अन्जली रम्तेल
काठमाडौँ, २१ माघ । “त्रिभुवन विश्वविद्यालय, किर्तिपुरभित्र जाने क्रममा एकपटक बाटोमा हिँडिरहेका बेला मैले एक युवतीलाई देखेँ । उनले मास्क लगाएर हिँडेकी थिइन्, उनको अनुुहारको अरू भाग नदेखिए पनि मलाई उनको आँखाले लोभ्यायो । मलाई मेरो कलाका लागि उपयुक्त पात्र भेटिएझैँ भयो । दुईघन्टा लगाएर मसँगै रहेको अर्को साथी र मैले उनको पिछा गरिरह्यौँ ।”
कलाकार नवीन सुवेदीको जीवनमा यो भुल्न नसकिने एउटा घटना रह्यो । ती युवतीलाई भेटेपछि नवीनले आफ्नो कलाको एक पात्र बन्न उनलाई आग्रह गरे । उनले नपत्याउने पो हुन् कि भनेर आफूसँग भएका यसअघिका कलालाई पनि उनले देखाए । अनि मात्र उनले मानिन् । तत्काल उनको फोटो खिचेर नवीनले राखे ।
सम्पर्क नम्बर लिएर उनले पछि स्टुडियोमा नै ती युवतीलाई बोलाए र उनको झन्डै पाँच फिट अग्लो मूर्ति तयार पारे । कुनै चीजप्रति ज्यादै आशक्ति भयो भने त्यो पाउन मानिस आफ्नो भोक, प्यास, निन्द्रा सबै त्याग्न सक्छ । त्यही कुरा लागू भएको देख्न सकिन्छ कलाकार नवीनको कलामा ।
उनले तीन वर्षअघि गरेको त्यो मिहिनेत अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा देख्न सकिन्छ । ‘सुमी’ शीर्षकमा राखिएको सो मूर्तिअगाडि तस्बिर खिचाउनेको घुइँचो लाग्ने गरेको छ ।
यही माघ १० देखि २३ गतेसम्म प्रदर्शनी हुनेछ । उनले प्रदर्शनीको शीर्षक ‘मोहिनी’ राखेका छन् । काल्पनिक पात्र बनाएर कसैको प्रेममा पागल भइरहेकी एक युवतीलाई मूर्तिमार्फत उनले देखाउन खोजेका छन् ।
कलाकार सुवेदीले त्यो मूर्ति हेरेर किन त्यसको शीर्षक ‘मोहिनी’ राखिएको होला भन्ने अनुमान भने दर्शकलाई नै छाडिदिएका छन् । उनले विभिन्न क्षेत्रका व्यक्तित्वको समेत मूर्ति तयार पारेका छन् । उनले गायक रामकृष्ण ढकाल, गीतकार कृष्णहरि बराल, कलाकार सुनिल पोखरेल, राजेश हमाल, बाबु बोगटी, ऋचा शर्मा लगायतका कलाकारको मूर्ति बनाइसकेका छन् ।
प्रदर्शनीमा करिब १५ मूर्ति देख्न सकिन्छ जसमा अधिकांश मूर्ति ‘रोमान्टिक न्युड’ थिममा आधारित छन् । सोही थिममा आधारित ‘डान्सिङ’ मूर्ति बनाउने क्रममा उनको छुट्टै रमाइलो अनुभव छ । उनले भने–“ढुङ्गामा त्यो मूर्ति बनाउने बेलामा ढुङ्गा असाध्यै गह्रौँ भएकाले ढलेको ढल्यै गरेकोे थियो, अन्तिममा केही सीप नलागेपछि मैले डोरीले बाँधेर त्यो मूर्ति बनाएँ । त्यसैले, राम्ररी हेर्ने हो भने मूर्तिको केटीको एउटा खुट्टा बाङ्गो छ ।”
मोरङका स्थानीयवासी नवीन आफ्नो मूर्तिकलाका लागि आवश्यक पर्ने ढुङ्गा त्यहीँको स्थानीय खोला चिसाङ् र भल्वाबाट ल्याउने गर्छन् । एउटै ढुङ्गाबाट मूर्ति बनाउनुपर्ने भएकाले कहिलेकाहीँ ढुङ्गा बोक्ने मानिस नहुँदा समस्या पर्ने गरेको उनी सुनाउँछन् । उनले बनाएका मूर्ति हेर्दा लाग्छ मूर्तिकलाका लागि उनले भएभरको आफ्नो मिहेनत र समय खर्चेका छन् । तर उनको यही कामप्रतिको लगाव र खटाई आमाबाबुका लागि टाउको दुखाइ बन्थ्यो । उनी भन्छन्–“सुरुमा परिवारको सहयोग थिएन यो पेसामा लाग्न । ममीले कराउनुहुन्थ्यो, रात रातभर नसुती काम गरेको देख्दा म चाहिँ सरका लागि बनाएको हो भन्थेँ । कक्षा १० पुगेपछि भने सरस्वतीको मूर्ति बनाई दिएबापत अलिअलि पैसा आउन थालेको देखेर भने उहाँले कराउन छाड्नुभयो ।”
उनको रहर र मिहेनतलाई देखेपछि भने परिवारले पनि सहयोग गर्न थालेको उनले बताए । उनले यही विषयमा त्रिविबाट स्नातकोत्तर गरिसकेका छन् । पहिले देवीदेवताको मूर्ति बढी बनाउने चलन भएपनि अहिले समसामयिक विषयवस्तुमा आधारित मूर्तिकलाले आम मानिसको मन जित्न थालेको उनको ठम्याइ छ । ११ वर्षको उमेरदेखि मूर्तिकलामा लागेका ३२ वर्षे नवीनले अब यसैलाई आफ्नो भविष्य बनाउने निश्चय गरिसकेका छन् । “म मूर्तिकलामा नै केही गरेर देखाउन चाहन्छुु”–उनले भने ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।