काठमाडौं । ८ असार । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको थियो ।
शव ल्याएपछि विमानस्थल शोकाकुल
८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।
आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि स्वेच्छाले नेपाल फर्केका छन् ।
शव ल्याएको विमान आइपुग्ने सूचनाअघि नै विमानस्थलमा मृतकका शोकाकुल परिवार र आफन्तजनको घुइँचो थियो । कतिपय मृतकका परिवार स–साना बच्चासहित विमानस्थल पुगेका थिए । शव राखेको १२ बाकस (कफिन) देखेसँगै परिवारजन मात्र होइन आफन्त र शुभेच्छुकका आँखा पनि आँसुले भरिएका देखिन्थे ।
निर्दाेष नेपालीको हत्या कायरतापूर्ण र अमानवीय – प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको बताउनुभएको छ ।
उहाँले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपाली नागरिकको शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जलिपछि प्रधानमन्त्री ओलीले सेवाको भावनाले काम गरिरहेका निर्दोष र कुनै सम्बन्ध नभएका नेपालीलाई हत्या गर्ने कार्यको निन्दा र भत्र्सना गर्नुभयो । “कुनै युद्ध होइन, कुनै वैरभाव छैन, त्यस्तालाई हत्या गर्ने आतङ्ककारी क्रियाकलापको परिणामतः १२ जना नेपालीको निधन भयो, उहाँहरुप्रति सबैका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”– उहाँले भन्नुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।