कमन देवान
मलेसियाले ११ महिनासम्म पाजी बनाएको झापाली काजीलाई पछिल्लो दुई वर्षदेखि दमकले राम्रैगरी फापेको छ । काजी अर्थात काजी राउत (३७ वर्ष) लाई बिहान सबेरैदेखि रातको अन्धकारले छपक्कै छोप्दासम्म भ्याइनभ्याइ हुन्छ, आफ्नै कर्मको संसारमा भीड्दाभीड्दै । झापा दमकको बेलडाँगी रोडमै दमक गेष्ट हाउसमुनि उनले दुई वर्षअघि चल्ती अवस्थाको तेह्रथुमे होटल किने । अनि मलेसियामा मेडिकल फेल भएर ‘पाजी’ हुनुपरेको नियतीलाई भूल्दै सुरु गरे व्यवसायिक यात्रा ।
हिजोदेखिकै चार्म थियो, तेह्रथुमे होटलमा चिया चमेना र गफ, भेटघाटको । दमकका लागि र दमकेलीका लागि तेह्रथुमे होटलका पुराना कुर्सी र टेबुलहरू परिचित वस्तु नै हुन् । त्यसमा पनि कुलोदेखि राजमार्गसम्म, गाउँदेखि केन्द्रसम्मका गफ र फुर्ती लाउने ठाउँ हो यो । यतिबेला काजी राउत दमकका उदयीमान व्यापारी, राजनीतिज्ञ, पत्रकार, कलाकारदेखि समाजका सबै क्षेत्रका मानिसका लागि परिचित पात्र बनिसकेका छन् । अक्सर उनकै होटलमा दमक र आसपासका अधिकांश उपभोक्ता समिति, उद्योग वाणिज्य संघ, व्यवस्थापन समितिका चुनावी घटजोड हुन्छन् । काजीको विशेषता हो, कुनै पनि विषयमा आफूलाई लागेका कुरा कसैको मुख कालो होला कि ? भनेर नपर्खी प्वाक्कै बोलिदिने । उनी भन्छन् –‘लागेको कुरा नभनी सक्दिनँ । कतिलाई त रिस पनि उठ्दो हो ।’
चिया, खाजा खानेदेखि दिनैभरि जसो गफिने टोली पनि काजीको होटलका लागि गहना हुन् । नियमित काजी किचन (होटलको प्रस्तावित नाम) आउनेहरूका लागि यो ठाउँ साथीभाइ भेट्ने, योजना बनाउने पायक स्थान पनि हो । बिहीबार काजी किचन छिर्दा दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति अइन्द्रविक्रम केरुङ नेविसंघका झापाका नेताहरूको एउटा समूहसँग गफिँदै थिए । लिम्बू विद्यार्थी संघको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी गरिरहेका अभिषेक लिम्बू, सुमन लावतीलगायत कार्यक्रमका लागि सहयोग संकलन बारे योजना बुनिरहेका थिए । यी प्रतिनिधि घटना बाहेक पनि काजीको किचनमा फुर्सदिला जस्तै देखिने अरु अरु समूहको पनि उपस्थिति र फुर्तीफार्ती हेर्न रमाइलै हुन्छ ।
काजीको व्यवसायिक यात्रासँगै पारिवारिक रथ पनि चलेकै छ । उसो त सानैमा बाबु आमाबाट टाढिएका काजी झापाको सर्णामती ७ मा हुर्किए बढे । हजुरआमाको साथ र फूपूको आश्रयमा काजीको जीवनले १६ वर्षे कुखुरे वैंशमै पुष्पाको साथ पायो । दमकमा १० हजार मासिक भाडा तिरेर चलेको होटलले घर व्यवहार धानेकै छ । ठूली छोरी १२ कक्षामा पढ्छिन्, माइली र साइली १० कक्षामा र कान्छी छोरी ८ कक्षामा पढ्दैछन् । भात खान दुई बिगाह खेत छ राउत परिवारको । तर, उनी ढुक्कै व्यवसाय चलाउँछन् । पुष्पाको काम हो घरखेत । उनी भन्छन् –‘होटलमा एक्लै खटेको छु । विदेशमा ११ महिना काम गर्दा भन्दा राम्रै कमाइ छ । साथीभाइ, इष्टमित्र राखेर बाँचेकोछु, खुशी छु ।’
०६९ सालमा मलेसिया जानुअघि काजी सर्णामतीस्थित भृकुटी निमाविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष थिए । सामाजिक क्षेत्रमा उनी स्थानीय तहका अगुवा नै थिए । रेडक्रस, अन्य संघसंस्थालगायत सबैतिर जोडिएका पनि । तर, चार सन्तान हुर्किँदैगर्दा मुख र खुराक दुवै बढ्यो । सामाजिक कामको लतबाट फुस्किएर काजी पुगे मलेसियाको रवाङस्थित कार कम्पनीमा । तर, ११ महिनामै मलेसियाले पाजी बनाएको काजीलाई यतिबेला आफ्नै जाँगर र सीपले काजी बनाएको छ । उनी भन्छन् –‘आफ्नै पौरख र इमानदारिताले बाँचेको छु, खुशी छु ।’
देशको सपना बोकेर विदेश पुग्नेहरू धेरै छन् । लाखौंको संख्यामा । यिनै विदेशिनेहरूमध्ये कतिले त पराई भूमिमै प्राण त्याग्नुपरेको छ । काजी विदेशमा पाजी बनेर स्वादेशमै काजी भइखान सिकिरहेका छन् । उनको सिकाइलाई आजको पुस्ताले ख्यालख्याल मात्रै ठान्नु हुन्न ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।