कमन देवान
प्रकथनः
दोस्रो जनआन्दोलनले दिएका अनेकन राजनीतिक उपलब्धिहरूकै चाङमा पर्छ लिम्बुवान आन्दोलनको उठान । यद्यपि, आधुनिक लिम्बुवान प्राप्तिका लागि सुरु भएको यो राजनीतिक आन्दोलन संस्थागत बन्न संघर्षरत नै छ भन्दा अत्योक्ति नहोला । बिगतका गोरखा–लिम्बुवान युद्ध, नूनपानीसहितको गोरखा–लिम्बुवान लालमोहर सम्झौतालागयत किपट कायम र किपट खोसिएका परिघटना र त्यसका सेरोफेरोमा घटित घटनाहरूका फरक इतिहास छन् । तिनै विरासतहरूको बलमा लिम्बुवान स्वायत्तता प्राप्तिका लागि राजनीतिक आन्दोलनको उठान भने २०६३ सालदेखि प्रारम्भ भएको सत्य लुक्न सक्दैन ।
अन्तरिम संविधान २०६३ लागूभएसँगै संविधानसभा निर्वाचनको निर्वाचन कसरी गर्ने भन्ने सवाल राजनीतिक वृत्तमा चर्किरहेका बेला पूर्वी नेपालमा विशेषगरी अरुण पूर्वका भूभाग लिम्बुवान स्वायत्त राज्य कायम हुनुपर्दछ भनेर आन्दोलन थालनी भएको थियो ।पहिलो पटक लिम्बुवान माग गर्दै २०६३ मंसिर २४ गते लिम्बुवान क्षेत्रमा चक्काजामको आह्वान गरिएको थियो भने तत्कालनीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनसहित केही नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको थियो । त्यसपछि मञ्चमातहत रहने भनी संघीय लिम्बुवान राज्य परिषद् गठन भयो नेता सञ्जुहाङ पालुङ्वाको अध्यक्षतामा । देशभर राजनीतिक रूपले असन्तुष्टि बढ्दै गए । संघीयताको सवाल र संविधानसभामा प्रतिनिधित्व गराउने सवालमा जातीय, क्षेत्रीय, लैङ्गिक र अल्पसंख्यक समुदायका आवाजहरू आन्दोलित बन्दै गए ।
मधेसदेखि पहाड र हिमाल सबै भेगमा जनताका आवाज गुञ्जमान भएका बेला लिम्बुवानको माग गर्दै मञ्च र मातहतको सलिरापले पूर्वमा २०६४ को भदौ दोस्रो हप्तादेखि विभिन्न आन्दोलन थाले । त्यही आन्दोलनको रूप असोजको १९ गतेसम्म पुग्दा निक्कै सशक्त र हिंसात्मक बनिसकेको थियो । आन्दोलनकारीमाथि प्रहरीले व्यापक हस्तक्षेप बढाएको थियो भने प्रहरी स्कर्टिङमा चलेका गाडी आन्दोलनकारीको निशानामा परेका थिए ।
असोज २० गते माङतोक ढले
स्थानीय प्रशासनले झापा र मोरङको सीमाना मावा खोलादेखि पूर्व तोपगाछी र धरमपुर गाविसको सीमाना कमल खोलासम्म अनिश्चितकालीन कफ्र्युको आदेश जारी गरिसकेको थियो । यातायातका साधन चलेका थिएनन् भने प्रेसलाई समेत कुण्ठित पारेर जनजीवन आक्रान्त बनेको थियो । २०६४ असोज २० गते दिउँसोतिर आन्दोलनकारीलाई सशस्त्र प्रहरीको टोलीले गोली हानेको र एक जना आन्दोलनकारी गम्भीर घाइते भएको अपुष्ट खबर प्राप्त भयो । स्वतन्त्र हिँडडुल गर्न प्रतिबन्ध अवस्थामा टेलिफोनबाटै भए पनि घटना बारे बुझ्ने प्रयास गरियो । अपराह्न्न ४ बजेतिर लिम्बुवान आन्दोलनका क्रममा इलाम चुलाचुली १ कमलका २१ वर्षीय राजकुमार आङ्देम्बे ‘माङतोक’ को गोली लागेर मृत्यु भएको खबर आयो ।
कमल खोला नजिकै रतुवा माई वृक्षारोपण आयोजनाको वन हातामा उनलाई सशस्त्रले लामो रेन्जको हतियार प्रयोग गरेर गोली दागेका थिए । उनको नजिकैको तत्कालीन माओवादी जनसेनाको प्रथम डिभिजन कार्यालयमा उपचार प्रयास गर्दागर्दै प्राण गएको थियो । उनी आधुनिक लिम्बुवान आन्दोलनका पहिलो सहादत दिने आन्दोलनकारी भए । भोलिपल्ट प्रशासन र आन्दोलनकारीबीच भएको सम्झौता अनुसार माङ्तोकको अन्त्यष्टि तोपगाछी ७ स्थित रतुवा माई वृक्षरोपण आयोजना हातामा गर्ने भनी निर्णयानुसार कफ्र्यु केही खुकुलो पारियो । तर, जारी कफ्र्यु ८५ घण्टासम्म कायम रह्यो । जनजीवन निक्कै त्राहिमाम भएको यो घटनापछि लिम्बुवान आन्दोलनमा बिग्रह सुरु भयो ।
लिम्बुवान फुट शृंखला
माङ्तोकको सहादतले लिम्बुवान आन्दोलनमा नयाँ आक्रोश, उर्जा र शक्ति मिल्ने धेरैको अपेक्षा थियो । तर, स्थिति त्यसको ठीक विपरित आन्दोलनमा विग्रह र आरोपप्रत्योरोपको थालनी भयो ।
तत्कालीन मञ्चका अध्यक्ष कमल छाराहाङ र महासचिव कुमार लिङ्देन पक्ष एकतिर र सलिरापका अध्यक्ष सञ्जुहाङ पालुङ्वा पक्ष अर्कोतिर भएपछि मञ्च फुट्यो । पालुङ्वा पक्षले मञ्च त्यागेर संघीय लिम्बुवा राज्य परिषद्को नेतृत्व गर्दै अघि बढे भने छाराहाङ र लिङ्देन मञ्च र मञ्च सम्बद्ध सलिरापकै अवराधारणाअनुसार आन्दोलन उठाउन लागि परे । थरुहटसमेतको मिलोकतोमा पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएर मञ्चले दुईटा सभासद् पायो । तर, पालुङ्वा समूहले भने तत् समयको निर्वाचन बहिस्कार गरे ।
तथापि, लिम्बुवान आन्दोलन थेग्ने काम भएकै थियो । २०६५ सालको फागुन अन्तिमतिर मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को महाधिवेशन पान्थरको फेदेनगढीमा सम्पन्न गर्ने क्रममा तत्कालीन महासचिव मिसेकहाङ थाम्सुहाङ समूहले क्रानितकारी लिम्बुवान गठनको हवलासहित लिम्बुवान आन्दोलनमा फुटको निरन्तरतालाई दोहो¥याए । त्यसपछि लिम्बुवान आन्दोलन जति सशक्त बनाउने प्रयास हुन्थ्यो उति उति वैचारिक अस्पष्टता र आन्तरिक घेराबन्दी, गुटबन्दीका कारण असफल बन्दै गयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणाली अन्तर्गत हुनुपर्ने माग सहित आन्दोलन हुँदा ०६५ चैत ६ गते झापाको चारआलीमा मनिल तामाङ मारिए । कालान्तरमा माङ्तोक र मनिल दुवैलाई राज्यले सहिदको मान्यता दियो र परिवारलाई राहत रकम उपलब्ध गरायो । तर, समयक्रममा छाराहाङ र लिङ्देन समूह पनि विभाजित भए, जसले लिम्बुवान आन्दोलनको साख झन गिरायो ।
दोस्रो संविधानसभा निर्वाचनमा लिङ्देन समूह निर्वाचन बहिस्कारसहित अर्धभूमिगत शैलीमा प्रस्तुत भए भने लिम्बुवानको नारा लिएर चुनावमा सहभागी पालुङ्वा समूह, वीर नेम्बाङ समूह र रामभक्त कुरुम्बाङ समूहले १० हजार मत पनि कटाएनन् । लज्जास्पद चुनावी परिणामपछि लिम्बुवानी संगठनहरूका बीचमा एकताको निक्कै हल्लीखल्ली चलाइयो । एकताका लागि केही विद्वान कहलिएका तुम्याहाङहरूले मानापाथी भरेर कसम खुवाए पनि लिम्बुवान आन्दोलनको विसर्जन प्रक्रिया रोकिएन । करिब दुई वर्षअघि भेडेटारमा एकता गरेर विभिन्न पाँच समूहमा विभक्त लिम्बुवानवादी संगठनहरूबीच एकता भए पनि नाममात्रको एकताले माखो मारेन । तर, नेताहरूबीचको आपसी निषेध र गुटबन्दीले लिम्बुवान पक्षधर कार्यकर्ता र जनसमर्थनको आवाजको एकीकृत प्रतिनिधित्व हुन सकेन । आरोप प्रत्यारोपका बीच ग्रेटर लिम्बुवानदेखि समानन्तर लिम्बुावन सरकारसम्मका विचार सहतमा पोखाइए । तर, संघीय लिम्बुवान पार्टी नेपाल नामक पार्टीको घोषणा भएको तीन महिनाबीचमै दमक र काठमाडौंबाट दुई अलग अलग विधान छापिएपछि क्रियाशील सदस्यता वितरणदेखि अरु सबै राजनीतिक र सांगठानिक क्रियाकलाप ठप्प भए । अन्ततः एकता भनिएको संघीय लिम्बुवान पार्टी नेपालको फुटले फेरि निरन्तरता पायो ।
पुनः फुटको यात्रामा लिम्बुवान
भेडेटार एकताको सान्दर्भिकता पुष्टि नहुँदै र सामान्यतः एकीकृत आन्दोलनको बाटो तय नहुँदै लिम्बुवान फेरि फुटको बाटोमा लम्कियो । २०७२ असोज ३ गते संविधान जारी भयो । व्यापक विरोध, प्रतिरोध र आन्दोलनका बीच जारी संविधानलाई अपनत्व ग्रहण गर्न नसकेका साना दलहरूले आन्दोलनलाई उत्कर्षमा पु¥याइरहेका बेला लिम्बुवानमा भने लिङ्देन समूहमात्रै सडकमा प्रतिरोधका लागि उत्रियो । वस्तुतः संघीय लिम्बुवान पार्टीको आन्तरिक व्यवस्थापन मिल्नै सकेको थिएन । जनमासमा भ्रम पार्न एकताको खुबै होहल्ला गरियो । तर, नतिजा जे आउनु थियो त्यही आयो ।
लिङ्देन पक्षले मध्यअसार (असार १७, १८ र १९ गते) झरीमाझ झापाको दमकमा आफ्नो समूहको महाधिवेशन गरेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ब्युँताउदै संघीय लिम्बुवान मञ्चको समेत संरचना विकास गरेर आफ्नै गतिविधिमा अघि बढेका छन् । उनीहरू पछिल्ला दिनहरूमा संघीय गठबन्धनले जारी राखेको आन्दोलनका सबै मोर्चामा सक्रिय भएर लागेका छन् ।
यता लिङ्देनबाहेकका नेताहरूको समूहले भने हालसालै असोज ४–८ गते दमकमै महाधिवेशन गरे । एकताको महाधिवेशन नारा दिइएको उक्त महाधिवेशनको उद्घाटनसत्रमा पहिचान र संघीयताका मुद्दामा कठोर देखिएका र एकलकाँटे संविधान जारी गर्न अहम् भूमिका खेलेका सुवास नेम्बाङलाई प्रमुख अतिथि डाकिएको सन्दर्भ अहिले पनि सामाजिक सञ्जालहरूबाट बग्रेल्ती चर्चा भइरहेकै विषय हो । अहिले दुई वटा लिम्बुवान पार्टीहरू शक्तिमा देखिन्छन् तर उनीहरूले प्रयोग गर्ने झण्डा र चुनाव चिन्ह एकै छ । दुवै पार्टीले दाबसहितको खुकुरी चुनाव चिन्ह प्रयोग गरेर आ–आफ्नो प्रचार जारी राखेका छन् । लिङ्देन समूहले भने पुरानै सलोरामको झण्डामा सामान्य सुधार गरेर दुई वटा झण्डा प्रयोग गर्ने अभ्यास थालनी गरेको छ ।
यता महाधिवेशनको बन्दसत्रबाट सञ्जुहाङ पालुङ्गाको नेतृत्वमा संघीय लिम्बुवान पार्टी नेपालको नयाँ समिति बन्यो । तर, सो समूहका प्रभावशाली नेता कमल छाराहाङले पार्टी परित्याग र नयाँ पार्टी खोल्ने जानकारीसहित झापाको दमकमै पत्रकार सम्मेलन गरेर फुटको निरन्तरतामा अर्को आयाम थप्न लागेको प्रष्ट भएको छ । सम्भावित फुट रोक्ने हेतुले हुन सक्छ, पालुङ्वाले विज्ञप्ति जारी गरेर असन्तुष्ट छाराहाङ समूहलाई वार्ताका लागि औपचारिक आग्रह गरेको छ । तर, जानकारहरूका अनुसार छाराहाङ समूहको गृहकार्य नयाँ पार्टी गठनका निम्ति निक्कै अघि बढिसकेको छ ।
दर्विलो ऐतिहासिक र राजनीतिक पृष्ठभूमि बोकेको लिम्बुवान आन्दोलन यतिबेला फेसबुकको भित्तोमा गालीगलौजको उच्चतम विन्दुमा पुगेको छ । सडक र जनतामा खुम्चिँदै र हराउँदै गएको छ । लिम्बुवानका नेताहरूकै असफल नेतृत्व र आपुंगी गतिविधिका कारण राजनीतिक दृष्टिविन्दुबाट केलाएर हेर्दा र विश्लेषण गर्दा लिम्बुवान आन्दोलन विसर्जनको कित्तामा थन्किसकेको छ । तर, आन्दोलनलाई जीवितै राखिएको भ्रम त ऐतिहासिक लिम्बुवान भूगोल र यहाँका जनताको लिम्बुवानप्रतिको निरन्तर खबरदारी र आस्थाले मात्रै कायम राखेको हो । तर, जबसम्म राजनीतिक मुद्दालाई सही र राजनीतिक विचारले नेतृत्व दिन सकिँदैन, पानीको फोका झैं आन्दोलन र उठ्ने र सेलाउने परिपाटी कायमै रहन्छ । अहिलेका लिम्बुवानका नेताहरूले यस बारेमा बुझेका र भोगेका पनि छन् । तर, बारम्बार एउटै गल्ती दोहो¥याइरहनुमा उनीहरू कुन कारणले स्वाद मानिरहेका छन् ? त्यो स्वाद के मा लुकेको छ ? यसको जड के हो ? अब जनताले खोज्नैपर्ने समय आएको छ । अरु माङ्तोक र मनिलहरूको सहादत व्यर्थ बनाउने छुट उनीहरूलाई जनताले बारम्बार दिइरहने छैनन् । यो उनीहरूले बुझ्नु पर्दछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।