मनिषा थापा ‘तोर्पिनी’
(धादिङ जिल्ला घरभई हाल राजधानीमा बसोवास गरिरहनु भएकी कलाकारिताको क्षेत्रमा नवप्रवेशी मनिषा थापा सँग उहाँको कलाकारिता र त्यसका चुनौतिका विषयमा गरिएको संवादको सम्पादित अंश । मनिषा थापालाई नेपाल टेलिभिजनको हास्य श्रृङ्खला भद्रगोल मार्फत तोर्पिनीको नामले समेत चिन्ने गरिन्छ ।)
कलाकारितामा प्रवेश कसरी भयो ?
म पहिल्यै विद्यालय तहदेखि नै कलाकारिताको क्षेत्रमा निकै रुची राख्ने गर्थें । सानै देखिको कलाकारिताको क्रेजले गर्दा आज मोफसलबाट संघर्ष गर्दै यहाँसम्म ल्याइपुर्यायो ।
कलाकारिताको यो आज सम्मको यात्राले के दियो ?
म कलाकारिताको पनि रंगमन्चबाट आएको एउटा पात्र हुँ । फिल्मी दुनियाँबाट भन्दा पनि नाटकको पर्दाबाट बाहिर आउनु नै मलाई श्रेयकर लाग्छ । समग्रमा आजसम्म यसले दिएको त सन्तुष्टि नै हो जस्तो लाग्छ ।
कालकारिताको यो पाटो तपाईंको रहर हो कि करियर नै यसमा देख्नुहुन्छ ?
हुन त रहरले नै मान्छेलाई सफलताको उचाईमा लैजाने पक्ष हो । बिना रहरको प्रयासले सार्थकता पनि खासै नपाउँन सक्छ । तर यतिबेलाको नेपाली कलाकारहरूको यो अवस्थालाई हेर्दा म जस्ता नव प्रवेशीहरूको हविगत झन बिजोगलाग्दो पनि छ । समग्रमा मैले आजसम्म सफलताको लागि गरेको रहर हो भने करियरकै सवालमा यो हालतमा नेपाली कलाकारको करियर छैन नै ।
यसरी रहर मात्रै हो भने भोली तपाईँ कलाकारिताको यो संसारमा कतै हराउनु हुने त हैन ?
कलाकारिताको यो क्षेत्रलाई फिल्म र पर्दाको आँखाले हेर्दा त हराउन पनि बेर लाग्दैन तथापि म फिल्म भन्दा पनि रंगमन्चबाट माथी आउने भएको कारणले पनि नाटकको पर्दाले नै मलाई माथी ल्याउँछ न कि सिनेमाले ।
थियटरबाट उकालो लाग्दै गर्दा आफ्नो जीवनको रंग चाहिँ कस्तो देख्नु भयो ?
म नाटकको पात्र भएर पनि मैले जीवनलाई नाटकको संज्ञा दिने गरेको छु । जीवन एउटा मरणोपरान्त खेलिने नाटक हो । कतै सजिव भएर भने त कतै निर्जिव भएर पनि । दुख सुख अनि हाँसो र आँशुको संगम हुने यो जीवन नाटक हो जसको रंग यस्तै हो भनेर किटान गरिहाल्न सक्ने खालको पाइँन मैले ।
तपाईंको मूल्याँकनमा काठमाण्डौ र धादिङको फरकपन के भेट्नुभयो ?
चाँदी र सुनमा के फरक छ भनेको जस्तै हो यो । हुन त यो दुबै धातु त हो महत्व के को बढी भन्ने कुरा मुख्य हुन आउँछ । धादिङमा कलाकारिताको कुनै स्पेश छैन भने राजधानीमा धेरै स्पेश छ फरक भनेकै यही हो ।
हिजोको भद्रोगलमा तोर्पिनीको कन्सेप्ट कहाँबाट आयो नि ?
तोर्पिनीको कन्सेप्ट मेरो होइन । यसमा ठूलो हात भनेको खुपिका बाऊ यानेकी कमलमणी नेपाल दाईको रहेको छ । जब उहाँले भद्रगोलमा आउन भन्नुभयो त्यो बेला मैले कुमार र अर्जुन दाईलाई पनि भेट्न पाएँ । उहाँहरूले पनि मलाई चान्स दिनुभएको हो भन्न चाहन्छु अहिले । तोर्पिनी त मलाई सिरियलमा मात्रै दिइएको एउटा रोल नेम मात्रै हो ।
रिल लाईफ र रियललाईफमा फरक के छ ?
उही पुरानो हात्ती बलियोकी हात्तीछाप चप्पल बलियो भनेजस्तै हो । (…….खित्काको हाँसो….) नर्मल जीवनमा खेल्ने हरेक भूमिकाहरू सजिव बनाएर क्यामेराको अगाडि देखाउने हो । खासै हामीले जीएको जीवन पनि एउटा नाटक हो जहाँ वास्तविकतको पनि झल्को आउने गर्दछ । खासै फरक छैन ।
तोर्पिनी हुँदा त तपाईं तोर्पेको गर्लफ्रेन्ड भएर भूमिका निर्वाह गर्नुभयो । तर वास्तविक जीवनमा कसैको गर्लफ्रेन्ड हुनुभएको छ कि छैन ?
निकै अनकनाउँदै………..खै…..खै…..खै…. हा..हा…हा..
मनिषा थापा आफैँले आफैँलाई कसरी चिनेको छ ?
म एउटा थिएटरको कलाकार हुँ । कलाकारिताको बाटोबाट गन्तव्यको संघर्षमा लागिरहेको छु ।
राम्री हुनुहुन्छ, यो रूपको कत्तिको घमण्ड गर्नुहुन्छ ?
म राम्री छु भनेर मैले कहिल्यै भनेको पनि छैन र व्यवहारमा त्यो देखाएको पनि । मलाई आजसम्म कसैले राम्री भनेको सुनेको पनि छैन बाहेक तपाईं । जसले मलाई राम्री देख्नुहुन्छ, त्यो उहाँको हेराईको कमाल हो । रूपको घमण्ड मलाई छैन ।
कहिलेकाँही केटाहरूले तपाईंलाई देखेर सिटी बजाउँदैनन् ?
कहिलेकाँही ।
नेपाली चलचित्र उद्योगमा तपार्इँजस्ता नवप्रवेशीहरू कस्तो रूपमा अटाएका छन् ?
कलाकार भएर एक्टिङ गरेर नेपाली फिल्म क्षेत्रका कसैको पनि भविष्य गतिलो छैन भने मेरो त के कुरा । यति भनेँ ।
मेसो मिलाएर शो लिएर विदेश हान्निएका कलाकार उतै लुकेर बस्नु राम्रो हो ?
विल्कुलै होइन । त्यो त बेइमानी हो भन्ने मलाई लाग्छ । यो माटोले उसलाई त्यहाँसम्म पुर्याएर ठाउँ पाउँदा देशलाई नै लातमार्नु कलाकारको गद्दारी हो भन्ने मलाई लाग्छ । तर नलुकोस् पनि कसरी र ? देशलाई उसले जीवनका सबै तागतहरू सुम्पेर पनि देशले उसको बिहान बेलुकाको चुल्हो बाल्दैन भने उसले गरेको व्यवहार पनि एक हद सम्म त ठिक हो तर सबै जायज भने होईन ।
फिल्ममा त तपाईंहरू जस्तो नयाँ अनुहारलाई त डाइरेक्टरहरूले प्रयोग गर्छन् भन्ने सुनिन्छ नि ?
हो धेरै डाइरेक्टरहरूको टार्गेट भनेको प्रयोगवादी नै हुन्छ । उनीहरू फिल्ममा नयाँ नयाँ अनुहारहरूलाई स्थान दिने बाहानामा उनीहरूलाई लुटिरहेका हुन्छन् । तर केही यस्ता पनि डाइरेक्टरहरू छन् जसले फिल्मको क्वालिटीलाई ध्यान दिइरहेका हुन्छन् । नयाँ अनुहारको प्रयोगवादी सोच उनीहरूमा हुँदैन । मैले जति संगत गरेको छु, राम्रा डाइरेक्टरहरू नै पाएको छु । यदि प्रयोगवादी डाइरेक्टरसँग संगत गरेको भए आज म पनि डेढ दुई दर्जन फिल्म खेलिसकेको अवस्थामा हुन्थेँ होला ।
यस्तो अवस्थालाई अन्त्य गर्न तपाईंजस्ता महिला कलाकार कसरी लाग्नुपर्ने देखिन्छ नि ?
त्यसको लागि त आपूm र आफ्नो कलाकारीय भविष्य लाई नजिकबाट नियाल्नु जरुरी छ । आफू कसैको प्रयोगमा छु, वा आफ्नो अस्तित्वको सवाल उठाइरहेको छु भन्ने बुझ्नु नै जरुरी छ । यसको सबै भर आफैँमा छ । आफू आफैँमा स्ट्रङ्ग हुने हो भने यो अवस्थाको अन्त्य आफैँ हुन्छ ।
नेपाली राजनीतिलाई कसरी हेर्नुभएको छ ?
भद्रगोल छ, डामाडोल छ । खासै मलाई चासो त लाग्दैन तर पनि राम्रो छैन भन्ने चैँ पक्कै हो । जनताले सुख पाएका छैनन् । रोएर बाँचेका छन् । त्यो चाहिँ देखेको छु ।
यस अनलाइनमार्फत आफ्ना आम दर्शकहरूलाई के भन्नुहुन्छ ?
म नेपाली नाट्य क्षेत्रको कलाकार हुँ । ठूलो पर्दामा भन्दा पनि रियल पर्दामा मैले पर्फम गर्ने हो । मेरो पर्फमलाई हेरेर गाली र ताली दुबै चाहन्छु ।
संवार्ताकार द्वय: प्रकाश परिष्कार/कुमार यात्री रामेछाप ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।