लन्डन टू मिडी ब्रसेल्स ! - Naya Online

लन्डन टू मिडी ब्रसेल्स !

नियात्रा


janu-kambangजानु काम्बाङ लिङ्देन


जहिले काम घर, काम घर गर्दा गर्दा दिक्क लगेर, मैले पाँचै दिनको मात्र छुट्टी भएपनि बेल्जियम जाने योजना बनाएँ । योजना पनि के भन्नु, जे होस् जाने मन गरें । हिड्ने दिनको अघिल्लो दिनसम्म ड्युटी थियो, भारीतारी केही मिलाएकै थिएन । साँझ आएर हतार हतार केहि लुगाफाटा सुटकेसमा हालेर खाना खाईवरी ओछ्यान पसें ! बिहान ५.३० बजे उठेर माईती जाने हर्ष र हतारले चिया पनि नपिई बाटो लागियो । धन्न उहाँँको ड्युटी नाईट परेकोले र अघिल्लो रात छुट्टी परेकोले पु¥याउन भ्याउने पर्नु भो । नत्र त लङ्कामा सुन छ कान बुच्चै भने जस्तै हो ! आँगनमा कार हुनु र कुदाउने नहुनु !
हामीले घर छाड्दा ६.३० भएको थियो उहाँले १ घण्टा फाल्टो टाईम राखेर हिड्नु भएको त हो, तर नर्थहोल्ड लन्डन आईपुग्दा बाटो पुरै जाम भो । गाडी चल्नै छाड्यो ! म रेल छुट्ला भन्ने चिन्ताले असिन पसिन भएँ । एकछिन बाटो खुल्ला कि भनेर पर्खियौं तर, केहि सिप लागेन । अन्तत कारले बाटो मोड्नै पर्ने भो ।
हाईवे छाडेर स्वात्त नर्थहोल्ड पस्यौं, त्यहाको ट्युब स्टेसन पुगेर कार त्यहि छाड्ने निधो गरि, कार पार्किङ खोज्न थाल्यौ, कतै भेटिएन, म सुटकेस तान्दै ट्युबमा स्टेसनतिर हान्निएँ । उहाँ काप्किङ खोज्नतिर लाग्नुभो । टिकट काट्न खोजें अफिस बन्द, थियो, म लन्डनबाहिर बस्ने हुनाले कार्ड पनि नचल्ने पर्यो फसाद ! कार पार्क खोज्दा खोज्दा उहाँ उतै अड्किनु भो, स्कुल र अफिसको पिक आवर भएकोले ट्युब पनि निक्कै भिड थियो । धन्न त्यहाँ एउटी चौकीदार महिला रहिछे उसलाई सोधेर मेरो लागि एकतर्फी टिकट मेसिनमा पैसा छिराएर किनें । त्यसैबेला स्वास्वा गर्दै उहाँ पनि दौडेर आईपुग्नु भो ।
“ला ! तिम्ले टिकट लिई हालेको ? सिधै बैंक कार्डले पनि ढोका खोलिने सिस्टम छ, यसो गर्दा सस्तो पनि पर्छ ।”
म आफ्नो देशमा बस चढी टिकटमा कन्सेसन माग्दै खलासीसंग झगडा गर्ने नेपाली, विदेशको यो सिस्टमसंग हैरान नै भएर भने –“खोई ! मलाई भन्नु भएन के थाहा त ?”
“भन्नु भनेर कति कल गरें उठाएनौ ? आफु कार पार्क नपाएर बिजोक !” मैले बल्ल पो हातको मोबाईल हेरें ३ मिस कल थियो, ‘सोचें अब बोलाउनु हुँदैन ।’
चुपचाप आफ्नो टिकट छिराएर म बाटो मात्र लाग्दै थिएँ छिर्ने ठाउमै मेरो सुटकेस अल्झीयो । हतारको बेला मैले ख्यालै गरिनछु सुटकेस हुनेको अर्को ढोका हुन्छ भनेर । उफ्…. हतारको बेला झन् झन् ढिलो ? म कराएँ उता अफिसमा बसिरहेकी अघिकै महिला आएर उसको स्पेसल चाबीले ढोका खोलिदिई । सुटकेस तान्दै आफैलाई धिकार्दै प्लेटफर्ममा झरेको ठिक्क रेल आईरा’को रहेछ दुवै स्वात्त पसिगयौ । हामीले हेर्न, सोध्न र याद गर्नसम्म भ्याएनौ हामी चढेको रेल कहाँ जाँदैछ ?
म छटपटिएको देखेर होला उहाँले ट्युबको ढोकामाथि टांगिएको लन्डन ट्यूबहरूको म्याप यता र उति दौडन्दै हेर्न लाग्नु भो । जे कुरो पनि आफै हेरेर पढेर खोज्ने बानि उहाँको, तर म उहाँको ठिक उल्टो छु, हेरिरहनु र खोजिरहनु भन्दा कसैलाई सोध्नु छिट्टो लाग्छ । मेरो छेउको सिटमा एउटी मुस्लिम जातकी महिला सायद ! नानी पुर्याउन स्कुल हिडेकी होलिन्, स्कुल ड्रेसमा रहेको छोरा लिएर बसेकी थिईन् ।
अतालेको बेला केहि नसोची सोधिहालें –“एक्सक्युज मि ! के म थाहा पाउन सक्छु कसरी गईन्छ किन्ग्क्रोस स्टेसन ? यो ट्युब तेतै जाँदै छ ?”
उनले भनिन् –“यस, तर मलाई थाहा छैन कहाँ पुगेर चेन्ज गर्नु पर्छ ?”
उसले यसो भनेको सुनेर अर्कोपट्टी बस्ने एक बुढो मान्छे अफ्रिकन जातले भन्यो –“तिमी सहि रेलमा छौ यो रेल उतै जाँदैछ, लण्डनको अक्सफोर्ड सर्कसमा पुगेर पिका डेली लाईन चढ्नु त्यसपछिको २ स्टप नै एसटी पानक्रस र किन्ग्क्रस हो ।”

भन्नुपर्ने थुप्रै कुरोहरू दिमागमा छाल झैं उर्लिए पनि, जबर्जस्ती थामेर मनभरि लालीगुराँश मात्र होइन सयपत्री पनि फूलाउने कोशिस गर्दै बसिरहेँ ! तर मेरो मुहारमा माईती पुग्न पाउनूको खुशी र ढिलो हुनुको छटपटी दुवै पोतिएर रातो थियो सायद ! उहाँ मलाई हेर्दै झन् झन् मुसुमुसू हास्नु भो ।

म ढुक्क हुँदै धन्यवाद दिएँ । मान्छे मात्र कालो तर सारै दयालु, मैले सोध्दै नसोधी पनि मेरो समस्याको समाधान खोजिदिने, परेको बेला उसलाई देउतै ठाने । यति सम्वाद गर्दा गर्दै झन्डै ३,४ स्टप नाघ्न लागेका थियौ । उहाँ अझै चस्मा खोलेर मसिनो म्यापको रेसाहरूलाई केलाईकुलाई गरेर हेर्दै हुनुहुन्थ्यो, हेरेर दया र रिस एकै ठाउमा मुछ्दै भने, भयो हौ नहेर्नुस् थाहा भैसक्यो हामीले अक्सफोर्ड सर्कस पुगेर पिका डेली लाईन चढ्नु पर्ने रहेछ ।
उहाँ फर्केर आई मेरो छेउमा भलाद्मी पाराले बस्नुभो, भन्नुपर्ने थुप्रै कुरोहरू दिमागमा छाल झैं उर्लिए पनि, जबर्जस्ती थामेर मनभरि लालीगुराँश मात्र होइन सयपत्री पनि फूलाउने कोशिस गर्दै बसिरहेँ ! तर मेरो मुहारमा माईती पुग्न पाउनूको खुशी र ढिलो हुनुको छटपटी दुवै पोतिएर रातो थियो सायद ! उहाँ मलाई हेर्दै झन् झन् मुसुमुसू हास्नु भो । मलाई व्यङ्ग्य गर्दै पोखिएको त्यो मुस्कानले, फेरि मेरो पारो तात्तिएर कन्चनजङ्गा भएर पग्लि झर्न रह्यो तर के गर्नु ? हिड्ने बेला साईत बिग्रिएला भन्ने सोचेर आफैलाई निभाएँ । तर, रिस भन्ने कुरो ! थाम्दा थाम्नै दुई नयनमा जमि त हाल्यो पानी पोखरी, छछल्किन्दा पोखियो दुईथोपा आँशु ! तरै पनि, २ वर्ष अघि यसैगरी भाईलाई भेट्न बेल्जियम जाँदा हित्रोह एयरपोर्टमा प्लेन छुटेर एकरात त्यहि बसी बिहान मात्र उड्न परेको तितो यथार्थलाई सम्झेर बलिरहेको रिसको आगो नियन्त्रण गर्दै भने, जिन्दगीमा कतै पनि समयमा पुग्न नसकिने भो । मेरो मुखमा पुलुक्क हेरेर उतातिर फर्किनु भो । म गीता रेग्मीजीको नियात्रा पश्चिमाहरूको देशमा सम्झिन्दै ! मन खेलाएर युरो स्टारमा गुड्न थालें, किन कि म पनि गीताजी जस्तै एक्लै जाँदै थिएँ युरोप । फरक यति थियो, उहाँलाई फ्रान्समा रिसिभ गर्ने भतिजो बुहारी र भान्जीहरू थिए, मलाई ब्रसेल्सको मिडीमा रिसिभ गर्ने भाई र बुहारी थिए ।
हतार पर्दा, तेर्सो गोरेटो पनि उकालो र लामो लाग्ने म नाथेलाई लन्डन भित्र गुलियो जुलेबी झैं क्वी कि क्वी घुमेको ट्युबको बाटो कति लामो लाग्यो लाग्यो ।
किङ्ग क्रस पुग्न झन्डै एक घण्टा लाग्यो ! स्टेसनमा ओर्लेर म्याराथुनको धावक झैं म दौडिए, उहाँ पनि मेरो सुटकेस तानेर, कहिले अघि कहिले पछि गर्दै दौडिनु भो । यसरी कहिले उहाँले जित्ने कहिले मैले जित्ने गर्दै हाम्रो अन्तिम गन्तव्य भित्र पस्ने गेटमा पुग्यौँ । रेल छुट्नु जम्मा २० मिनेट मात्र थियो ! मेरो बेल्जियम टुर यो चौथो भएपनि, युरो स्टार रेलबाट भने यो पहिलो यात्रा थियो त्यसैले पनि होला म एकदम एक्साईटेड थिएँ । धन्न घरबाटै इन्टरनेट चेकिङ्ग गरेर बोरिङ्ग पास लिइसकेकी थिएँ र छिर्न पाएँ । २५ मिनेट अघि नै चेकिङ्ग कौटर बन्द भईसकेको थियो । हतार सुटकेस, ज्याकेट, घडी, बुट जुत्ता, पासपोर्ट र मोबाईल सबै २ भिन्दाभिन्दै ट्रेमा राखेर मेसिनमा छिराई आफु पनि छिरें । ढिलो भईरहेको बेला अघि वारि ज्याकेट, जुत्ता खोल्दा ५ मिनेट सकियो, फेरि पारीपट्टी ति सब लगाउदा ५ मिनेट गयो अब बाँकी रह्यो १० मिनट । कतै केहि नहेरी दौडिएँ ! माथि रेल लम्पसार परेर मलाई नै पर्खिरहेको थियो, एउटी स्टाफ्ले मलाई देख्नसाथ, सुटकेससँगै तानेर रेलको पुच्छरमै हुली त हाल्यो । सायद म छुट्न लागेको थिएँ, हुनपनि म चढ्ने बित्तिक्कै लगत्तै ढोका बन्द गरेर धुँवा उडाउन थालिहाल्यो रेलले ! म धरान जाँदा बिर्तामोडमा बसका स्टाफहरूले भारी खोसाखोस गर्दै मलाई तानेर चढाएको सम्झिन्दै मेरो डिब्बा खोज्न थालें ।
मेरो डिब्बा नम्बर ०१४ अनि सिट नम्बर ५६ थियो मतलब म लन्डनबाट हिडदाको पुच्छरमै थिएँ भने मेरो सिट र डिब्बा टाउकोमै थियो । रेल निकै लामो थियो ।
म रेलको, गोलो भुँडीभित्र भित्रै हिड्न थालें, ऊ जमिनमाथि र तल गर्दै गुड्न थाल्यो । मानौ दुबैले यात्रासँगै आरम्भ गर्यौ ! एकैछिनमा यूकेको आशफोर्ड केन्टको ईन्टर नेसनल स्टेसन पुगेर ऊ रोकियो । म भने अझै आफ्नो डिब्बा र सिटमा पुगेंकै थिइनँ । यसरी आसफोर्डमा रोकिदा अलि सजिलो भयो र दौडिएर डिब्बा नम्बर ०१४ मा पुगेर सीटमा बसेँ ।
त्यहाबाट केहि पेसेन्जर टिपेर फेरि गुड्यो रेल, फक्स्टोनमाथिको सुन्दर डाडाहरू देखिन थाल्यो । ठिक तल फक्स्टोन केन्ट हजारौं हाजर गोर्खा आर्मीहरू बस्ने क्याम्प ! सोही क्याम्पभित्रै थियो, संसारलाई मनोरंजन दिलाउने एक मात्र चर्चित बीएफएस गोर्खा रेडियोको स्टेसन । तल पुछारमा बिसाल समुन्द्र किनारामा पौडी खेल्ने, घुम्ने ठाउ ! ठिक पारिपट्टि फ्रान्स आहा….! कति सुन्दर कसैले सोधे म त स्वर्ग यहि हो भन्छु । बिस्तारै च्यानल त्रनल छिर्न लाग्यो रेल, डिब्बाको ढोकामै सुचना प्ले भैरहेको थियो ! २ घण्टा १५ मिनेट्को हुनेछ हाम्रो यात्रा, ४९५ किलो मिटर, ३०७ माईल्स रहेको छ पेरीस र युकेको दुरी, फ्रान्सबाट ब्रसेल्स बेल्जियम पुग्न १ घण्टा ५५ मिनट लाग्नेछ, भने दुरी ३७३ किलोमिटर र २३२ माइल्स रहेको छ । म नोटबुक झिकेर लेख्न थाल्छु । छेउमा एक काली पनि होइन गोरी पनि होइन, म जस्तै जस्तै तर म भन्दा अलि काली, मानौ आधा गोरो आधा कालो मिस्साएर छर्दा उम्रिएको बिरुवा जस्ती थिई । ऊ मलाई अनौठो मान्दै हेरिरहन्थी । म उसलाई ! त्यो युरो स्टारको म पहिलो यात्री, ऊ जहिलेको यात्री । यहाका हरेक कुरोहरू मलाई नयाँ लाग्ने, उसलाई पुरानो । उसको हातमा अंग्रेजी किताब थियो, मेरो हातमा प्रिय दाजु गणेश रसिकज्युको “दश गज्जामा उभिएर” नेपाली किताब थियो । तै पनि फक्स्टोनबाट च्यानल ट्र्नल छिर्नु आघिसम्म फेसबुकमै आँखा टाँसेर बसिरहें ।
मनभरी नेपाल र नेपालका ती धमिलो खोलामाथि झुन्ड्याईका अप्ठ्यारा तुईनहरूलाई सम्झिन्दै, युके र फ्रान्स जोड्ने जमीन मुनिको सुरुङ्ग मार्ग तर्न थालें । माथि पानी, मुनि भू–सतह त्येसैको मुनि यत्रो सुरुङ्ग तल र माथि मिलेर रेल र गाडी कुदने होइन ! कसरी पो खने होलान् । यसरी दुई देशलाई जोड्नु पर्छ भनेर कुन मन्त्रीले प्रस्ताव राख्यो होला ? कति हो कति प्रश्नहरू मनभरी अङ्गुरझै झुप्पै झुप्पा फलिरह्यो । कतै रोकिएन रेल आसफोर्डदेखि एकैचोटी यूरोप तरेर फ्रान्स छेउको एउटा शहरमा एकछिन रोकियो । केहि मान्छे ओर्लिए केहि चढे । म किताब पढ्दा पढ्दै निदाएछु रोकिएकै थाहा भएन, हिड्नलाई भरियाले भारी तान्दा कर्याक्क कुरुक्क गरेर ढाकर कराएझैं रेल हिड्नलाई हल्लिदा मात्र म ब्युझिएँ । मेरो छेउकी केटी गईसकेकी थिईन् । ठिक उतापट्टि नयाँ एक युगल जोडी आएर बसेका थिए । केटाले केटीलाई एकछिन छोड्दा हराई जान्छ झैं गरि अमुल्य चिज जस्तो अंगालोमा बाँधेर बसेका थिए ।
घरिघरि सानो नानीलाई पप्पी गरेजस्तै गरी पप्पी खाएको सुनिन्छ । लाग्थ्यो हिजो राती मात्र सिन्दुर पोते लगन ईत्यादी सकेर हनिमुनमा हिडेको हुन् ।
त्यो डिब्बा भरि कति मान्छे थिए तर कसैलाई वास्ता थिएन उनीहरूको यस्तो क्रियाकलापदेखि ।
हेरेर मेरो मात्र नेपाली मन सर्माइरहेको रहेछ । धन्न एक्लै थिएँ । कोही साथमा भएको भए म सरमले भत्किएर गर्ल्याम गुर्लुम्म ढल्थे सायद !
बेलायतभन्दा फरक लाग्यो मलाई युरोप, कम शहर कम घर, धेरै खाली ठाउँ, हरियो चौरी जताततै रमाईलो लाग्यो । ठुल्ठुलो कृषि फर्म, भेडा बाख्रा गोठ, टाटे पाङ्ग्रे गाईहरू, पुरै चौरी ढाकेर चर्दै गरेको एकदम मनमोहक दृश्यहरू बाटोभरी भेटिन्थे । म पनि एउटी चेतनशिल प्राणी नै थिएँ । जतिनै नसम्झौं भनेपनि आफ्नो परिवारहरूको याद आईरह्यो ! डबल सिटमा एक्लै बसेकी थिएँ खालीपन महशुस गरिरहें । मेरो अँगालो मेरो वैंश खोई किन हो ? व्यर्थै गईरहेजस्तो लागिरह्यो । मानौ म आफैलाई बिर्सिएर कतै टाढा एकान्तमा जाँदै थिएँ, रातदिनको दिक्क लाग्दो जिन्दगीदेखि धेरै टाढा ।
बेल्जियमको स्थानीय समय अनुसार दिनको १२ बजे म र रेल दुवैसँगै मिडी ब्रसेल्स पुग्यौं । मौसम एकदम राम्रो थियो । सानोमा लुडो खेल्दा गोटी सर्पले निलेझै मलाई पुच्छरबाट निलेर टाउकोबाट वाकेको थियो । चढ्ने बेला हतारले म चढने रेलको रुप कस्तो छ ? हेर्नसम्म पाएको थिइनँ । ब्रसेल्स मिडी पुगेर पो बल्ल पल्टाई पल्टाई हेरें ठ्याक्कै अजिङ्गरजस्तो पो रहेछ । सुटुक्कै फोटो खिचें, अनि वाई वाई गरेर सुटकेस तान्दै बाटो लागेँ । मलाई बाटो थाहा थिएन, कुन ठाउमा निस्कने ? एयरपोर्टजस्तो चेकिङ्गपछि हुरुरु निस्कने बाटो नहुँदो रहेछ । रेलबाट ओर्लेका मान्छे जहाँ जहाँ गए म पनि पछ्याउदै उतै उतै गएँ । निस्कने गेटतिर भाई देखिन, एकछिन उभिएर पर्खिएँ । भोकले पेटमा मुसा ओहोर दोहोर गर्न थालेको थियो । म उभिएको छेउमा एउटा ठुलो रेस्टुरेन्ट थियो । तात्तातो खाना लाईन लागेर खाईरहेका थिए मान्छेहरूले । भाई अझै आएन म संग ओर्लिएका मान्छेपनि एक एक गर्दै गईसकेका थिए । निकैबेर उभिएपछि शंका लाग्यो कतै म अर्को बाटोतिर त निस्किन ?
लिफ्ट तानेर एकतला मुनि भुईमा झरें । त्यो हल आगमन हल थियो । अवतरण हल त माथि नै रहेछ तर पनि निस्कने मूल गेट चाहि त्यहि तलै रहेछ भन्नेसम्म पत्ता लगाएँ, र त्यहि बसें । बाहिर भित्र जताततै आर्मीहरू नै आर्मी जोडी जोडी भएर डुलिरहेका थिए ! हेर्दै डर लाग्दा अग्ला अग्ला । पियुर गोरा, लन्डन जस्तो मिक्स थिएनन् ।
सुन्दर शहर ब्रसेल्स, ठुल्ठुलो बिल्डिङ उभ्याएर सभ्यताको उचाई छुन खुड्किलाहरू उकिरहेको छ । फराकिलो रोड़, सफा सुग्घर बजारबीच मिडी रेल स्टेसन हरेक दिन लाखौ यात्रुहरूलाई अनेक गन्तव्यमा ओहोर दोहोर गराउदै बसिरहेको छ । स्टेसनबाहिर ठुल्ठुला आर्मी भेन गाडीहरू पार्क गरेर राखिएको छ । म अन्जान यात्री टुलुटुलु रमिता हेर्दै उभिरहेको छु भाई भेटेकै छुइनँ । मनमा कता कता डर पनि लागेको छ । चोयाको पेरेङ्गोमा माईती लाने पिÞmलिङ्ग्गेको अचार, काठको कठुवामा तीनपाने रक्सी तेस्तो केहि छैन म संग ! केहि महिना अगाडी ब्रसेल्स एरपोर्ट्मा आतंककारीहरूद्वारा बम पड्काईएर धेरै मान्छे मरिएकाले अचेल, हरेक ठाउमा सुरक्षा जाँच कडा गरिएको छ । म खाली केहि लुगाफाटा मात्र बोकेको छु । आ… किन डराउनु ? मैले अनेक सोचिसक्दा पनि भाई भेटिनँ । छटपटी लाग्न थाल्यो फोनसोन केहि थिएन ।
म उभिएको ठाउ छाडेर कतै जाऊँ ? भाई फेरि त्यहि आईपुग्ला कि भन्ने डर । भाईको नम्बरमा फोन गर्न मन लाग्यो फोनमा हाल्ने चानचुने पैसा पनि मरु…।
छेउमा एकजना मान्छे मस्कि–मस्कि फोनमा कुरो गरिरहेको थियो, मेरो मनले एकछिन एक कलको लागि फोन माग्न मन लाग्यो छेउमा गएर उभिरहें । तर एकोहोरो बोलेको बोल्यै भयो । अन्ततः केहि नलागेपछि त्यो ठाउ छाडेर सुटकेस तान्दै अर्कोतिर गएँ । स्टेसनभित्रको हल निकै लामो थियो, बीच बिचमा बेन्च्ची ति बेन्ची भरि आवत जावत गर्ने मान्छेहरू बसिरहेका । देब्रे दाहिने साइटमा ठुल्ठुल्ला कपडा दोकान, चिया चमेना ग्रिह मानौ एक बिशाल बजार थियो । वारीपारी माथि जाने र तल झर्ने विद्युतीय स्क्यालेटर र सिढीहरू म झनै हराएँ भित्रभित्रै आफ्नो घरसंसार बिर्सेर एकछिन जे सुकै होस् डुलीरहे । म जस्तै भाई पनि मलाई नभेटेर अतालिन्दै दौडिन्दै रहेछ । एउटा दोकानमा नजर जोतेर उभिरहेकी थिएँ पछाडिबाट दिदी… भन्ने आवाज सुनें फर्केर हेरेको भाई यत्रो पेट ढल्काएर उभिरहेको रहेछ । वास्तवमा म उल्टो साईटमा निस्किएको रहेछु । भाईले मलाई पूर्वतिर कुर्दैथिएछ, म पश्चिमतिरको द्वारबाट निस्केछु । नजान्नु जति नराम्रो संसारमा अरु केहि रहेनछ ।
खोजाखोज र कुराकुर गर्दै २ घण्टा जति समय खर्च भैसकेको थियो । पारिपट्टिको ठुलो बिल्डिङ मुनिको अन्डरग्राउण्डमा कार पार्क गरेर भाई आएको रहेछ । दिदीभाई सुटकेस तान्दै कार पार्कमा पुगेर कार चढी बाटो लाग्यौं । म उल्टो साईटमा बसेको थिएँ । कारण यूकेमा ड्राईभर बस्ने सिट दाहिनेतिर हुन्छ तर युरोपमा देब्रेतिर, हरेक कुरो नौलो, नौलो अनुभव । कार पार्क छाडेर रोडमा निस्कियौं । हामी ब्रसेल्सबाट लुभेन जाँदै थियौं ।
बाटोमा अर्को नौलो अनुभव फेला पारें… एकछिन कार रोकियो कि हात फैलाएर माग्नेहरू देखियो । म छक्क पर्दै भाईलाई सोधें । उसले भन्यो ए… आजभोली यस्तै छ दिदी सिरियाबाट विस्थापित हुने शरणार्थीहरूले हौरान पार्न लागेका छन् । एउटी बुढी बीच सडकमा ज्यान माया मारी उभिएर हरेक गाडीको शिशा ढकढक गर्दै माग्नु !
उफ्फ्पÞm संसार के भईरहेछ ? टाउको रन्केर दुख्यो ब्याग छामिहेरें भेटिनँ पैसा । बिहान लन्डन स्टेसनमा पैसा निकाल्दै आउने सल्लाह थियो तर झन्डै ढिलो भएर खरानीको डल्ला भएको थियो सल्ला । पैसै ल्याउदा पनि भाई बुहारीले खर्च गर्न नदिने हुनाले प्रायः टिकट मात्र काटेर आउने गरेको छु सधँै पनि ! तर यो पाली चाहि ति बुढी आमैलाई पैसा दिन नपाउँदा निकै दुःख लाग्यो मलाई ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

ताप्लेजुङका थापासहित तीनजनालाई साहित्यिक पुरस्कार

चन्द्र मादेन आन्छन काठमाण्डौं । पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लानिङस्थित ग्लोबल पब्लिक स्कुलको...

‘स्कुलमा कविता’को दोस्रो संस्करण माघदेखि हुने

स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३, सुनसरीले आयोजना गर्दैआएको ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको दोस्रो संस्करण यही...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...

लुङाको रजत वर्ष विशेषाङ्क विमोचनमा पत्रकार पुरस्कृत हुने

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...