इटहरी, ३० जेठ । किरात राई संस्कृति जोगाउन पहिलो पटक धरान–१० स्थित सैनिक भवनमा आयोजित दुईदिने किरात राई चलचित्र महोत्सव आइतबार सम्पन्न भएको छ ।
महोत्सवमा किरात राई धर्म, संस्कार र संस्कृतिलाई समेटेर निर्माण भएका चलचित्र एवम् वृत्तचित्र प्रदर्शनी गरिएका थिए । किरात राई जातिका पहिलो चलचित्र निर्माता एवम् निर्देशक रहेका डिक बान्तवा राईद्वारा निर्देशित चलचित्र सिम्मा प्रदर्शनबाट महोत्सवको शुभारम्भ गरिएको थियो । महोत्सवमा विभिन्न ६ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गरेको यो महोत्सवमा पहिलो किरात राई जातिको धर्म, संस्कार र संस्कृतिको जगेर्नाका लागि चलचित्र निर्माण गरेको योगदानको कदरस्वरुप डिकलाई सम्मान गरिएको थियो ।
किरात राई चलचित्रकर्मी सङ्घको आयोजनामा भएको महोत्सवमा दिनेश राईले निर्देशन गरेको चलचित्र आँसु र सालिक, सताशकले निर्देशन गरेको चलचित्र राई बान्तवा, सरिता गुरुङले निर्देशन गरेको रिसिम, नैना जेरुङ राईले निर्देशन गरेको चलचित्र मेरो पहिचान, जिमी राई उत्थान समाज सोलुले निर्माण गरेको चलचित्र सेग्रो प्रदर्शन गरिएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।