सामाजिक सञ्जालमा केही लेख्न सक्ने नै ‘लेखक’ - Naya Online

सामाजिक सञ्जालमा केही लेख्न सक्ने नै ‘लेखक’

sirukharke

सिरुखर्के जेठा


एसिड काण्डको समयमा केही साथीहरुले खुलेरै जीवन बिकको पक्षमा बोलेका थिए, लेखेका थिए । त्यतिबेला ती साथीहरुको मनोविज्ञान हेर्दा/पढ्दा उनीहरुको आवाजमा सामाजिक न्यायको स्वर भन्दापनि बढी जातीय लगाव मात्रै चर्को रुपमा देखा परेको थियो । हरेक अनलाइनहरुमा जहाँ–जहाँ एसिड आक्रमणमा परेर जीवनमरणको लडाइँ लडिरहेका ती दुई युवतीहरुको समाचार आउँथ्यो ती साथीहरु एक हात उफ्रेर ‘ठीक गरिस् जीवन’ भन्दै एउटा अपराधीको पक्षमा प्रतिक्रिया लेख्न भ्याइनभ्याइ जुटेका देखिन्थे । र ती साथीहरुमा अधिकाँश आफुलाई दलित सम्झनेहरु थिए ।

के कुनै अपराधीको थर बिक भएकै कारण या ऊ दलित समुदायको भएकै कारण उसले जे गरेपनि बिकहरुको नजरमा या दलितहरुको मूल्याङ्कनमा ऊ ठीक ठहरिने हो ? सबै जाति या समुदायका मानिसहरुले यसरी नै सोँच्न थाल्ने हो भने हाम्रो सामाजिक चरित्र कस्तो बन्ला ? यो प्रश्नले मलाई धेरै दुखाएको थियो त्योबेला । सामाजिक सञ्जालमा भावनात्मक रुपमा केही नजिक भएका साथीहरुसँग यस विषयमा घम्साघम्सी नै परेको थियो । झोँकाझोँक र प्रतिक्रियामै भएपनि ठोकाठोक चलेको थियो । कतिजनालाई मैले भनेको थिएँ, तपाईँहरुको कुरा सुन्दा हलुका नै लाग्ला तर यसखाले पक्षपोषणले हाम्रो समाजमा दीर्घकालीन रुपमा अवश्यै नराम्रो असर पु¥याउनेछ । जातीय भावनाले प्रेरित कसैले मेरो कुरा सुन्ने अवस्था थिएन, सुनेनन् ।

के कुनै अपराधीको थर बिक भएकै कारण या ऊ दलित समुदायको भएकै कारण उसले जे गरेपनि बिकहरुको नजरमा या दलितहरुको मूल्याङ्कनमा ऊ ठीक ठहरिने हो ? सबै जाति या समुदायका मानिसहरुले यसरी नै सोँच्न थाल्ने हो भने हाम्रो सामाजिक चरित्र कस्तो बन्ला ?

मान्छे कि त असल छ कि त खराब भन्ने दृष्टिकोण राख्दै हुर्केको म, मेरो लागि खराब या असल कुनै धर्म, जात या जाति, समुदाय, राष्ट्रियता या वर्ग हुन सक्दैन । मेरो नजरमा असल या खराब केवल मान्छे हुन्छ । कुनै मानिसले गरेको खराबी उसको नितान्त नीजि कर्म हो । त्यसमा उसको धर्म, जात, समुदाय या राष्ट्रियतालाई मुछ्ने कुरा हुँदैन । तर एउटा मानिसको खराब कर्मको पक्षमा जातीय या सामुदायिक लगावकै कारण आवाज उठ्नु भनेको निश्चय नै राम्रो कुरा थिएन । मेरो सोझो बुझाईमा त्यसले हाम्रो सामाजिक सद्भावलाई अलिकति नै किन नहोस् तर बिथोल्ने काम पक्कै गरेको थियो ।

सँयोग नै होस् तर अस्ति भर्खर पानी छोएको निहुँमा सिराहामा ५९ वर्षे तीर्थलाल बिकमाथि निर्घात कुटपिट हुँदा ईतर समुदायका मानिसहरु त्यसको विरोधमा बोलेको सामाजिक सँजालमा विरलै देख्न पाइयो न त अनलाइनहरुले नै प्राथमिकतामा राखेको देखियो । के यो हाम्रो समाजको सद्भावना सकिएको लक्षण हो ? के यो हाम्रो सामाजिक चरित्र विघटन हुँदै गएको चिन्ह हो ?

सामाजिक सञ्जालमा केही कुरा लेख्न सक्ने मान्छे मेरो नजरमा ‘लेखक’ नै हो । उसले समाजमा केही न केही निर्णायक भूमिका खेल्न सक्छ । उसले लेखेको बोलेको एक–एक शब्द र अक्षरले मेरा लागि अर्थ राख्छ । हामीले सामाजिक सञ्जालमा कस्तो बोल्ने ? कस्तो लेख्ने ? कस्तो दृष्टिकोण राख्ने ? या कस्तो कामको पक्षपोषण गर्ने अनि कस्तोको विरोध गर्ने ? यो कुरा हरेक लेखकहरुले ध्यान दिनैपर्ला अब । हाम्रो लेखनमा र हाम्रो व्यवहारमा असल कर्मको भन्दापनि आफ्नो जात, आफ्नो समुदाय या धर्मको पक्षपोषण देखियो भने हामी एक दिन एक्लो पर्नेछौँ । यो कुुरामा कुनै सन्देह छैन ।

केही समयअघि नेपाली मूलका भारतीय लेखक प्रज्वल पराजुलीको अन्तर्वार्ता हेर्दैथिएँ । उनले कथा उपन्यासहरुमा आफ्नै जातिको खराब पक्षहरुको उजागर गरेको कतिपय मानिसहरुलाई मन नपर्दो रहेछ । उनीहरुले भन्दारहेछन्, ‘तिमी आफै बाहुन भएर पनि किन बाहुनहरुको खराब कुराको बारेमा लेख्छौ ?’ अनि ती मानिसहरुलाई उनको जवाफ यस्तो हुँदो रहेछ, ‘म लेखक हुँ । म मेरो जाति या समुदायको पब्लिक रिलेसन अफिसर हैन ।’ प्रज्वलको यो कुराले मलाई बेस्सरी छोयो । हामी यदि केही न केही लेख्छौँ भने हाम्रो लेखाइमा जातीय या आफ्नो पक्षको महिमा नहोस् । असल कुराको महिमा होस् चाहे त्यो ईतर जाति, धर्म या समुदायकै किन नहोस् । यदि हाम्रो नियत असल छ भने असल कुराको पक्षमा लेख्दा या बोल्दा हामीले आफ्नै पक्षमा लेखिरहेका हुँदा रहेछौँ । बोलिरहेका हुँदा रहेछौँ ।

यत्ति भन्नुथियो आज मलाई ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चुनाव, खेलाँची होकी वास्तविक ?

मलिसा याक्थुङ्बा लिम्बू सर्वव्यापी स्वीकार्य चुनाव गरिनु पर्छ र सहभागी मतदाताहरू निर्विघ्न हुनुपर्छ ।...

कुलुङ लोक–कथाः छेन्दीपत र बीरमुख

निनाम लोवात्ती विश्वकै प्राचीन महाजातिमा गनिने किरातीभित्रका कुलुङ जातिमा दन्त्य–कथा, लोक–कथा, लोक–मान्यता, लोकवार्ता, एवम्...

एकात्मक राज्यसत्तालाई लिम्बुवानको माग राख्नु कायरता हो

मौसम आङ्देम्बे पापोहाङ वि.सं. १८३१ साउन २२ गते गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धि...

किताबभित्रका कुरा: खास नेपाली कविताहरू ‘इतर कविता’

प्रकाश दिप्साली राई हामी राज्यको बेवास्ता र हेलचेक्राईका कारण आफ्नो परिवार रुखोपाखो छाडेर हामीे...

पुस्तक अंश: ‘बुढाको तरुनीलाई पाहुना मान्नैपर्यो’

कल्पना आङ्बुहाङ “पाहुना आउनु त आउनु, तेरो बाउको तरुनी पनि कसोरी आएर बस्नु ?”...