नयाँ दिल्ली, १७ फागुन । भारतीय सरकारले आगामी बजेटमा किसानका लागि विशेष कार्यक्रम ल्याउन लागेको जनाएको छ ।
किसानका लागि दिइएका विगतका सहुलियत कार्यक्रमहरुलाई लगभग दोब्बर बनाउने योजना सरकारको रहेको छ । सो योजनाबमोजिम आगामी बजेटमा विशेषगरी ग्रामीण क्षेत्रका किसानलाई बढी सहयोग दिइने छ ।
भारतीय वित्तमन्त्री अरुण जेट्लीले सो जानकारी गराउनुभएको छ । उहाँले सरकारले आगामी बजेटमा किसानका साथै ग्रामीण क्षेत्रका नागरिकको जिवनस्तर उकास्ने कार्यमा बजेट केन्द्रित गरिने जानकारी दिनुभयो ।
जेट्लीले भन्नुभयो– भारतीय किसानले खाद्य सुरक्षाका लागि मेरुदण्डका रुपमा काम गरिरहेका छन् र यसका लागि सम्पूर्ण भारतीय किसानप्रति हामी आभारी छौँ ।
सरकारले किसानको आम्दानीको सुरक्षाका क्षेत्रमा केन्द्रित गरेर बजेट ल्याउने भएको छ ।
सो बजेटमा किसानका विविध क्षेत्रहरु जस्तै उत्पादनमा गरिने बृद्धिका साथै उनीहरुको आम्दानीका लागि पनि प्रेरित गर्ने कार्यक्रम पनि रहेका बताइएको छ ।
ज्ञानमा आधारित कृषि उद्योगको स्थापनाका लागि किसानलाई पनि इन्टरनेटमा पहूँचका साथै बजारमा उनीहरुको उत्पादनको पहूँच र बिमाको व्यवस्थालाई पनि सो बजेटमा प्राथमिकतामा राखिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।