्यो । वल्र्ड लिंक जस्ता इन्टरनेट प्रदायक कम्पनीहरू पनि बेलसिटीमा अवतरण गरे । आधुनिक बेलसिटी चरम निरासा र अभावको घानबाट अचानक हाइस्पिड इन्टरनेटको भर्चुअल दुनियामा आइपुग्यो । तर, पुनर्वासको रौनक बनेका यी चमत्कारिक घटनाहरू क्रमशः स्थानीयका मानसपटलबाट विस्मृति बन्दै गएका छन् ।
दमकका पुराना पत्रकार विष्णु सुब्बाका अनुसार भूटानी शरणार्थी पुनर्वासपछि दमक क्षेत्रमा विभिन्न कार्यका लागि जनशक्ति घटेको छ । ‘पहिले शिविरका दक्ष शिक्षकले यहाँका निजी विद्यालयहरूमा शिक्षण गर्थे । कम पारिश्रमिकमा गुणस्तरीय सेवा दिन्थे । पुनर्वासपछि त्यो रहेन ।’ पत्रकार सुब्बाका अनुसार भूटानी शरणार्थी पुनर्वास जानुभन्दा अघि दमक लगायत आसपासका जिल्लाहरूमा भौतिक निर्माणलगायत सबै क्षेत्रमा कामदार पाउन मुस्किल थिएन । उनी स्मरण गर्छन् –‘करिब डेढ दशकका बीचमा दमक र आसपासको क्षेत्रमा जे जति विकास भए, त्यसमा उनीहरूको श्रम, सीप र पसिना बगेको छ । यो हामीले कहिल्यै भूल्नु हुँदैन ।’
रेमिट्यान्समा उतार चडाप
बेलसिटीमा रूपान्तरित रुन्चे चौकमा पुनर्वासपछिको अर्को ठूलो उपलब्धि भन्नु विप्रेषणको थालनी । अमेरिका र अन्य मुलुक पुनर्वास भएकाहरूले शिविरमा छोडिएका आफ्ना र आफन्तहरूलाई रेमिट गरेर खर्च पठाउन थाले । सन् २००८ देखि सुरु भए पनि २०१० देखि भने बेलडाँगीमा रेमिट्यान्सले बलियो गरी जरो गाढ्यो । २०१२ देखि १४ सम्म त बेलडाँगी क्षेत्रमा मात्रै तीन दर्जनको संख्यामा रेमिट सेवा खुले । तत् समयको कारोबार सम्झँदै बेलडाँगी २ का रेमिटेन्स व्यवसायी भीम भट्टराई भन्छन् –‘यहाँका अधिकांश रेमिटेन्स व्यवसायीले त्यसबेला मासिक एक करोड भन्दा माथि कारोबार गर्थे । अब त्यस्तो स्थिति रहेन ।’ उनका अनुसार तेस्रो मुलुक पुनर्वासमा जानेको संख्या बढेसँगै व्यापार घट्यो । ‘पहिले आधा आधा संख्या नेपालमा र विदेशमा थियो । आफ्ना आफन्तले विभिन्न प्रयोजनका लागि पैसा पठाउँथे । अब गएकाको संख्या उच्च भयो । यता रहने कम भए । पैसा कम आउँछ ।’
बेलडाँगी क्षेत्रमै रेमिट्यान्सको ब्यापारमा हात हाल्न पहिलो पटक हिम्मत गरेका उनले भने –‘अब दशैंको मुखमा अलिअलि व्यापार होला भन्ने आशा छ ।’ रेमिट्यान्सको क्षेत्रमा काम गरिरहेका यहाँका व्यवसायीहरूले भनेको कुरा पत्याउने हो भने बिगत एक वर्षदेखि ब्यापार पूरै घटेको छ । कुनै समय बजारभरि रेमिट सेवाका लागि राखिएका साइन बोर्डहरू देखिने बेलसिटीमा अहिले मुस्किलले १० देखि १२ वटा रेमिटेन्स सेवा सञ्चालन भएको उनीहरूको भनाइ छ । शिविरभित्रका छाप्रोहरू शून्यप्राय र बन्द छन् यतिबेला । चाडवाडको महत्व भूलेका छन् तिनले ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।