किशोर सम्बाहाम्फे (खेलाडी, अभिनेता)
आम्बुङ ९ कोबेक तेह्रथुममा जन्मेका किशोर सम्बाहाम्फे बहुप्रतिभाको धनी हुन् । झल्यास हेर्दा खाइलाग्दो शरिर लाहुरेजस्तो भएका किशोर सम्बाहाम्फे चलचित्रको पर्दामा अभिनय गर्ने कलाकार मात्रै हैन, वास्तविक जीवनमा बक्सिङ खेलका हिरो पनि हुन् । नेपाली कथानक चलचित्र जिन्दगानीबाट अभिनय यात्रा शुरूवात गरेका किशोर सम्बाहाम्फेले ज्वालामुखी, चण्डाल, आफ्नो बिरानो, वसन्त ऋतु, छिमेकी, सायद, रातो घर, सरप्राइज हँुदै आजसम्म उनले ४० वटा भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् भने चलचित्र पार्सलबाट निर्माता पनि बनेका छन् । बक्सिङ खेलका प्रशिक्षक किशोर अहिले धनकुटामा कार्यरत छन् । खेलकै शिलशिलामा रसिया जानुपर्ने किशोर चलचित्र पार्सलको निम्ति रसिया आफ्नो बदलामा अर्कैलाई पठाएर आफु भने हङकङ जादैछन् । चलचित्र पार्सलको रिलिज मिति तय गर्न र हङकङ यात्रा तयारीको लागि काठमाडौ आएका किशोर सम्बाहाम्फेसँग गरिएको कुराकानी ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले चाही म आफ्नो कम्पनीबाट निर्माण गरिएको चलचित्र पार्सल देश विदेशमा प्रदर्शन गराउन समय निर्धारण गर्न काठमाडौ आएको छु । अब म तत्कालै चलचित्र पार्सल लिएर हङकङ जादैछु ।
तपाइ लाहुरे नबनेर किन कला क्षेत्रमा आउनु भयो ?
मेरो पालामा लाहुरे त्यति चासो पनि थिएन र अर्को कुरा मेरो बुबाले पढेर केहि गर भन्नु हुन्थ्यो । पछि बक्सिङ खेल्न सुरु गरे, त्यसपछि चलचित्र क्षेत्रमा लागेँ ।
अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?
सानो/ठुलो पर्दागरी चलचित्र गरेर ५० भन्दा माथी नै पुगेको छ । राम्रो फिल्म भन्नुपर्दा चाही थोरै छ । अहिले पछिल्लो समयमा आएर चाही म चलचित्र निर्माणतिर लागेको छु ।
तपाई होम प्रोडकसन मार्फत आजसम्म कतिवटा चलचित्र निर्माण गरिसक्नु भएको छ ?
मेरो होम प्रोडक्सनबाट बनेको चलचित्र चाही ‘पार्सल’ पहिलो हो । अब आगामी दिनहरूमा निरन्तर निर्माण गर्दै जानेछ । यो भन्दा अगाडी चाही म अरुकै प्रोडक्सनमा जोइन भेन्चरको रूपमा काम गरेको थिएँ ।
पार्सल चलचित्र कस्तो चलचित्र हो ? यो फिल्मको मुख्य बिषय वस्तु के हो ?
पार्सल भन्नाले कसैले पठाइ दिएको कोशेली नै पार्सल हो । त्यो राम्रो पनि हुन सक्छ, नराम्रो पनि हुन सक्छ । बिदेशबाट आएको ‘डेथ बडी’ पनि पार्सल नै हो । पार्सल हाम्रो कथा हो । हामी ले यसलाई एउट पार्सलको रूपमा मात्र नभएर विषयकोको रूपमा इस्यु पनि गरिएको छ । त्यो चाही फिल्म हेरेर थाहा हुन्छ ।
यो चलचित्र कहिले सम्म दर्शकमाझ आउला त ?
अहिले मिति तय भै सकेको छैन । यहि मिति तय गर्न म यहा आएको छु । पहिला धरानमा एक पटक फिल्म देखाएको थिएँ । त्यहाका दर्शकहरूले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिनु भएको छ । यो चलचित्र काठमाडौदेखि ताप्लेजुङ सम्मको रमणीय स्थानमा छायांकन गरिएको छ । यहि जुलाईमा हङकङमा प्रदर्शन हुदैछ । त्यही बिचमा सिंगापुरमा पनि हुदै छ । नेपालमा चाही मंसिरमा प्रदर्शन गर्ने तयारी हुदै छ । मिति भने टुङ्गो लागेको छैन ।
पहिला विद्यार्थी जीवनमा राजनीति पनि गर्नु भएछ, त्यो समयमा किन र केका लागि राजनीति गर्नु भयो ?
म चाही अलिक विद्रोही स्वाभावको मान्छे थिएँ । कसैले कोहि माथी निरंकुश लाद्न खोज्यो भने अपमान र्गयो भने म त्यसको विरोध गर्थे । त्यसकारण विद्यार्थी जीवनमा सामान्य राजनीति गरेको थिएँ ।
वर्तमान परिप्रेक्षमा देश संघीयतामा गै सकेको छ । तर पनि संविधान घोषणा पछाडी संघीयताको मुद्दालाई छायामा पारिएको जस्तो छ नि ?
मलाइ पनि त्यस्तै महसुस भइरहेको छ तर संघीयतालाइ कार्यनयन गरिनु पर्छ । यो जनताको चाहाना हो । नेपालको भौगोलिक दृष्टिकोण अनुसार भाषा, धर्म, संस्कारलाई मिलाएर संघीयता हुनुपर्छ । पहिला जस्तो गद्दार गर्नु हुदैन । अहिलेको माग भनेको संघीयता हो ।
खेल क्षेत्रमा कसरी आउनु भयो ?
खेल क्षेत्रको कुरा गर्दा स्कुले जीवन तिरै फर्किनुपर्छ । त्यो बेला वीरेन्द्र शिल्ड प्रतियोगिता भनेर खेल्ने चलन थियो । त्यसमा म चाही भलिबल र लङ रनिङ गर्थे । त्यती बेला दलबहादुर राना मगर, चित्रबहादुर राना मगरहरूको नाम आउथ्यो । देश विदेशको बक्सरहरूको नाम आउथ्यो । त्यो बेला मलाइ बक्सिङ खेलेपछि त राँगा नै पो ढालिन्छ कि जस्तो लाग्थ्यो । मैले एसएलसी तेह्रथुमको रत्न नगर सोल्माबाट दिएको हुँ । त्यहा दुइ पटक वीरेन्द्र शिल्ड प्रतियोगितामा खेलेको छु । लहलहैमा लागेर पनि र बक्सिङ खेल्दा खत्रा नै पो भइन्छ कि भनेर खेल्न सुरुवात गरियो ।
खेल क्षेत्रमा लागे पछि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कहाँ कहाँ खेल्न जानुभयो ?
नेपालमा चाही मैले तीन पटक गोल्ड मेडल जितेको छु । क्षेत्रीय र सिल्भर मेडल त ५० औं छन् । अनि थाइल्यान्ड र पाकिस्तान गेम खेल्नकै लागि गएको छु । अब चाही कोचको रूपमा बिदेश जान्छु ।
अहिले बक्सिङ कोचको रूपमा कुन ठाउँमा कार्यरत हुनु हुन्छ ?
म अहिले धनकुटामा छु । म २०५२ सालबाट काम गरिरहेको छु । पहिला म पोखरामा काम गरे । त्यहाँबाट सुनसरी सरुवा भएँ । सुनसरीबाट सरुवा भएर हेटौडा पुगे । हेटौडाबाट फेरि सुनसरी र सुनसरीबाट अहिले धनकुटामा पुगेको छु ।
तपाइले गेम खेल्दा कुनै अप्रिय घट्ना घटेको छ ?
यो बक्सिङ खेल्दा घट्ना घट्ने भनेको नर्मल्ली हो । धेरै आफ्नो हातबाट नकआउट पनि हुन जान्छ र आफु पनि नकआउट हुन सकिन्छ । म अहिलेसम्म मेरो धैर्यता, लगनशीलता र अनुशासनको कारण कहिले पनि रिङमा ढल्नु परेको छैन । सबै कुरामा ध्यान दिएर अगाडी बढ्यो भने रिङमा ढल्नु पर्दैन रहेछ भन्ने अनुभव पाएको छु । आठौ सार्क खेलमा सिल्भर मेडलको लागि मेरो नाम निस्की सकेको ठाँउमा मेरो नाम हटाएए अर्कैलाइ मेडल दिइयो । नवौं सार्क खेलमा म एनआइएस गर्न गएको हुनाले मेरो ठाँउमा अर्को गयो । त्यसकारण मेरो विदेशी मेडल धेरै छैन । त्यो एउटा दुःखद क्षण हो । मैले जति नेपाललाइ मेडल दिनु पर्ने थियो त्यो दिन सकिनँ । यो अर्को दुःखद कुरा हो ।
सरकारी जागिरबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टी भन्दा पनि हाम्रो जागिर भनेको, हामीले के ग¥यौ भन्दा पनि हामीले के दियौ भन्ने हो । सबै कुरा त्यागेर बक्सिङमा लागेको छु । राष्ट्रिय गेम खेल्ने मान्छे मैले गेममै लागेर १९ बर्ष बिताइसकेँ । २८ सयबाट सुरुवात गरेको जागिर अहिले २८ हजार पुग्यो । समय, काल, खण्ड अनुसार मलाई सरकारले सम्मान गरेको छ भन्ने लाग्छ ।
अब अन्त्यमा तपाइँ आफ्नो फ्यानहरूलाई, आफ्ना खेलाडीहरूलाइ केहि भन्न चाहानु हुन्छ कि ?
पहिलो कुरा त मेरो केहि कुरा राख्न दिनु भएकोमा तपाइलगायत सम्पुर्ण टिमलाई हाम्रो फिल्म ‘पार्सल’ टिमको तर्फबाट धन्यवाद । हामीले उच्च प्रबिधिबाट एकदम मेहनत गरेर उत्साहको साथ प्रस्तुत गरेका छौ । यो अब देश विदेशमा चाडै प्रदर्शन गर्दै छौं । एक पटक हलसम्म गएर फिल्म हेरि राम्रो नराम्रो जे जस्तो छ, प्रतिक्रिया दिनु होला । खेल क्षेत्रमा चाही म के भन्न चाहन्छु भने म एउटा सेवक हुँ । के लिनेभन्दा पनि देशको निम्ती के दिन सकिन्छ भनेर काम गर्दैछु । हामीले युरोप अमेरिकालाई अरु कुनै तरिकाले जित्दैनौ तर खेलमा भने जितेका छौ । अब यसरी नै विश्वलाइ जित्नु पर्छ ।
प्रस्तुतिः इन्द्र जिजिविषा
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।