देवेन्द्र सुर्केली
मलेसियामा सन् २००१ देखि नेपालीहरू रोजगारीको लागि कानुनी रुपमा जान थाले । दक्षिण कोरियामा सन् १९९४ देखि कानुनी रुपमा कामदारहरू लान थाले । मलेसियामा कानुनी रुपमा जानुभन्दा अगाडिदेखि गैरकानुनी रुपमा प्रवेश गरेका थिए । कोरियामा भने ट्रेनिङ भिषामा गएर धेरै नेपालीहरू अवैधानिक बनेका थिए । मलेसियामा अहिले अनुमानित साढे चार लाख नेपालीहरू छन् भने कोरियामा १७ हजार नेपालीहरू छन् । मलेसियाका केही कम्पनीहरूमा सामान्य हडतालबाहेक श्रमिक आन्दोलन भएका छैनन् । तर कोरियामा धेरै ठूलठूला आन्दोलन तथा हडतालहरू भएका छन् ।
यहाँ ‘दक्षिण कोरिया र मलेसिया’को तुलना गर्न खोजिएको होइन । किनभने नेपालीहरूको लागि आकर्षक गन्तव्य भएकोले कोरिया जान निकै कठिन छ तर मलेसिया छोटो प्रयासमा पुग्न सकिन्छ । यद्यपि श्रम बेच्न पुग्ने भएकै कारण मलेसियामा हुने होस् या कोरियामा हुने नेपाली, दुवै देशमा रहने नेपालीको व्याथा एउटै नै हुन्छ ।
कुनैबेला मलेसियामा प्रवासी नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष चन्द्र ढकाल झापालीले मले भाषामा कविता लेखेर कम्पनीमा सुनाएको स्मरण गर्छन् । पछिल्लो समयमा गजलकार श्रीजनश्रीले गजललाई मले भाषाबाट पनि लेखाउने प्रयास कता पुग्यो, थाहा हुन सकेको छैन । तर कोरियामा बम लावतीले कोरियन भाषाबाट नै पुस्तक प्रकाशन गरिसकेका छन् । त्यहाँको एउटा साहित्यिक पत्रिकाले नेपाली साहित्य विशेष अंक नै प्रकाशित गरिसकेको छ ।
कोरिया र मलेसिया दुवै अनुशासित देश हुन् । अनुशासित देशमा मानवअधिकारको हनन हुने गर्दछ । मानवअधिकार हनन भएको कुरा कोरियामा हुने नेपालीहरूले कोरियन भाषामै ओकल्न सफल भए । तर मलेसियामा हुने नेपालीहरूले मात्र नेपाली भाषामा ओकलिरहेका छन् –साप्ताहिक पत्रिका र साहित्यिक संगालोमार्फत ।
ुद्यगचष्भम ष्ल त्भबचकु का दृश्यमा आँखा नाचिरहेको बखत माथिका यी तथ्यहरू मथिंगलमा सलबलाए । वास्तवमै सबैको प्रिय ‘मिनु’ (मिनोद मोक्तान) को लागि झरेको आँशु धेरै शुभचिन्तकहरूमा लुक्न नसकेको प्रतिविम्ब हो ।
ुद्यगचष्भम ष्ल त्भबचकु एउटा अधिकार खोज्ने प्रवासी मजदुरको कथामा बनेको डकुमेन्ट्री हो । जसमा कोरियन, इण्डोनेशियन, वर्मेली र नेपाली समूहबीच एउटा व्याण्ड बनेको छ –स्टप क्र्याकडाउन व्याण्ड । मिनु त्यस व्याण्डको मुख्य भोकलिष्ट छन् । उनीहरूले कोरिया भाषामै गीत गाएका छन् । गीतमा श्रमिकहरूको कथाव्याथा छ । गीतले प्रवासीहरूको मात्र नभएर धेरै कोरियनहरूको समेत आँशु झारिरहेको दृश्य छ ।
रोक रोक रोक, धडपकड रोक, हामीहरू कामदारहरू हौं
धडपकड रोक, हामी देश निकालाको विरुद्धमा छौ
जस्ता क्रान्तिकारी गीत होस् या
हाम्रो भविष्यको लागि सुन्दर संसार बनाऔं
हामी कामदारहरू हौ, सधै जुझारु छौ
कुल्चिएता पनि फेरि उठ्छौ र संघर्ष गर्छौ
साहस गरौं, साहस गरौं,
संसार परिवर्तन गरेर कोरिया बनाउछौ,
हामीहरू कामदारहरू हौं, हामी कोरिया बनाउछौं
जस्ता कोरियाको विकास चाहने स्निग्ध विचार प्रस्फुटित किन नहोस् । स्टप क्र्याक डाउनले धेरैभन्दा धेरै सुन्दर सांगीतिक लहरहरू दिएका छन् । हुन पनि १७ वर्षसम्म कोरियामा बसेको मिनु र उनका साथीहरूलाई कोरिया आफ्नै देश नै ठानिसकेका हुन्छन् । आफूहरूले गरेका कामहरू कोरियाको उन्नतिको हो भन्ने सोच्न थालिसकेका हुन्छन् । तर कोरियाले त्यो बुझ्दैन । धरपकड गरेर खेद्छ । खेदेरै छाड्छ । कोरियाको पहिलो निशाना बनेका समर थापा, एमटीयूका अध्यक्ष काजीमान खापुङलाई पक्रेर नेपाल फर्काएको होस् या मिनुलाई जुनसुकै हालतमा भए पनि नेपाल फर्काइएको कथा प्रवासमा रोजगाररतहरूको लागि भयंकर पीडा अनुभुत गराउने खालको छ । मानौ न मिनुको गीतले गर्दा सिंगो कोरिया तर्सिएको छ । उनलाई नेपाल फर्काइएको समाचार त्यहाँको राष्ट्रिय टेलिभिजनले समेत प्रशारण गर्छ । कोरियाको हिरासतमा रहेको मिनु अवश्य छुट्नेछ भन्ने आशाले उनको व्याण्डले कन्सर्ट गरिरहेको हुन्छ । कन्सर्टमा यस्ता गीत गाइएका हुन्छन् ।
हृदय दुखिरहेको छ, यो दुखाइले मलाई पागल बनाउछ,
तिम्रो बारेमा सोचिरहन्छु र आ“सु बग्दछ
केहि चिजले पनि तिम्रो खाली ठाउ भर्न सक्दैन,
मुटु फुटाउने र दुःखपूर्ण …..
राम्रा फुलहरू ओइलाएर जान्छन्,
उपचार नभएका मुटुहरू फेरि दुखाइमा छन्
ओ निलो आकास,
म कसरी मेट्न नसकिने दुखाइहरू सहन सक्छु ?
तिमीलाई भुल्न सक्दिन, सधै सम्झिरहने छु ।
उता मिनुलाई नेपाल फर्काइएको समाचार सुन्नुपर्दाको आँशु कति भक्कानिँदो छ ? मलेसियामा पनि तिलक सारु मगरले ‘के सोची आएँ, के भइदियो’ भन्दै प्रवासमा देखिएको सपना भताभुङ्ग भएको कुरा नओकलेका होइनन् । तुलसी मावुहाङले पनि ‘मलेसियाको केएलसीसी, सुखले होइन दुःखले भइयो परदेशी’ भनेर नगाएका होइनन् । तर स्टप क्रयाक डाउन सारा मजदुरहरूको धरधरी आँशु झार्ने व्याण्ड बनिदिएको छ ।
डकुमेन्ट्रीको दृश्य जतिजति बढ्दै जान्छ, मलेसियामा दखिएको श्रमिकका पीडाहरू उस्तरी नै मनभरी सल्बलाएर आउँछन् । कुनैबेला सुनिल चालिसेले खोजखबर स्तम्भमार्फत अंगभंग भएका कथाहरूको अंश होस् या त यस पंक्तिकारद्वारा अभिव्यक्त गराइएको स्तम्भ नै किन नहोस्, उत्तिकै मार्मिक चित्रहरूले झन् मथिंगल खाइरहेका छन् । तर यस्ता डकुमेन्ट्री बन्न सकेन मलेसियामा ?
धेरैभन्दा धेरै भिज्युअलहरू मलेसियामा बनेका छन् । ‘बोलेका ताबोले’ (हुन्छ कि हँदैन) भन्दै मले भाषाको थेगो बोकेर गीत गाएता पनि खोलापारीको मायाको वरीपरीभन्दा बाहिर घुम्न सकेन । सन्तोष लामा, कृष्ण गाउँले, भुपाल विक, नगेन राईलगायतले मलेसियाकै भूमिमा म्यूजिक भिडियो खिचेतापनि मायापिरतीभन्दा माथि उठेन । बातुपहात, पोर्टकेलाङ र पेनाङमा नेपाली व्याण्ड खोलिएता पनि परम्परागत रुपमा चलिआएको नेपाली पपगीतको निरन्तरता दिँदै आए । कहिले पनि बब मार्लीको जस्तो पपगीतमा क्रान्ति गीत गाउन सकिन्छ भन्ने तर्फ सोचेनन् ।
कोरियामा श्रम बेच्न गएका व्यक्तिबाट यत्तिका गहकिलो सिर्जना कसरी प्रस्फुटित भए त ? मेरा ह्वारह्वार्ती प्रश्नहरू डकुमेन्ट्रीका निर्देशक अशोक थापामाथि जाइलाग्न थाले ।
उसो त निश्चित पेशा बनाउँछु भन्ने नसोचेका अशोक थापाका बहुरंगी जीवनभोगाईबाट म झनै अचम्मित भएँ । इण्डियन आर्मी टेकबहादुर थापा तथा हर्षकुमारी थापाको कोखबाट २०३४ सालमा मधुविनी भारतमा जन्म लिएका अशोकको पुख्यौंली थलो पैंयु हटिया, पर्वत रहेछ । वनारसमा कक्षा ६ सम्म पढेछन् उनले । अनि केहीसमय पैंयुमा पनि फर्किएका उनको परिवारले २०४५ सालमा रुपन्देहीमा बसाई सर्न पुगे । शिवपुर मावि, रुपन्देहीबाट २०५१ सालमा एसएलसी गरेका उनलाई ब्रिटिस आर्मीमा भर्ति हुने शोख थियो । तर सकेनन् । व्यापारतर्फ लाग्ने सोँच बढाए । राममणि क्याम्पसमा पढ्दाताका ग्रोसरी किराना पसल चलाएको, काँटा थापेर धानको व्यापार गरेको अनुभव पनि लिए उनले । त्यति मात्र नभएर क्याम्पसमा स्ववीयूको चुनाव लडेर जितेका समेत रहेछन् । साहित्य कोरेर सिर्जनशील बन्ने सोँच आउनु कहिले फिल्मतर्फ जाने मन हुनु, के गर्दा हुन्छ भन्ने तर्फ मन अस्थीरता भएको भान हुन्छ ।
चञ्चलता बढि भएको कारण नै उनले अष्ट्रेलिया र कोरियामा भिषा अप्लाई गरेछन् । अष्ट्रेलियामा स्टुडेन्ट र कोरियामा ट्रेनिङ । कोरियामा छिटो भिषा आइदियो र सन् २००० उनी उडे ।
कोरियामा केही वर्ष उनी काममै दत्तचित्त भए । केही समयपछि उनलाई पनि चञ्चलताले छोयो । नेपालमै क्यामरा चलाउने गर्दथे उनी । कोरियामा पनि क्यामरा चलाउन थाले । नेपाली कार्यक्रमहरूको खिच्दै जान थाले । पीडी १७० क्यामेरा उनले चलाएका थिए । त्यसैलाई निरन्तरता दिन थाले । कोरियामा रहेका साथीहरू मिलेर ‘मिक्स राइस’ नामक वेवसाइटलाई अपडेट गर्न थाले । नेपालकोरियाडटकम पनि होस्टिङ गरेर चलाउन थाले । यसैबीचमा नेपाल पत्रकार महासंघ, नेपाल मगर संघ कोरियामा आवद्ध भए उनी ।
जब स्टप क्र्याक डाउन व्याण्डको कन्सर्ट हेरे उनले । वर्मिज, कोरियनहरूलेले गितार बजाइरहेको अनि मिनुले गीत गाइरहेको देखेपछि उनले संकल्प गरे –‘यसैबारे म डकुमेन्ट्री बनाउँछु ।’ व्याण्डको जन्मदेखिको व्याण्डले पाएको प्रसिद्धी उनको कथा थियो । तर पछि कथा मोडियो । कोरियामा व्यापक धरपकड भयो । मिनु पक्राउ परे । नेपाल दुतावासले मिनुलाई आफ्नो देशको नागरिक नभने दुईदेशको सम्बन्ध बिग्रनेसम्मको धम्की कोरियन सरकारको आयो । यो सबै नजिकबाट नियालीरहेका अशोक थापाले उनीहरूका आँशुलाई क्यामरामा उतारे । यतिसम्म नभएर मिनुको घरसम्मै आएर उताका साथीहरूको आँशु देखाए । साथीहरूको आँशु देखेर मिनुको गलामा आँशुको धर्को सरर्र धर्किदा जोकोहीको आँखामा आँशु टप्किन्छ ।
अशोक थापाले डकुमेन्ट्री ‘ब्यूरिड इन टियर्स’ बनाउन त्यसै आँटी भएका होइनन् । उनी संघर्षशील थिए । कोरियामा हुने हरेक क्रियाकलापलाई खिचेर राख्ने गरेका थिए । कोरियाको मजदुर पाटोबाट खोलिएको एमडब्ल्यू टेलिभिजनमा पीडीको रुपमा छिरेका थिए । सञ्चारकर्मी भइसकेका उनले कोरियामा भएका हरेक आप्रवासीका दुःखपीडालाई मिहिन रुपमा केलाएका थिए । तसर्थ उनले ‘ब्युरिड इन टियर्स’ बनाउने हिम्मत गरे । जसले जो कोही हेर्नेको आँखा नरसाइरहन सक्दैन ।
मैले अशोक जीसँग प्रस्ताव राखेँ –‘यसलाई मलेसियामा देखाउन पर्छ ।’
अशोक जीले भन्नुभयो –‘यो त तपाईको जिम्मा हो ।’
मैले फेरि भने, –‘फेरि पनि ग्रोसरी चलाउने कि ? काँटा थाप्ने कि ? राजनीति गर्ने कि विदेश लाग्ने ?’
उनी हाँस्दै बोल्छन –‘होइन, अब मैले निश्चित गरिसकेको छु । फिल्मक्षेत्रतर्फै निरन्तर लाग्नेछु ।’ ०००
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।