“मैले पनि व्रिटिस आर्मीमा दुईपटक भिडेको हुँ, एकपटक त २४ दिन बसेर अन्तिम दिनमा आफैले छोडेर हिँडे । तसर्थ हङकङको लाहुरे बन्नबाट वञ्चित भएको हुँ ।” इना म्यूजिक एण्ड फिल्म्स् प्रा.लि.का प्रोप्राईटर देउमान केरुङले आफ्नो अतीततर्फ फर्कदै भने ।
जिम्मावाल आगे सुब्बा बाजेको नाती तथा व्रिटिस आर्मी बुबा (पछि तीनकार्यकाल वडाध्यक्ष र उपप्रधानपञ्च) का कारण पनि देउमान अलि जब्बर प्रवृतिका थिए । स्कुले जीवन सिद्धकाली निमावी एकतीन जोरपाटी पाँचथरमा अध्ययनरत छँदा नाटकमा अभिनय गर्ने, विद्यालयको कार्यक्रममा भाग लिने आदि गर्दथे ।
फिदिम माविमा एसएलसी दिनेक्रममै उनी व्रिटिस आर्मीमा भर्ति हुन धरान आइपुगेका थिए । गाउँमा कहिल्यै हेलाहोचामा नपरेका उनी २४ दिन व्रिटिस अफिसको अधिनमा रहनुपर्दा खप्न सकेनन् र झगडा गरेरै बाहिरिए । उनी बाहिरिए पनि पछि बोलाएर बाटो खर्च भने दिएर पठाएछन् ।
धरानबाट फर्किएर उनी अध्ययनमै तल्लिन रहे । २०३९ मै एसएसली दिनुपर्ने भएपनि अनेरास्ववियूमा सक्रिय भएको कारण परिक्षा दिन वञ्चित भए । त्यस समयमा उनी संगठनको जिल्ला सदस्य भइसकेका थिए । विद्यार्थी आन्दोलनमा सरिक हुँदा १ महिना जेल पनि बस्न पुगेका थिए । र, ३ वर्ष नेपाल अधिराज्यभर अध्ययन गर्न नपाउने फैसाला पाए । २०४५ सालमा एसएलसी उतीर्ण गरेपछि इलाममा झरी महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययन गर्न थाले । विद्यार्थी राजनीतिमा पनि सक्रिय उनले स्ववियूको सदस्य पनि भए ।
उनी काठमाडौं आई नेपाल ल क्याम्पसबाट विएल पुरा गरे र अधिवक्ताको लाइसेन्स पनि प्राप्त गरेका छन् । तर उनले कानुन पेशा अपनाउन सकेनन् । उनी गीतसंगीतको क्षेत्रमा पो जमेर लागिपरे ।
इना क्यासेट सेन्टरको स्थापना
भाषा तथा संस्कृतिको संरक्षण नभएको कुराले त्यो क्षेत्र पनि हामीले हेरिनु पर्ने पाटो हो भन्ने मुल बुझाईले एक अभियानका साथमा व्यवसायीक रूपमै त्यस क्षेत्रको विकासको उनले इना क्यासेट सेन्टर नामक एउटा संस्था स्थापना गरे ।
व्यवसायिक रूपमा सुरुवात २०५७ सालमा डिल्लीबजारबाट गरे । यसभन्दा अगाडि केरुङले ‘पान्थरको सन्देश’ भन्ने नेपाली अडियो एल्बम उत्पादन गरी जसको विक्रिबाट आएको पैसाले एकतीन १, पान्थरमा माङहिम बनाउने कार्यमा खर्च गरेका छन् । पछि लिम्बूभाषा सम्बन्धी साङ्गीतिक पक्षहरू छरपस्ट देखेपछि त्यो क्षेत्रमा कार्य गर्ने मनसाय जाग्यो र संस्था खोली लाग्नु पर्यो भनी जमर्को गरी इना क्यासेट सेन्टर खोलेको बताउँछन् । यो संस्था हाल इना म्युजिक एण्ड फिल्म्स् प्रा.ली. भएर अगाडि बढेको छ ।
धनवीर साँवाको ‘मिक्वा चुरुरु’ र मनु नेम्बाङको ‘सिक्मेवा’बाट बजार सुरुवात गरेका केरुङले अहिले लिम्बूभाषाको करिब ३ दर्जन जति म्युजिक भिडियो सहित एल्बमहरू उत्पादन तथा वितरण गरिसकेका छन् भने नेपाली भाषाको सिडी÷भिसीडी दुई सय नाघेको छ ।
पछिल्लो समयमा क्यासेटको बजार सकिएकोले प्रा.लि.बाट हाल भिडियो सम्पादन, भिसिडी निर्माणको काममा जुटेको छ ।
लिम्बूको कार्यक्रम तुम्दङ
नेपाल टेलिभिजनमा प्रत्येक विहिबार ४ः२० बजे २० मिनेट प्रशारण हुने लिम्बूभाषाको तुम्दङ नामक कार्यक्रम पनि इना म्युजिक एण्ड भिडियो प्रोडक्सन प्रा.ली.ले नै उत्पादन गर्दै आएको छ । हाल यस तुम्दङ कार्यक्रमले ३०० भाग पुरा गरी अगाडि बढ्दै छ । २०६४ सालमा जनजातिहरूको भाषा भएको कार्यक्रमहरू पनि प्रशारण हुनु पर्छ भन्ने हामीले टेलिभिजनमा आन्दोलन गरे बमोजिम पछि समावेशी कार्यक्रम उत्पादन प्रशारणको लागि मन्त्रलयले नै निर्णय गर्यो । यो ६ वटा भाषामा उत्पादन प्रशारण हुन थाल्यो । ती भाषाहरू मैथिली, भोजपुरी, नेवारी, राई, लिम्बू र तामाङ हुन् । यी ६ भाषा मध्ये लिम्बू, नेवारी र भोजपुरी भाषा मात्र प्रशारण भैइरहेको छ । सुरुमा नेपाल टेलिभिजन टु मा प्रशारण हुने यस कार्यक्रमहरू सबै भाषाभाषीका कार्यक्रम सञ्चालकहरूले नेपाल टेलिभिजन हुनु पर्छ भन्ने माग राखेकोले अहिले सोही अनुसार नै प्रशारण हुँदैछ ।
सुरुमा कार्यक्रम उत्पादन खर्च प्रवद्र्धन गर्न गाह्रो भएको थियो । यस कार्यक्रममा विज्ञापन प्रसारण गर्न नपाईने भएकोले कसैको अन्तरवार्ता लिँदा पनि पछाडि कुनै बोर्डहरू देखेमा सेन्सर बोर्डले सच्याउन लगाउथ्यो । लिम्बू भाषाको बजार पनि नबनिसकेको अवस्थामा लिम्बू म्युजिक भिडियोहरूलाई पनि प्रसारण गर्दै त्यसैको माध्यमले र टेलिभिजनले दिने सुविधाबाट प्रसारण गर्दै आईरहेको छ ।
तुम्दङ कार्यक्रमले खास गरेर लिम्बू समुदायको संस्कार, सांस्कृतिक, परम्परा, भेषभूषा तथा ऐतिहासिक पक्षहरूलाई आधार बनाएर टेलिभिजन कार्यक्रम मार्फ प्रस्तुति गर्ने गर्दछ ।
सागर सुब्बाको निर्देशनमा बन्ने यो टेलिभिजन कार्यक्रम तुम्दङमा प्रस्तोता निशेष आङदेम्बे छन् । अथिति प्रस्तोताको लागि सिक्किमबाट इमाहाङ सेत्लिङ र देवी लिम्बूले सहयोग गरिरहेका छन् ।
चलचित्रमा अभिनय र निर्माण
सानैदेखि नाटकमा अभिनय गरेकोले होला, पछिल्लो समयमा उनी चलचित्रतर्फ आकर्षित हुन थालेका छन् । वि.सं. २०५७ मा टेलिसिरियल वचनमा अभिनय गरेका थिए । त्यसपछि ०७२ सालमा चलचित्र मनको उजुरी, ०६९ मा शेर्पा भाषाको चलचित्र कुसुममा अभिनय गरिसकेका छन् । उनी तुम्याहाङ, नाहेन र पुङ्सामको निर्माता पनि बनिसकेका छन् ।
चलचित्र निर्देशन गर्नेसमेत योजना बनाएका उनले त्यसतर्फ गृहकार्य शुरु गरिसकेका छन् ।
अन्य संघसंस्थामा पनि आवद्ध
विद्यार्थीकालमा राजनीतितर्फ आकर्षित भएपनि पछिल्लो समय भने राजनीति कम संघसंस्थामा बढि समय दिएका छन् । किरात याक्थुङ चुम्लुङ ललितपुरको जिल्ला सदस्यमा काम गरेका उनले केरुङ चोत्लुङ सङजुम्भोको संस्थापक अध्यक्ष रहेका छन् ।
नेपाली गीतसंगीतको लागि नै मरिमेटेर लागेका उनी अघिल्लो वर्ष नेपाल संगीत उद्योग संद्दको कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बुबा लक्ष्मण केरुङ र आमा सारानी पन्दाक केरुङको कोखबाट जन्मिएका देउमान २०४९ सालदेखि काठमाडौंमा बस्दै आइरहेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।