देवेन्द्र सुर्केली
‘एक व्यक्तिले कति काम गर्न सक्छ ?’
धेरै गर्न सक्ने क्षमता हुन्छ । तर थोरै प्रतिशत मात्रै गरेर जुनी बिताईरहेका हुन्छन् । धेरैजसो मानिसहरू थोरै काम गरेर धेरै गरेको भनी बखान गरेरै बिताउँछन् ।
त्यसमा अपवाद हुन् प्रविण पुमा । जसको वायोडाटा मात्रै छाप्ने हो भने पनि पत्रिकाको पाना भरिन्छ । वायोडाटा पनि एकै विषयमा मात्र केन्द्रीत छ, त्यो हो नाटक । नाटक लेखन, अभिनय, निर्देशनमा होमिएका पुमाले ८ वटा नाटकका पुस्तक, २४ नाटकमा लेखन, अभिनय र निर्देशन गरेका छन् । बाँकी तीन पुस्तक पनि मिथक अनुसन्धानमै केन्द्रीत छ ।
वि.सं.२०३५ चैत ७ गते चिसापानी–७, खोटाङमा जन्मिएका पुमाले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा एम.फिल.गरेका छन् । सुम्निमा थिएटर एकेडेमीका संस्थापक अध्यक्ष, नाट्यकर्मी महासंघका उपाध्यक्ष रही काम गरेका पुमा, रङ्गमञ्च, साहित्य तथा कलासित सम्बन्धित विभिन्न संस्थामा आवद्ध छन् । उनी पछिल्लो समय मुन्दुम अध्ययन अनुसन्धानमा पनि सक्रिय छन् ।
२०४५ सालमा सुम्निमा नाटकमा ‘होङछा’ पात्रको अभिनय गरेर यस क्षेत्रमा पाइला राखेका हुन् पुमाले । उनी सम्झन्छन् –“त्यस समयमा घरघरका खाट, तन्ना भेला पारेर स्टेज बनाउने अनि नाटक मञ्चन गरिन्थ्यो ।” त्यस कामले नै पुरै जीवन नाटकमै बिताउनेसम्मको योजना बन्यो ।
वर्षेनी नाटकमा अभिनय गर्दै आएका पुमालाई लेखनक्षेत्रमा पनि अगाडि बढ्ने सुर कसे र वि.सं. २०४९ मा ‘सुम्निमा पारुहाङ’ लेखे । त्यसपछि अगाडि बढेको लेखन सुम्निमा, हेन्खामा–निनाम्मा, सुम्निमा पारोहाङ, हेत्छाकुप्पा, निनाम्मा, साया र होङ्छा, स्मृति नाट्यकृतिको सिर्जना गरिसकेका छन् भने किरात पुमा राई शब्दको (शब्दसङ्ग्रह), किरात मुन्दुमः दोङवाङ–दोङदापा, बुढाहोङ मुन्दुमः परिचय पाठ र विश्लेषण (अनुसन्धान) कृति पनि प्रकाशित छन् । उनले सुम्निमा चलचित्र पनि लेखेका छन् ।
उनी मुन्दुमलाई नाट्यकरण गर्ने एकमात्र व्यक्ति हुन् भन्दा अन्यथा नहोला । यसबारे उनी भन्छन् –“म काम गर्छु, गफ होइन । तर फरक किसिमले । नेपाली नाट्य घटनामा नै । तर केही साथीहरू विदेशी संस्कृतिमा नाटक गरिरहेका छन् । त्यसले मन करक्क खान्छ । तर नेपालीले त नेपालकै कुरा लेख्नुपर्छ । अनि खोजी गरेँ, बालनको । बालन नाटक देखेँ । मुन्धुमी नाटक खोजेँ तर भेटिन । त्यसैले मुन्धुमी नाटक लेखेँ । तर, मैले समकालीन अन्य विषयमा पनि काम गरेको छु ।”
सुम्निमा थिएटर एकेडेमीको संस्थापक अध्यक्ष, सयपत्री युवा समितिको संस्थापक सचिव, किरात पुमा राई तुप्खाबाङखालाको संस्थापक संयोजक÷सचिव, किरात राई चलचित्रकर्मी सङ्घको संस्थापक अध्यक्ष, त्रिभुवन विश्वविद्यालय थिएटर एकेडेमीका संस्थापक संयोजक÷महासचिव, आदिवासी जनजाति चलचित्र महासङ्घका कोषाध्यक्ष, नाट्य संस्था महासङ्घका सदस्य, नाट्यकर्मी महासङ्घ नेपालका उपाध्यक्ष उनी सक्रिय रहेका संस्थाहरू हुन् । त्यसैगरी किरात राई यायोक्खाका सदस्य, किरात राई प्रज्ञा परिषद्का प्राज्ञ सदस्य, रावासावा प्राज्ञिक समाका कोषाध्यक्ष, व्रिटिस गोर्खा नेपाली परिषदका उपाध्यक्ष, जुपिटर टोल सुधार समितिका कार्यकारी सदस्य र खोटाङ सेवा समाज युके अन्र्तगतको एम्बुलेन्स सेवा समितिको कार्यकारी सदस्य रहेका छन् ।
–“म काम गर्छु, गफ होइन । तर फरक किसिमले । नेपाली नाट्य घटनामा नै । तर केही साथीहरू विदेशी संस्कृतिमा नाटक गरिरहेका छन् । त्यसले मन करक्क खान्छ । तर नेपालीले त नेपालकै कुरा लेख्नुपर्छ । अनि खोजी गरेँ, बालनको । बालन नाटक देखेँ । मुन्धुमी नाटक खोजेँ तर भेटिन । त्यसैले मुन्धुमी नाटक लेखेँ । तर, मैले समकालीन अन्य विषयमा पनि काम गरेको छु ।”
नाटकमा मुन्दुमलाई प्रमुख स्थान दिने प्रविणलाई नाटककर्म वृतमा ‘किराती नाटककार’ पनि भन्ने गर्छन् । तर उनी यो कुरालाई ठाँडै नर्काछन् र भन्छन् –“केही मुर्ख विद्वानहरूले किराती नाटककार भनेका पनि छन् । सर्वप्रथम, म नेपाली हुँ । मसँग नेपाली नागरिकता छ । त्यसैले नेपालीमा लेखिएका नाटकहरू पनि नेपाली नाटक नै हो । अब कुरा रह्यो, किराती नाटकको । तर नेपालमा धेरै भाषा–संस्कृतिहरू छन् । त्यसमध्येको किराती भाषा–संस्कृति पनि एक हो । यो भाषा–संस्कृति नेपालको सम्पत्ति हो । तर यो सम्पती सिमान्तकृत छ । त्यसलाई नाटकमा बाहिर ल्याएको हुँ । नाटकले जीवन दिने हो । जीवनमा धेरै कुराहरू हुन्छन् । तर, नाटकमा दर्शकको चाहनालाई समेटिएको हुन्छ । मैले किराती नाटकमात्रै होइन, अरू संस्कृतिमा पनि नाटक लेखेको छु । अव सिमान्कृत विषयवस्तुलाई नाटकमा बाहिर ल्याउँदा किराती नाटककार भनियो भने घोर अपमान हुन्छ ।”
पछिल्लो समयमा नेपालको नाटकक्षेत्र धेरै माथि उक्लिएको चर्चा गरिछ । तर पुमाको विचार केही फरक छ । केही नाटकहरू काठमाडौं, पोखरा, विराटनगरमा भयो भन्दैमा राम्रो भो भन्न नमिल्ने उनको तर्क छ । नाटकमा नेपाली पहिचान छ कि छैन, त्यो महत्त्वपूर्ण कुरा हुने उनी बताउँछन् । उनी सम्झन्छन् –“सन् २०१२ मा सिक्किममा नेपाली नाट्य नीति सोधियो । तर रातो न पिरो भएँ । तैपनि नेपाली नाट्य नीतिमा नेपाली राष्ट्रियता रहेको उत्तर दिएँ । तर वास्तवमा नेपाली नाट्य नीति नै छैन । भएकाहरू पनि भद्रगोल नै छन् । नाटकको नीतिको बारे सोचिएको पनि छैन । तर नाटकमा नेपाली संस्कृति आउनु पर्छ । नेपाली संस्कृतिको नाटक नै नेपाली नाटकको पहिचान हो ।”
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।