बिना थिङ तामाङ
आजभोली
तिम्रो याम्बुमा
सोध्नेहरु सोध्छन्
तँ कत्ति चिसी ?
चिसो मान्छेको मुटु पनि चिसै होला
के तेरो गाउँतिर आगो बल्दैन ?
उतिबेला सिम्बली लेकको
चिसो बतास
याबेङ खोलाको
चिसो पानी
दौडिएपनि शरीरभरि
भएन यो शरीर यत्ति चिसो
जुकाले चुसेका यी खुट्टाहरुबाट पनि
बगेकै थियो तातो रगत
प्रधानपञ्चको मेलामा
भरिएको थुन्चेसंगै खोँचमा खस्दा
बगेकै थियो
तातो रगत टाउकोबाट
हो सरकार, म स्याङम्हेन्दो
तातै थिएँ
तातो रगत बोकेर
शरीरभरि
तातो विचार बोकेर
मष्तिस्कभरि
मैले छोडेकी थिएँ पढ्न
ती चिसा अक्षरहरु
किनकी ती चिसा अक्षरहरु मैले नबुझ्ने भाषामा थिए
अनि पढाउनेहरुको आँखा बल्ढ्याङ्ग्रो थियो
कुनै दिन
पुरेहित बाजेको नातीसंग
खेल्दाखेल्दै
अनायसै पुग्दा चुल्होमा
आँगनमा हुत्याईएँ म
र लगाईयो बात
—यो भोटिनी हो
यसले छुनुहुन्न हाम्रो भातभान्छा
सरकार
म त स्याङम्हेन्दो पो थिएँ त
स्याङम्हेन्दो तामाङ
खै किन भोटिनी भनेर
गलहत्याए ?
त्यहि बुझ्न नसकेर
इतिहासको पन्ना पल्टाउँदा
तातो भएकी थिएँ
रातो भएकी थिएँ,
हो सरकार,
म स्याङम्हेन्दो तात्तिएं
म तातिएपछि
चिसो भयो
तिम्रो मुटु
र त्यो चिसो मुटुले
ओछ्यायौ बारुद
पड्कायौ बन्दुक
आफू विरुद्धको हदबन्दी तोड्न
हिडेका यो मुटु अझै ताातिदैँ गयो
यसको बाफिलो श्वासले
ढाक्यो तिम्रो वायुमण्डल
र निश्वासियौ तिमी याम्बुमा
तिमी आत्तियौ
आत्तिएपछि
मिलाएयौ हातहरु
र भन्यौ
—स्याङम्हेन्दोहरु
जरुर लेखिनेछ
लुकाईएका तिम्रा ईतिहासहरु
कोरिनेछ सुनौला अक्षरहरुमा
बहादुरीहरु
त्यस दिन तिम्रो जित हुनेछ
नभन्दै लेख्यौ पाठ्यक्रम एकदिन
र पढें मैले अर्को दिन
तर त्यहाँ देखिएन रिन्जेन दोर्जेको तिमाल
भेटिएन भिमबहादुरको अस्तु
लेखिएन
महारानी, दिलकुमारीको कथा
पिपा हजुबाको व्यथा
याबेङमा काटिएको उर्गेनको टाउको
तिलस्मी अक्षहरुको गुजुल्टोले ति सब छोपिएछ
सरकार,
खै मेरो आदिमभूमिमाथिको अधिकार ?
खै मेरा सन्तानले पढ्न सक्ने
भाषिक पुस्तक ?
खै म्हेन्दोमाया खोज्दा
निकालिएका मेरा म्हेमेका आँखाहरु ?
खै दरबारको पर्खाल लाउँदा
भाँचिएका हजुरबाका हातहरु ?
खै भिमफेदीमा तिमी चढ्ने मोटर बोक्दा बोक्दा
खिईएका पुर्खाका काँधहरु ?
तिनीहरुको छातीबाट
बगेको रगतको इतिहास मेटाएर
लेखिएको पाठ्क्रमले
यो स्याङम्हेन्दोको मुटु चिसो भएको छ
त्यसैले कहिल्यै
नचिसिएको यो मुटु बोकेर
यो स्याङम्हेन्दो
आजैबाट
स्याङ ( घण्टी ) र म्हेन्दो ( फूल )अलग पार्दैछे
म्हेन्दोको कोमलताबाट
छुटेपछि स्याङ
बज्नेछ एकहोरो टिङ टिङ
विद्रोहको
र आव्हान गर्नेछ
—म्हेन्दोमायाहरु,
खोज्न अधिकार
निस्क
घर घरबाट
चिसो मुटु बोकेर
सरकार,
तिमीलाई थाहै छ नि
चिसो मुटुले
बोक्छ बन्दुक
र पड्काउँछ बारुद !
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।