सुमि चाम्लिङ
“दिक्तेल बजार कान्छा दिक्तेल बजार, अर्काकी छोरीलाई नलाउ नजर” भन्ने पूर्वेली लोक भाकाको गीत गाएर चर्चित बनेकी गायिका सुमि चाम्लिङ खोटाङको रतन्छामा जन्मिएकी हुन । गायिका नै बन्छु भन्ने कुनै उद्देश्य नभए पनि गीत संगीतप्रति उनको मोह भने सानैदेखि थियो । उनको दोश्रो एल्बम जबसम्मको शीर्ष गीत ‘जबसम्म…’ बाट इमेज अवार्डमा सर्वोत्कृष्ट नवगायिकाको अवार्ड पनि पाएकी सुमिले “बोले नि हुन्छ नबोले नि हुन्छ” भन्ने बोलको गीतमा अभिनय पनि गरेकी छिन् । उनै सुमि चाम्लिङसंग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
‘बोलेनी, नबोलेनी’ भन्ने गीतको भिडियोमा दमदार अभिनय गर्नु भएछ नि । अभिनय गर्दा कस्तो महसुस भयो ?
म नायिका भन्दा पनि गायिका हुँ । यो गीतमा चाहिँ, मेरा अभिभावकले नै अभिप्रेरित गरेको हुनाले अभिनय गरेकी हुँ । हलिवुड, वलिवुडतिर आफै गाउने आफै अभिनय गर्ने चलन छ । त्यसकै सिको गर्न खोजेकी त हैन तर यहाँ पनि यसो गर्दा कस्तो हुन्छ भन्ने लागेर एक पटक अनुभव गरिण्हेरेकी हुँ । तर अभिनय गर्दा एकदमै गाह्रो हुदो रहेछ । गीत गाउन सजिलो लाग्यो तर अभिनय गर्न धेरै गाह्रो भयो ।
आजसम्म कति वटा गीत रेकर्ड गरि सक्नु भयो ?
धेरै गीत रेकर्ड गरेकी छुइनँ । एक दर्जन जति मेरो गीतहरू रेकर्ड भएका छन् । अरु गीतहरू रेकर्ड हुने क्रममा छन् । ‘दिक्तेल बजार कान्छा दिक्तेल बजार, हितैको मायालाइ लाए नजर’ यो गीत राम्रो चलेको गीत हो ।
अब यस्तै अर्को गीत कहिले सुन्न पाउने हामीले ?
हजुर, यो गीत राम्रै चलेको गीत हो । मैले गीत गाउन सुरु गरिसकेको छु । म निरन्तर गीत संगीत क्षेत्रमा लागिरहेकी छु । अब चाडै नै अर्को गीत सुन्न पाउनु हुने छ । रेकर्डिङ हुँदैछ ।
‘बोलेनी, नबोलेनी’ भन्ने गीतमा श्रोता/दर्शकहरूको प्रतिक्रिया कस्तो रह्यो ?
यो गीत बाहिर आएपछि, जो जतिले सुन्नु र हेर्नु भएको छ । उहाँहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाएकी छु । हुन त अरु गीतबाट पनि राम्रै प्रतिक्रिया पाएकी थिएँ । तर यो गीतमा अरु गीतहरूबाट भन्दा धेरै माया पाएकी छु । तिमीले केही गर्न सक्छौ, राम्रो छ, अझै निरन्तर गर्दै जाउ भन्ने हौसला पाएकी छु ।
गीत संगीत क्षेत्रमा कसरी लाग्नु भयो ? तपाइको पारिवारिक पृष्ठभूमिमा कोही यो क्षेत्रमा हुनु हुन्थ्यो ?
हैन, मेरो परिवारमा कोही यो क्षेत्रमा हुनु हुन्न थियो । मेरो परिवार लाहुरे पृष्ठभूमिको हो । तर मलाइ सपोर्ट चाहिँ गर्नु भयो । मेरो परिवारको सपोर्ट र मलाइ ईश्वरले दिनु भएको उपहार स्वर हुँदा यो क्षेत्रमा आउने चाहना भयो । सुरुमा त परिवारबाट यो क्षेत्रमा आउन इन्कार गर्नु भएको थियो । तर जब म खोटाङबाट काठमाडौ आए त्यसपछि म संगीत सिक्न सुरु गरे । त्यस पछि मेरो परिवार, मेरो गुरु र साथीहरूबाट राम्रो सपोर्ट पाएकी छु । सबैको साथ र सहयोगबाट नै म यो क्षेत्रमा आएकी हुँ ।
तपाईं सानोमा के बन्छु भनेर सोच्नु भएको थियो ?
सानो हँुदा त्यस्तो खासै केही सोचेकी थिइनँ । त्यतिबेला गाउमा टेलिभिजन थिएन रेडियोबाट अग्रजहरूको गीत सुन्दा गायिका हुन मन लाग्थ्यो । अनि समाजसेवा गर्नु पनि मन लाग्थ्यो ।
पूर्वेली लोकभाकाहरू हिजोआज खासै बजारमा सुन्न पाइँदैन । तर तपाइहरू नयाँ नयाँ जोस जाँगर लिएर आउनु भएको छ । अब पूर्वेली लोकभाकाहरूको दिन आएको हो ?
भनाइ नै छ नि ‘ओल्ड इज गोल्ड’ । लोक गीत भनेको गीत संगीतको मेरुदण्ड हो । यो छापावाल सुन हो । यो कहिल्यै तेजाबी सुन हुदैन । अग्रजहरूले धेरै मिठा मिठा गीतहरू गाउनु भएको छ । त्यसमाथि हाम्रो पूर्वेली लोक भाकाहरू त अत्यन्तै मीठो हुन्छ । पहिला भन्दा केही लोप हुँदै आएको जस्तो देखिए पनि त्यो भ्रम मात्र हो । पूर्वेली लोक भाकाहरू हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ ।
हिजो आज हाम्रो पुरानो लोक बाजाहरू खैजडी मुर्चुङा, बिनायो र मादलु लोपोन्मुख छ । केही संघ संस्थाहरूले यसको संरक्षण र प्रयोगको पहल पनि नगरेको हैन । यसरी हाम्रो परम्परागत लोक बाजाहरू लोपोन्मुख हुनु राम्रो हो र ? तपाईं कलाकारहरूले यसको संरक्षण र सम्बर्द्धन गर्नु के पहल गर्न सक्नु हुन्छ ?
यो त राम्रो हैन र त्यसरी हराउनु पनि दिनु भएन । आज जति नै आधुनिक बाजाहरूको प्रयोग गरे पनि पुरानो लोक बाजाहरूको महत्व र मिठास अलग्गै छ । मर्चुङा र खैजडी, बिनायो र मादलु बजेको सुन्दा छुट्टै आनन्द आउँछ मनमा । यसको लागि हामी सबै जना लाग्नु पर्छ ।
अब तत्कालै के गर्दै हुनु हुन्छ ? कुनै गीतहरू बजारमा ल्याउदै हुनु हुन्छ कि ?
अब लोक भाकाको नयाँ गीतहरू ल्याउदै छु । साथै अरु विधाको गीतहरू पनि रेकर्डिङ हुने क्रममा छ । तर एल्बमको नाम भने जुरि सकेको छैन । नाम जुरे पछि भन्ने छु ।
अहिलेको सन्दर्भमा गीत गाएर पैसा कमाउन त गाह्रो छ । पहिलाको जस्तो एल्बम निकालेर बेचौला भन्न सकिन्न । सीआरवीटी/पीआरवीटीबाट के कस्तो छ कमाइ ? म्युजिक कम्पनीबाट केही साथ सहयोग पाउनु भएको छ कि ?
मलाइ चाहिँ यो बारेमा केही थाहा छैन । अरुलाइ के कसो गर्नु भएको छ ? त्यो म भन्न सक्दिनँ । सीआरवीटी/पीआरवीटी त पनि चलेको छैन भनेर माया मार्नु पनि भएन । भित्रै आत्मादेखि रुचि भएको गीत गाउनु पर्छ । यहाँ कमाइ छैन भनेर चुप बस्नु पनि भएन । म चाहिँ कमाउछु भनेर यो क्षेत्रमा आएको पनि हैन । केही गर्नु पर्छ भनेर आएको हुँ ।
गीत संगीतबाहेक अरु केही गर्नुहुन्छ कि ?
म गीत संगीतबाहेक व्यावसायमा पनि संलग्न छु । सानैदेखिको रोजाई भनेको संगीत, व्यावसाय र समाजसेवा हो । म यो तीनैक्षेत्रमा सक्रिय छु ।
देश बिदेशमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरूलाइ के भन्न चाहानु हुन्छ ?
जति पनि देश भित्र र बाहिर रहनु भएका दाजुभाइ दिदिबहिनीहरूलाई के भन्न चाहान्छु भने, बोलेपनी नबोले पनि भन्ने गीत यूट्युवमा रिलिज भईसकेको छ । सुनेर, राम्रो नराम्रो प्रतिक्रिया दिनुहोला । अरु गीतहरू पनि चाडै ल्याउदै छु । सुनिदिनु होला भन्न चाहान्छु ।
प्रस्तुतिः इन्द्र जिजीविषा
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।