मनिला, ७ असार । फिलिपिन्समा यहाँको सरकार र बिगत लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको कम्युनिष्ट बिद्रोहीबीच शान्ति वार्ताको तयारी सुरु भएको जनाइएको छ ।
सरकारले वार्ता गर्ने जानकारी गतहप्ता नै दिएको थियो । त्यसपछि देखि नै सरकारी र विद्रोही दुवै पक्षले वार्ताको तयारी गरिरहेको जनाएका छन् ।
शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका व्यक्तिले मङ्गलबार पत्रकार सम्मेलनमार्फत फिलिपिन्सका कम्युनिष्ट बिद्रोहीसँग सरकारले शान्ति वार्ता गर्न लागेको र त्यसका लागि तयारी जारी रहेको बताएका हुन् ।
उनीहरुले वर्तमान सरकारले फिलिपिन्समा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका कम्युनिष्ट बिद्रोहीसँग वार्तागर्ने तयारी गरिरहेको र सो वार्ता आगामी जुलाई महिनामा हुने जानकारी गराएका छन् ।
यसअघि सन् २०१३ मा आयोजना गरिएको शान्तिवार्ता विना निष्कर्ष टुंगिन पुगेको थियो । त्यसपछि यी दुई पक्षबीच वार्ता सुरु गर्न सकिएको थिएन । नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले सो वार्तालाई पुनः सुरुगर्ने बताउनुभएको थियो ।
राष्ट्रपति डुटेर्ते सत्तामा आएपछि शान्तिवार्ताका लागि पहल सुरु गर्नुभएको थियो । सो पहलस्वरुप नै दुवै पक्षबाट वार्ता टोली पनि गठन गरिएको थियो ।
दुवै वार्ता टोलीद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा आगामी वार्ता जुलाईको तेस्रो साता हुने र त्यसका लागि संयुक्त रुपमा वार्ताको तयारीका काम भइरहेको बताइएको छ ।
फिलिपिन्सको हिंसात्मक बिद्रोह एसियाकै सबैभन्दा पुरानो हो । दशकौँदेखि जारी सो विद्रोहमा परी दशौँ हजार व्यक्तिको ज्यान गएको छ । तर पटक पटकका यसअघिका यस्ता शान्ति वार्ताहरु सफल हुन भने सकेका छैनन् । रासस/एएफपी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।