सूर्यचन्द्र बस्नेत/सिबी अधिकारी
काठमाडौँ, ६ असार । सगरमाथाको चुचुरोमा पुग्दा मौसम सफा छ भने निलो आकास र सेताम्य हिमालको प्रकृतिको सुन्दर दृश्य देखिन्छ । मौसम बिग्रँदा त्यस्तो सौन्दर्यको मज्जा लिन सकिँदैन । तैपनि महँगो रकम र ज्यानको जोखिम राखेर सगरमाथाको चुचुरोमा पुग्ने सपना साहसी आरोहीमा किन हुन्छ भन्ने लाग्थ्यो फुर्वा तेन्जिङ शेर्पालाई ।
“चुचुरोमा पुग्दा के के न होला जस्तो लाग्थ्यो तर माथि पुग्दा केही पनि छैन, मौसम राम्रो भए सुन्दर दृश्य देखिने हो, नत्र वरिपरि अँध्यारो र केही देखिँदैन”–वसन्त ऋतुमा दशौँपटक सगरमाथाको चुचुरो चुमेका फुर्वा तेन्जिङ शेर्पाले भने ।
तर सगरमाथा चढ्नु ठट्टा भने पक्कै होइन । चुचुरो चुम्दाको महत्व भने आधारशिविर फर्कंदा थाहा हुन्छ । “आधारशिविर फर्कंदा शिखर चढेको गौरव, कीर्तिमान र पहिचान हुन्छ, दुनियाँले चिन्छ त्यतिखेर भने आनन्द लाग्छ” – पटकपटक सगरमाथा चढ्नुको रहस्य खोतल्दै फुर्वाले भने ।
सगरमाथा आरोहणमा शेर्पाको पहिचान संसारभर छ । फुर्वाले पनि यो प्रसिद्ध भनाइको मर्मलाई मर्न दिएका छैनन् । “नाम पनि शेर्पा, काम पनि शेर्पा” – कीर्तिमानी शेर्पाले भने ।
तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखरमा पहिलो मानव पाइला टेके । त्यसयता ६३ वर्ष अवधिमा करिब सात हजार ५०० पर्वतारोही शिखरमा पुगे । आरोहणकै क्रममा करिब २८० आरोहीले ज्यान गुमाए । यस वर्ष एक नेपालीसहित छ विदेशीको आरोहणक्रममा निधन भयो । विश्वका १४ वटा आठ हजार अग्ला हिमालमध्ये नेपालमा आठवटा छन् ।
दोलखा गौरीशङ्करका २६ वर्षीय फुर्वाले गाइड र नेतृत्वकर्ता भएर सन् २०१३ सम्म २४ वर्षको उमेरमै १० दिनमा दुईचोटि, तीन दिनमा दुईचोटि र २४ वर्षको उमेरमा नौपटक गरी तीन विश्व कीर्तिमान बनाए । उनले २६ वर्षमा दशचोटि सगरमाथा चढ्ने अरु नभएको बताए । आप्पा शेर्पाले सबैभन्दा धेरै २१ पटक र सबैभन्दा कम उमेर १६ वर्षमा तेम्बाछिरी शेर्पाले आरोहण गरेको कीर्तिमान छ ।
चार हजार २०० मिटर उचाइको हिमालको काखमा अवस्थित दोलखाको गौरीशङ्कर गाविस वेदिङमा जन्मेका फुर्वाको गाउँमा हिमाल चढ्ने ८० बढी छन् । गाउँमै हुर्केका उनले पढ्न पाएनन् । बाध्यता र इच्छाले सगरमाथा चढेको उनका सात दाजुभाइमध्ये पाँचले सगरमाथा चढिसके । दाइहरु क्रमशः पेम्बा ग्याल्जेन पाँच, फुर्वा थुन्डु दुई, पेम्बा दोर्जे ११, निमा ग्याल्जेन छचोटि चढे ।
पेम्बाको दश घन्टाको छोटो समयमा चढेको कीर्तिमान छ । उनले त्यो रेकर्ड पनि तोडेर आठ घन्टा १० मिनेटको अर्को विश्व रेकर्ड बनाए । “परिवेश, साहस र इच्छा शक्तिले चढियो”– पेम्बाले भने । माइला दाइले हिमाल चढ्दा बाटो बनाउने क्रममा ज्यान गुमाए । कान्छा र ठूलो कान्छा सगरमाथा चढे भने एकै परिवारका सातै भाइको कीर्तिमान हुनेछ ।
गाउँमै हुर्केका उनले पढ्न पाएनन् । बाध्यता र इच्छाले सगरमाथा चढेको उनका सात दाजुभाइमध्ये पाँचले सगरमाथा चढिसके ।
सन् २००७ मा तिब्बततिरबाट जापानिज समूहसँग सगरमाथाको चुचुरोतिर उक्लिँदा फुर्वा निकै फुरुङ्ग थिए । यस्तै उमङ्ग उनले १० दिनमा दुईचोटि र तीन दिनमा दुईचोटि चढेर कीर्तिमान राख्दा महसुस गरे । अर्को वर्ष समावेशी महिला र विश्वकै ज्येष्ठ ७७ वर्षीय मीनबहादुर शेरचनसँग उक्लिए । एकचोटि अक्सिजनको माक्स बिग्रेपनि जोखिम लिएर उक्ले ।
सन् २००९ मा नेपाली र अमेरिकी समूहसँग, २०१० मा र ११ मा दुईचोटि सगरमाथा उक्लेका फुर्वा अर्को वर्ष तीनचोटिको प्रयासमा असफल अस्ट्रियाका जोसेफ इन्वलरसँग फेरि चढ्न सफल भए । “शेर्पासँग सगरमाथा चढ्दा सफल र ढुक्क महसुस हुन्छ, सगरमाथा चढ्न सफल फुर्वा साहसी युवा र सगरमाथाका हिरो हुन्”– भूकम्पपीडित र हिमालयन क्षेत्रमा सहयोग जुटाइरहेका जोसेफले रासससँग भने । “जोसेफको जोश ताजै रहेछ, मसँग चढ्न सफल हुँदा उनी निकै रमाएका थिए” – फुर्वाले थपे ।
त्यसपछि दुवै हात नभएका सुदर्शन गौतमसहितको समूहसँग उक्लिएका फुर्वा यसपटक भने मे २० मा हामी पक्कै उठ्नेछौँ भन्ने नेपालको झन्डा लिएर चिनियाँ समूहसँग चढे । सन् २०१४ मा हिउँपहिरोमा १६ शेर्पा र अघिल्लो वर्ष भूकम्पले १८ जनाको ज्यान गएको दुःखद घटनापछि सगरमाथा आरोहण रोकियो । सगरमाथा आरोहण र पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वमा प्रवाह गर्ने सन्देशको झन्डा लिएर फेरि सगरमाथाको चुचुरोमा पुगे फुर्वा ।
बाटो बनाउनुपर्ने, मौसम र अन्य कारणले यसपटक दुई महिना लाग्यो । चुचुरोमा पुग्दा अक्सिजन सकियो । अबचाहिँ फर्कंदैन मर्छ कि भन्ने भयो । उद्धारको कुरा हुँदै गर्दा तल्लो क्याम्पबाट अक्सिजन, पानी र जुस लिएको टोली आइपुगेपछि भाग्यवस बाँचिएको दृष्टान्त सुनाए फुर्वाले ।
“पहिलेपहिले हिउँ पथ्र्यो तर यसपालि मौसम खराव भएर बिहान ५ बजेतिर सगरमाथामा पानी परेको देखियो, नौ पटक चढ्दा प्रायः बिहानै ४ः३० बजेतिरको समयमा रातो, निलो, पहेँलो जस्तो मिश्रित उज्यालो देखिन्थ्यो” – फुर्वाले आफ्नो अनुभव सुनाए । यो याममा करिब ४५० ले सगरमाथा चढे ।
चढ्नु र झर्नु दुवै जोखिमपूर्ण छ । आरोहणमा ज्यान जोगाउने कुराले प्राथमिकता पाउँछ । खुसी, दिउँसोको घाम, निन्द्रा र हावाहुरीले शरीरमा शक्ति कम हुँने हुँदा चढ्दाभन्दा झर्दा बढी जोखिम हुन्छ । चढ्दा लगिएका अत्यावश्यक बाहेकका खानेकुरा, लुगा, पालसहितका सबै सामग्री ल्याउन गाह्रो हुन्छ । त्यसैले सगरमाथामा फोहर एकदमै बढेको फुर्वाको बुझाइ छ । सगरमाथा धेरैले चढेर केही हुँदैन राम्रो ग¥यो भने धेरैले जागिर पाउँछन् र पर्यटन फस्टाउँछ ।
“बाटो बनाउने, सरसफाइ, आरोहीलाई सुविधामा ध्यान दिनुपर्छ, धेरै चढेर केही हुँदैन”– फूर्वाले थपे । एउटा आरोहीको खर्च ५०÷६० हजार डलर पुग्ने उनले सुनाए । फुर्वाले आठ हजार १६५ मिटर अग्लो मनास्लु पनि चढेका छन् । धेरै चुली चढेका उनी विश्वकै सुन्दर र प्राविधिक रुपमा गाह्रो छ हजार अग्लो आमादाब्लाम चुलीको नेपाल पर्यटन बोर्डले २०११ मा उनलाई सद्भावना राजदूत बनायो । सगरमाथा चढ्न बाटो हुन्छ, तर चुलीहरु बाटो बनाउँदै चढ्न र झर्नुपर्छ ।
हिमाल आरोहणमा नाम त छ तर दाम छैन । “ज्यान जोखिममा राखेर सगरमाथा चढिन्छ तर चढ्नेलाई प्रमाणपत्रसमेत नदिने भन्ने कुरा अचेल सुन्न थालेको छु, यो के हो ?” फुर्वाले प्रश्न गरे । उनी १६ जना शेर्पा सगरमाथाको हिउँपहिरोमा परेर ज्यान गुमाउँदा निकै दुःखी भए । खुसी कुन बेला त ? “सगरमाथा चढ्नु ठट्टा होइन, सानो उमेरमा पहिलोपटक चढ्दा र विश्व कीर्तिमान राख्दा निकै खुसी भए” – फुर्वाले भने । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।