कञ्चनपुर, ८ असार । सोमबार मरेको बाख्राको मासु खाँदा बिरामी परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ फुलेलीका २२ जनामध्ये चार बालबालिका उपचारपछि मङ्गलबार साँझ घर फिर्ता भएका छन् ।
अठार जनाको अझै झलारीका तीनवटा निजी मेडिकलमा उपचार भइरहेको छ । मासु खाँदा बिरामी हुनेमा १२ वर्ष मुनिका बालबालिका मात्रै ११ जना रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो । ती मध्ये दश बालिका र एकजना बालक रहेका छन् ।
“चुरे क्षेत्रमा गोठ भएका दिलबहादुर ऐरले मरेको बाख्राको मासु सित्तैमा बाडँदा सबैजनाले मासु खाएको देखिएको छ”, प्रहरी निरीक्षक रावलले भन्नुभयो, “काँचो मासु खाने पहिले बिरामी परे, पकाएको मासु खाने राति अबेर र बिहान बिरामी परेका हुन् ।” बिरामी परेकामध्ये एकजनाबाहेक अन्यको अवस्था चिन्तामुक्त रहेको उहाँले बताउनुभयो ।
“दूषित मासु ल्याएर बाँड्ने ऐरलाई निगरानीमा राखेका छौँ”, उहाँले भन्नुभयो । बाख्रा के कति कारणले मरेको र मासु बाँड्नुको कारणबारे अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । दूषित मासु खाएर बिरामी पर्नेमा रिङ्गटा लाग्ने, वाकवाकी हुने, बान्ता हुने, बेहोस हुने, पेट दुख्ने र टाउको बेस्सरी दुख्ने समस्या रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।