काठमाडौँ, १६ फागुन । उच्च वायुमण्डलमा सामान्य न्यूनचापीय क्षेत्रको विकाससँगै स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगका केही स्थानमा आज साँझ पानी परेको छ ।
न्यूनचापीयको सामान्य प्रभाव भए पनि स्थानीय वायुको बढी प्रभावका कारण पानी परेको मौसमविद मीनकुमार अर्यालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनको सुरुवाती चरण (प्रि–मनसुन) को मौसम भएकाले अपराह्नदेखि मौसम बदली भई हल्का वर्षा हुने क्रम केही दिन जारी रहनेछ ।
साँझ पानी परेकाले सोमबार बिहान उपत्यकामा कुहिरोले ‘भिजिविलिटी’ कम हुने र दिउँसो घाम लागे पनि पुनः अपराह्नतिर हल्का पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।
“सोमबार अपराह्नपछि मेघ गर्जनसहित उपत्यका तथा आसपासका क्षेत्र र पूर्वी भेगका एक÷दुई स्थानमा पानी पर्ने सम्भावना देखिन्छ, मङ्गलबारदेखि मौसममा सामान्य सुधार आउनेछ”– मौसमविद अर्यालले भन्नुभयो ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।